कहाँ चुक्यो नेपाली महिला क्रिकेट ?

झापा । आइसिसी वुमन्स टि-२० विश्वकप एसिया क्षेत्र छनोट प्रतियोगिता सुरु हुनुअघि नेपाली महिला क्रिकेट टोली उपाधिको प्रमुख दाबेदार थियो ।

स्तर अनुसार नेपाल सहज जित निकाल्न सक्थ्यो । तर प्रदर्शन अपेक्षा भन्दा धेरै कमजोर रहँदै तेस्रो रहेर बाहिरियो । जितको लागि मैदानमा नामले होईन प्रदर्शन, राम्रो तयारी, उच्च मनोबल र टिम एकता हुनुपर्छ । यसपटक प्रतियोगिता अघि कागजमा बलियो देखिएको नेपाल मैदानमा भने बिर्सनलायक प्रदर्शन गर्दै बाहिरियो ।

शीर्षस्थानमा रहँदै अर्को वर्ष हुने टि-२० विश्वकप ग्लोबल छनोटमा पुग्ने अवसर गुमायो । झन्डै दुई वर्षपछि अन्तर्राष्ट्रिय क्रिकेटमा फर्किएको नेपाली महिला क्रिकेटको भविष्य पुग्न अन्यौल छ । एसिया छनोटमा नेपालको प्रदर्शन निकै कमजोर रह्यो । अत्याधिक डट बल नेपालको प्रमुख समस्या रह्यो । खेलमा नेपालका कुनैपनि ब्याटरले एक छक्का प्रहार गर्न सकेनन् । नेपालले ५ खेलमा ७० ओभर अर्थात ४ सय २० बल खेल्यो । ३ सय ६८ रन बनाउन नेपालले २७ विकेट गुमायो । कुल रन ७१ अतिरिक्त थियो ।

समग्रमा नेपाली ब्याटरले २ सय ९७ रन ब्याटबा बनाए । सीता रानामगरले सर्वाधिक एक सय रन बनाइन् । इन्दुले ८१, रुविनाले ४६, सरिता मगरले २३ रन बनाए । नेपालले २२ चौका प्रहार गर्यो । सीताको नाममा १२ र इन्दुको नाममा पाँच चौका छ । रुविना र कविता जोशीले २–२ तथा काजल श्रेष्ठले १ चौका प्रहार गरे । अन्य ब्याटरले एक चौका प्रहार गर्न सकेनन् । तथ्याङ्कलेनै नेपालको प्रर्दशन बताउछ ।

कमजोर प्रदर्शन किन ?

कमजोर प्रदर्शन हुनुमा क्यान, खेलाडी र व्यवस्थापन सवैको उत्तिकै जिम्मेवार छन् । खराव सट छनोट र गैर जिम्मेवारीपन नेपालको कमजोर प्रदर्शनको मुख्य कारण हो । अत्याधिक डट बल, कमजोर तयारी, टि-२० विशेष खेलाडी नहुनु र पर्याप्त विश्रामको अभाव, टिम एकता कमी कमजोर प्रदर्शनको कमी हुन् । नेपाली महिला क्रिकेट टोलीले २३ महिनापछि कतारसँग तीन महिला टि-२० आई सिरिज खेलेको थियो । कमजोर कतारमाथि सिरिज क्लिनस्विपका साथ फर्किएको थियो । तर त्यो खुशी पहिलो खेलमै हङकङसँगको हारले निराशामा बदलियो ।

खराब प्रदर्शनमा क्यान, कप्तान, प्रशिक्षक र खेलाडी जिम्मेवार छन् । प्रतियोगिता मुखैमा तयारी थाल्नु नेपालको संस्कार नै बनेको छ । नेपालले बन्द प्रशिक्षण पुग नपुग तीन सातामात्र गरे । तीन साताको प्रशिक्षणपछि मंसिर १८ मा नेपाली महिला क्रिकेट टोली बंगलादेश अभ्यास गर्न गर्यो । एक हप्ताको अभ्यासमा क्रिरा शिक्षा प्रतिष्ठानसँग तीन अभ्यास खेल खेलेर बसमा स्वदेश फर्किएको थियो ।

पिसिआर परिक्षण विनानै स्वदेश फर्किन खोजेपछि विमानस्थलमै रोकेको थियो । त्यो आफैंमा व्यवस्थापनका लागि लज्जास्पद कार्य थियो । खेलाडी र प्रशिक्षकले सोझै विश्वकपमा छनोट हुने भनेर दाबी गर्दै आएका थिए । टोली आफैं प्रष्ट रुपमा प्रतियोगिता बारे जानकार थिएनन् । बसमा लामो यात्रा गरेर स्वदेश फर्किएको अर्को दिननै नेपाल कतार तीन महिला टि-२० सिरिज खेल्न प्रस्थान गर्यो । मंसिर २ सम्म सिरिज खेलेको महिला टोली अर्को दिन युएई प्रस्थान गरेको थियो । एक महिना नेपाली टोलीको दौडधुपमा बित्यो । त्यसले खासै विश्राम पाएनन् । त्यसको असर प्रदर्शनमा देखिएको हो ।

