झापा क्षेत्र १ को प्रदेश ‘क’ सभापतिमा हरि बुढाथोकी, ‘ख’ मा सन्तोष न्यौपाने निर्वाचित

झुलन रेग्मी/किशोर उपरकोटी

मेचीनगर । नेपाली काँग्रेस झापा क्षेत्र नम्बर १ अन्तर्गत प्रदेश ‘क’ को सभापतिमा हरिबहादुर बुढाथोकी निर्वाचित भएका छन् । मेचीनगर–५ निवासी बुढाथोकीले यस अघि क्षेत्रीय सचिवको जिम्मेवारी सम्हालिसकेका छन् । सामाजिक तथा सहकारी अभियन्ताका रुपमा चिनिएका बुढाथोकीले १ सय ५८ मत ल्याएर सभापतिमा विजयी भएका हुन् ।
काँकरभिट्टाको सामुदायिक भवनमा सम्पन्न मतगणनाको अन्तिम परिणाम शुक्रबार राति १० बजे घोषणा गरिएको हो । जस अनुसार सभापतिका अर्का प्रत्यासी हर्कबहादृुर लिम्बु फ्याकले १ सय ३५ मत र बद्री खड्काले ७२ मत प्राप्त गरेका छन् । यस्तै, दुई उपसभापतिको व्यवस्था अनुसार सो पदमा रेवतदास उप्रेती २ सय २ र गंगा कोइराला १ सय ८२ मत ल्याएर निर्वाचित भएका छन् । उपसभापतिका प्रत्यासी शसी राई १ सय ६८ र हिम्मत क्षेत्रीले १ सय ५२ मत ल्याएका छन् ।
सचिव पदमा ५ जनाको उम्मेद्वारी परेको थियो । जसमा विशाल तामाङ १ सय ७४ मत ल्याई विजयी भएका छन् भने सूर्यप्रकाश उप्रेती र इन्द्रप्रकाश आङ्देम्बेको (१ सय ६४)मत बराबरी आएपछि विधान अनुसार गोलाप्रथाबाट आङ्देम्बे विजयी भएको निर्वाचन समितिले जनाएको छ । सचिवका अर्का प्रत्यासी नारायणबहादुर बस्नेत १ सय ४६ र भेषराज ओलीले ४४ मत ल्याएका छन् ।
यस्तै सहसचिवमा विटु गुरुङ २ सय ५१ र दिलकुमारी श्रेष्ठ २ सय २८ मत ल्याएर निर्वाचित भएका छन् । सहसचिवका अर्का प्रत्यासी नरेन्द्र न्यौपानेले १ सय ८६ मत ल्याएका छन् ।
यस्तै, प्रदेश प्रतिनिधि महिलातर्फ करुणा रिजाल २ सय १९, राधिका गुरुङ २ सय ८ र लक्ष्मी अधिकारीले १ सय ८० मत ल्याएर निर्वाचित भएकी छन् । ३ पदका लागि भएको प्रदेश प्रतिनिधिमा भद्रमाया बस्नेतले १ सय ६७, शान्ति चौधरीले १ सय २५ र सीतादेवी कार्कीले १ सय ४ मत ल्याइन् ।
त्यस्तै, खुला खस आयतर्फ केदारनाथ निरौला १ सय ८६ र युद्धराज ओली २ सय ७ मत ल्याएर विजयी भएका छन् । प्रत्यासी धर्मानन्द खनालले १ सय ७५ र लालबहादुर सिंह ठकुरीले ८९ मत प्राप्त गरेका छन् । यस्तै, प्रदेश खुलातर्फ रुपसागर अधिकारी २ सय १८, हरिप्रसाद अधिकारी १ सय ९४, कुमार बुढाथोकी १ सय ९५, दिलिप सुवेदी १ सय ७२, रविन काफ्ले १ सय ५५, राजकुमारी कार्की १ सय ६१ र रविन भट्टराई १ सय २८ मत ल्याई विजयी भएका छन् । ७ पदका लागि भएको निर्वाचनमा १९ जना चुनावी मैदानमा थिए ।
यस्तै, आदिवासी जनजाति खुलातर्फ सिद्धिविक्रम नेम्बाङले २ सय ६६ मत ल्याई विजयी भएका छन् । यो मत अत्याधिक मत हो । यस्तै निमा लामा १ सय ६५ मत ल्याई निर्वाचित भएका छन् । सो पदका प्रत्यासी प्रकाश कन्दङ्वा लिम्बुले १ सय ४६ र मिलन राईले ९८ मत ल्याएका छन् । ३ सय ८४ मतदाता संख्या रहेको प्रदेश ‘क’ मा ३ सय ७७ जनाले मतदान गरेका थिए ।
नेपाली कांग्रेस झापा क्षेत्र नम्बर १ प्रदेश ‘ख’ को सभापतिमा सन्तोष न्यौपाने निर्वाचित भएका छन् । खसेको कुल २३० मत मध्ये ९८ मत ल्याएर उनी विजयी भएका हुन् । सभापतिमा निर्वाचित न्यौपाने मेचीनगर–१३, चारआली निवासी हुन् । शुक्रवार चारआलीको हातेमालो वन समूह परिसरमा भएको मतदानबाट न्यौपाने सो मत ल्याएर सभापति बनेका छन् । निर्वाचन समितिका सहायक मतदान अधिकृत टेकेन्द्र ढकालका अनुसार २५ सदस्यीय समितिका लागि ३ पदमा भने मतदान गर्नुपरेको छ । बाँकी अन्य पदमा विहीबार नै सर्वसम्मत भइसकेको छ ।
२३५ प्रतिनिधि रहेको ‘ख’ मा २३० मत खसेको थियो । जसमा एक मत बदर भएको निर्वाचन समितिले जनाएको छ । सभापति पदका अर्का प्रत्यासीहरु पुष्पराज कार्कीले ८५, सीता पोखरेल २७ र विष्णुप्रसाद रिमालले १३ मत प्राप्त गरेका छन् । यस्तै, उपसभापतिमा मोहनकुमार लिम्बू र सोमप्रसाद ढुंगेल निर्वाचित भएका छन् । लिम्बू १५९ र ढुंगेल ११९ मत ल्याएर विजयी भएका छन् । उपसभापति पदका अर्का प्रत्यासी मीनाकुमारी गजमेर ९२ र उत्तमकुमार लिम्बूले ५५ मत ल्याएका छन् ।
यस्तै, महिला सदस्यतर्फ ज्योति न्यौपाने १७९, मालती विष्ट १४५ र ज्ञानु थापा १५८ मत ल्याएर निर्वाचित भएका छन् । कांग्रेसको प्रदेश ‘ख’ मा सचिव, सहसचिवलगायत धेरै पदमा निर्विरोध निर्वाचित भएका थिए । सचिव पदमा लक्ष्मी घिमिरे र प्रमोद खतिवडा निर्विरोध निर्वाचित भएका छन् भने सहसचिवमा अनिता राजवंशी र रमेश बस्नेत सर्वसम्मत भइसकेका छन् ।