२०८२ बैशाख २९ सोमबार

इतिहास बोल्न ठड्याइएका पत्थर

बुढीमोरङको गैरीगाँउमा रहेको लुङकेम्बा ।

कविराज घिमिरे

हिले, वैशाख २९ गते । धनकुटाको साँगुरीगढी गाउँपालिका वडा नम्बर २ बुढीमोरङस्थित गैरीगाउँमा एक लामो ढुङ्गा ठडिएको छ । करिब सात फिट अग्लो र भाँचिएको टुक्रा तीन फिट गरी जमिनमाथि १० फिट अग्लो सो ढुङ्गा जमिनमुनि पनि सात फिटभन्दा बढी रहेको स्थानीयको भनाइ छ । ढुङ्गालाई वरिपरिबाट तारजालीले घेरेर फलामको ढोका निर्माण गरी चाबी लगाएर सुरक्षित गरिएको छ । अवलोकनकर्तालाई समेत आवश्यकताका आधारमा मात्र चाबी खुला गरेर देखाइन्छ । स्थानीयले सो ढुङ्गालाई लुङकेम्बा भन्छन् । यो ढुङ्गा ऐतिहासिक हाङयाक (मोरङ राजाको दरबार) रहेको स्थान यसै लुङकेम्बाले पुष्टि गर्ने स्थानीय रमेश इवाहाङ बताउनुहुन्छ । “प्राचीन किराँत राजा (हाङ) यलम्बरको २५ औँ पुस्ता मलय केतु र उनका पनि सातौँ पुस्तापछि साम्युक हाङले चौबिसे थुम अर्थात् बुढीमोरङमा आफ्नो राज्य स्थापना गरेको विश्वास गरिन्छ, त्यसैको पुष्टि यो पत्थरले गर्छ,” इवाहाङ भन्नुहुन्छ ।

गैरी गाउँकै तल्लो क्षेत्रमा अन्य तीन लामा ढुङ्गा ठाडो पारेर गाडिएको छ । दुई वटा आसपासमा र एक केही मिटर पर रहेको छ । तत्कालीन लिम्बु राजाले यी ढुङ्गा विभिन्न समयमा आफ्नो सीमा क्षेत्र निर्धारण गर्न तथा विभिन्न महत्वपूर्ण निर्णय गरेबापत साक्षी स्वरूप गाडिएको स्थानीय मानप्रसाद इङनामको भनाइ छ । बुढीमोरङको पारि खुवाफोक गाउँ छ । सो स्थानमा पनि एक ढुङ्गा त्यसै गरी ठाडो पारेर गाडिएको अवस्थामा छ । सो ढुङ्गा मोरङका राजा र माराहाङ राजाको सिमानाका रूपमा रहेको स्थानीयको विश्वास छ । “वारि मोरङ राजा र पारि माराहाङ राजाका क्षेत्र थिए, सोही क्षेत्र छुट्याउन यो ढुङ्गो प्रयोग गरिएको भन्ने विश्वास छ,” इङनाम भन्नुहुन्छ ।

पूर्वतिरका लिम्बु गाउँबस्तीमा घुम्दा धरै स्थानमा लामो ढुङ्गा ठाडो पारेर गाडिएको पाइन्छ । यस्ता पत्थरले लिम्बु जातिको बस्ती, इतिहास, कला संस्कृति तथा परम्परागत कानुनको झल्को दिने गरेको जानकार बताउँछन् । यीबाहेक धनकुटाको कुसेटार, फाक्सिब, खुवाफोक, चौबिसेलगायतका स्थानमा एक दर्जनको हाराहारीमा यस्ता ढुङ्गा देख्न पाइन्छ । धनकुटाका साथै लिम्बुको बसोबास रहेको पूर्वका पाँचथर, तेह्रथुम, ताप्लेजुङ जिल्लाको विभिन्न स्थानमा यस्ता ढुङ्गा छन् तर यस्ता ढुङ्गामा न कुनै तिथिमिति हुन्छ न कुनै जानकारी नै । त्यसैले यी ढुङ्गा कसले किन राख्यो भन्ने जानकारी पाउन निकै मुस्किल हुने गरेको छ ।