कमजोरी सुधारको लागि बलियो टोलीसँग खेल्नुपर्ने थियो । तर सधैं आर्थिक कमजोरी देखाउने क्यानले कमजोर टोलीसँग अभ्यास खेलेर तयारी टार्यो । क्यान लगानी गरेर भन्दापनि अनुदानमा बढी सिरिज खेल्न चाहन्छ । टोलीको स्तर र दीर्घकालिन प्रभावलाई ध्यान दिदैन ।

कमजोर टोलीसँग खेलेर स्तर सुधार हुँदैन । तयारी जस्तो नतिजा पनि त्यस्तै आउछ । नेपालले बन्द प्रशिक्षणमा तीन साता नभएर दुई महिना बढी राख्न पर्ने थियो । दुई वर्षदेखि अन्तर्राष्ट्रिय प्रतियोगिता विहीन हुँदा अझ विशेष ध्यान दिनुपर्ने हुन्थ्यो । क्रिकेट विकास भन्दापनि गफमा बढी ध्यान दिने क्यान पदाधिकारीले यसको महत्व बुझ्न सकेनन् । नेपाल तयारीमै चुकेको थियो ।

कमजोर व्यवस्थापन र प्रशिक्षण पनि त्यतिनै कमजोर छ । क्यानसँगै प्रशिक्षक र कप्तानीमाथि प्रश्न उठ्छ । नेपालले प्रमुख हिटर डली भट्टलाई प्रतियोगितामै खेलाएन । उनलाई बेन्चमा राख्यो । कमजोर लय भएका खेलाडीलाई निरन्तर मौका दिइरह्यो । टोलीमा टि२० विशेष खेलाडी नै देखिएनन् । गुट नेपाली क्रिकेटको सबैभन्दा नराम्रो पक्ष हो ।

क्यान, सिनियर पुरुष र महिला टोली सबैमा गुटउपगुटले नराम्रोसँग बिग्रिएको छ । महिला टोलीमा गुट नभएको होईन । तर यसपटक मैदानमै प्रष्ट देखियो । प्रमुख सिनियर खेलाडीबीचको गुटले पनि प्रदर्शन कमजोर रह्यो । कप्तानले एक्लौटी गर्न खोजेको र खराब लय भएका खेलाडीलाई पनि निरन्तर मौका दिई रहेको आरोप लाग्दै आएको छ । क्रिकेट टिमको खेल हो । एकता विना जित कठिन पर्छ । तर नेपाली महिला टोलीमा एकता थिएन ।

प्रशिक्षण होस् वा मैदान गुट प्रष्ट देखिन्थ्यो । त्यसको असर खेलमा पर्यो । टोलीको फिटनेस अर्को चिन्ताको विषय हो । कोरोना महामारीले लगातार लकडाउनले पनि खेलाडीमा फिटनेशमा अझ असर गर्यो । सिनियर टोली पछिल्लो समय सामाजिक सञ्जालमा अत्याधिक व्यस्त देखिदै आएका थिए । टिकटमा बढ्लो लत प्रदर्शन खस्किदो प्रभाव पनि हो ।

विश्व क्रिकेटले धेरै फड्को मारेको छ । तर नेपाल दशक अघिकै अवस्थामा छ । टि-२० क्रिकेटमा कुनैपनि टोलीले कसैलाई पनि हराउन सक्छन् । नेपाल अहिलेको खेल्ने शैली त्यहिँ छ । घरेलु संरचना र प्रतियोगितामा कुनै फरक छैन । प्रतियोगिता चाडपर्व जसरी आउँछ जान्छ । खेलाडीलाई थाहा नै हुँदैन ।

यो तरिकाले नेपाली क्रिकेट माथि उठ्न सक्दैन । नेपाली महिला क्रिकेट विकास गर्ने हो भने ठूलो युद्धस्तरमा परिवर्तन ल्याउन आवश्यक छ । जिल्ला र प्रदेशका लगातार प्रतियोगिता हुनुपर्छ । अहिलेको तरिकाले नेपाली क्रिकेट माथि उठ्न सक्दैन । साँँच्चै विश्वकप खेल्ने हो भने नयाँ तरिकाले अघि बढ्नुपर्छ । सबैले आफ्नो स्वार्थ त्याग्नुपर्छ । देश भन्दा माथि कोहि छैन । आफ्नो स्वार्थ नभएर सबै निस्वार्थ क्रिकेट विकासमा लाग्न आवश्यक देखिन्छ । स्वार्थ राख्न थाल्ने हो भने नेपाल यो भन्दा माथि उठ्ने सम्भावना देखिदैन । हाम्रो खेलकुदबाट