एक खेल अगावै ऐतिहासिक सिरिज जित्ने सोचमा नेपाल

काठमाडौं । नेपाली महिला क्रिकेट टोलीले कतारसँग तीन डब्लूटि-२० आई सिरिज अन्तर्गत दोस्रो खेल आज खेल्दैछन् । खेल नेपाली समय अनुसार दिउँसो ३ : ४५ मा वेस्ट इन्ड पार्क इन्टरनेशल क्रिकेट स्टेडियम दोहामा सुरुहुनेछ । नेपाल एक खेल अगावै ऐतिहासिक सिरिज जित्ने सोचमा छ ।

पहिलो डब्लूटि-२० आई खेलमा नेपालले कतारलाई १ सय १९ रनको फराकिलो अन्तरले हराउँदै सिरिजमा १-० को अग्रता लिएको छ । नेपालले कमजोर कतारमाथि एक खेल अगावै सिरिज जित्न चाहन्छ । महिला टोलीले खेलेको यो पहिलो अन्तर्राष्ट्रिय सिरिज हो । नेपाललाई पहिलो खेलमा फराकिलो जित दिलाउन इन्दु बर्माले ४७ बलमा ५ चौका सहित ५५ रनको अर्धशतकीय इनिङ खेलेकी थिइन् ।

इन्दु नेपाली महिला टि-२० आईमा अर्धशतक प्रहार गर्ने पहिलो खेलाडी हुन् । सीता रानामगर ३९ र सरिता मगर २१ रनमा आउट भएका थिए । कप्तान रुविना क्षेत्री बेलबासे र ओपनर काजल श्रेष्ठ आजको खेलमा ठूलो इनिङ खेल्न चाहन्छन् ।

आजको खेलमा नेपालले आफ्ना केहि खेलाडीलाई विश्राम दिँदै अन्यलाई मौका दिने सम्भावना छ । बलिङतर्फ रुविनाले ३, कविता कुँवर र सीताले २-२ विकेट लिएका थिए । कतारका ७ खेलाडी शून्यमा आउट भएका थिए । कुनैपनि खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेका थिएनन् । १ सय ४७ रनको विजयी लक्ष्य पछ्याएको कतार ११.५ ओभरमा २७ रनमा अल आउट भएको थियो । कतार बलियो नेपालसँग सिक्न चाहनेछ । नेपाल र कतारबीचको तेस्रो खेल बिहीबार हुनेछ ।

नेपालले आइसिसी वुमन्स टि-२० एसिया छनोट अघि तयारीको लागि कतारसँग तीन टि-२० आई सिरिज सिरिज खेलेको हो । शुक्रबार नेपाल युएईतर्फ लाग्नेछ । सन् २०२३ मा दक्षिण अफ्रिकामा हुने टि-२० विश्वकपको लागि नेपालसहित ६ राष्ट्रले अर्को वर्ष हुने ग्लोबल छनोटको लागि युएईमा एसिया छनोट खेल्न लागेका हुन् ।

एसिया छनोटमा नेपाल, भुटान, हङकङ, कुवेत, मलेसिया र युएई गरि ६ राष्ट्र सहभागी छन् । विजेता टोलीले आगमी वर्ष हुने टि२० ग्लोबल छनोट खेल्न पाउने छन् । नेपालले पहिलो खेल मंसिर ६ गते हङकङसँग खेल्नेछ । मंसिर ७ गते भुटानसँग प्रतिस्पर्धा गर्ने नेपालले मंसिर ९ गते कुवेत, मंसिर १० गते मलेसिया र मंसिर १२ गते युएईसँग प्रतिस्पर्धा गर्नेछ । (हाम्रो खेलकुद)