कन्दङ्वा वंशावलीका अनुसार करिब छैटौँ शताब्दीबाट यस्तो पत्थर गाड्ने चलन सुरु भएको मानिन्छ । कतिपय स्थानीयले त यस्ता ढुङ्गालाई तत्कालीन राजाहरूको हात्ती तथा घोडा बाँध्ने स्थानका रूपमा रहेको भन्ने गरेका छन् ।

यस्ता ढुङ्गा तत्कालीन समयमा सीमा तोक्न वा कुनै महत्वपूर्ण निर्णय गर्न सभा बसाउने प्रयोजनका लागि गरिएको खोजकर्ताको भनाइ छ । लिम्बुवान इतिहासका खोजकर्ता भगीराज इङनामका अनुसार लिम्बु जातिको ढुङ्गासँग विशेष सम्बन्ध रहेकाले सुरुवातकालदेखि नै ढुङ्गा जोडिएको बताउनुहुन्छ । “त्यो बेला लिखित कानुन थिएन, त्यसैले कुनै पत्थरलाई विशेष मानी अपराधीलाई बकाउन, कसम खुवाउन वंश छुट्टिएर जाँदा सिमानाका रूपमा प्रयोग हुने बलियो वस्तुका रूपमा यही प्रयोग हुन्थ्यो,” इङनाम भन्नुहुन्छ । “लिम्बु जातिको विशेष ग्रन्थ मुन्धुम अनुसार ढुङ्गाको विशेष महत्व तथा आफूहरू ढुङ्गामाटोकै सन्तानका रूपमा रहेकाले ढुङ्गाको महत्व धेरै भएको र सबै कार्यमा ढुङ्गा विशेष हुने गरेकाले पहिलेदेखि कानुनका रूपमा तथा अन्य कार्यमा समेत ढुङ्गा गाड्ने चलन रहिआएको हो,” इङनाम भन्नुहुन्छ ।

त्यसो त यस्ता केही पत्थर लिम्बुका पितृ युँमाले तान बुन्न प्रयोग गरेको विश्वास गरिन्छ । युँमाले आफूले जानेको सिप आफ्ना सन्ततिलाई सिकाउँदै हिँडेको कथन पाइन्छ । पाँचथरको कुम्मायक कुस्सायक हुँदै धनकुटाको मुर्कुटे, थाक्केलुङ, कुसेटारमा रहेका पत्थर यसैको प्रमाणका रूपमा रहेको लालीगुराँस नगरपालिकाका प्रमुख तथा खोजकर्ता अर्जुन माबोहाङले चौबिसे थुमको ऐतिहासिक अध्ययनमा लेखिएको लेखमा भेटिन्छ । धनकुटापछि तेह्रथुमको फेदापमा र वसन्तपुरमा प्रकट भएर बिलाएको मानिन्छ । वसन्तपुरको सोही स्थानमा माबोहाङले अहिले चोलुङ पार्क निर्माण गर्नुभएको छ । पर्यटकीय पार्क निर्माणपछि सो स्थान अहिले लिम्बु जातिको सङ्ग्रहालय तथा अध्ययन केन्द्र बनेको छ । योबाहेक त्यसताका सन्तान छुट्टिँदा, कसैलाई न्याय निसाफ दिँदा, आरोपीलाई बकाउँदा यस्ता पत्थर साक्षी राखेर निर्णय गर्ने गरिएको माबोहाङ बताउनुहुन्छ ।गोरखापत्र अनलाइन

 

२०८२ बैशाख २९, सोमबार प्रकाशित 1 Minute 10 Views

ताजा समाचार