भब्य समारोहका बीच सहारा साकोसको सधारण सभा सम्पन्न

बिर्तामोड । सहारा नेपाल साकोसको २५ औ वार्षिक साधारण सभा शनिबार बिर्तामोड स्थित चारपानेमा एक भब्य समारोहका बीच सम्पन्न भएको छ ।

सहारा साकोसका कार्यबाहक अध्यक्ष हरीप्रसाद निरौलाको सभापतित्वमा सम्पन्न सभामा संस्थाका कार्यकारी प्रमुख महेन्द्रकुमार गिरीले संस्थाले हालसम्म गर्दै आएका प्रगति बिवरण र आगामी दश बर्षे कार्यक्रमको भावी योजनाको बारेमा प्रस्तुत गरेका थिए ।

कार्यक्रममा सहकारी आन्दोलनमा देशव्यापीरूपमा महत्वपूर्ण भूमिका खेल्नु हुने सहकारी अभियान्ता केशब बडाललाई कार्यक्रमका प्रमुख अतिथी संबिधानसभा अध्यक्ष सुभासचन्द्र नेम्वाङले विशेष सम्मान तथा पुरस्कृत गरेका थिए । सो अवसरमा बडाललाई नगद एकलाख एक हजार रुपैयाँसहित सम्मान गरिएको थियो ।

बिशेष कारणले कार्यक्रममा अनुपस्थित रहेका पुरस्कृत ब्यक्तित्व बडालको पुरस्कार कार्यक्रमका विशिष्ट अथिति राष्ट्रीय सहकारी महासंघका अध्यक्ष मीनराज कडेलमार्फत प्रदान गरिएको थियो ।

सभालाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि संबिधानसभा अध्यक्ष सुभाषचन्द्र नेम्वाङले सहकारीको आन्दोलनमा देशैभरीबाट उत्कृष्ट नमूनाको रूपमा सहाराले गर्दै आएको कामप्रति हार्दिक आभार प्रकट गरे ।

सरकारको तीन खम्बे नीति अनुसार मुलुकको आर्थिक प्रगतिमा सहकारीको महत्वपूर्ण भूमिका रहेको चर्चा गर्दै नेम्वाङले नीति नियम र कानुनी प्रक्रियाहरूको सहि अनुशरण गरेर सहकारीहरू अघि बढेमा अझ आम जनताको बिश्वास बढेर जाने बिचार ब्यक्त गरे ।

कार्यक्रममा राष्ट्रीय सहकारी महासंघका अध्यक्ष मीनराज कडेलले हालसम्म देशभरी ३० हजार सहकारी संख्यामा कÞरीब ७३ लाख सदस्यहरू रहेको बताउदै अब संख्यात्मकभन्दा गुणात्मक सहकारीको विकाश गर्नु पर्नेमा जोड दिए ।

सञ्चारकर्मी केशब भट्टराईले संचालन गरेको सो कार्यक्रममा प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिना, नेपाली कांग्रेस झापा सभापती उद्दब थापा, राप्रपाका जिल्ला अध्यक्ष केशबप्रसाद ओझा, नेकपा एमाले अध्यक्ष चिन्तन पाठकलगायतले शुभकामना मन्तव्य राखेका थिए ।