वडा सभापतिले घरमा सूचना टाँसेर ‘मैले भोट किन हाल्ने’ जवाफ खोजे

धुलाबारी । नेपाली कांग्रेससहितका प्रमुख राजनीतिक दलहरु यतिखेर महाधिवेशन तथा राष्ट्रिय सम्मेलनमा केन्द्रित भएका छन् ।

पार्टीहरुको आसन्न सम्मेलन अन्तर्गत विभिन्न पदमा उम्मेद्वारी घोषणा गरेका नेताहरु आफ्ना कार्यकर्ताको घरदैलोमा पुग्ने गरेका छन् ।

पार्टी भित्रको गुट तथा उपगुटका कारण उम्मेद्वारलाई भोट नमागी जित्ने आधार नै तयार हुँदैन । त्यही भएर उनीहरुले कार्यकर्तालाई भेटेरै भोट माग्ने क्रम जारी छ ।

नेपाली कांग्रेस अहिले क्षेत्रीय अधिवेशनमा जुटेको छ । अधिवेशनको मिति नजिकिएसँगै नेता तथा कार्यकर्ता बीच भेटघाट तीब्र पारिएको छ । यसैक्रममा नेपाली कांग्रेस मेचीनगर वडा नं. ९ का सभापति उद्धव बानियाँले भने आफ्नो घरमा एउटा सूचना टाँस गरेका छन् ।

सूचनामा भनिएको छ, ‘तपाईंहरुलाई मैले भोट किन हाल्ने ? दुईवटा कारण छेउको डायरीमा लेखिदिनु होला ।’ उनले घरको भित्तामा सूचना टाँस गरेर छेउमै एउटा डायरी राखिदिएका छन् ।

आफ्नो घरमा आउने नेता तथा उम्मेद्वारलाई सधैँ स्वागत गर्ने बताउँदै उनले पार्टीको विभिन्न पदमा उम्मेद्वारी घोषणा गर्नेहरुबाट उत्तर खोज्ने प्रयास गरेको बताए । ‘उम्मेद्वारी घोषणा गर्नु मात्रै ठूलो कुरा होइन,’ उनले भने, ‘अब उठ्ने उम्मेद्वारले संकल्प गर्नैपर्छ कि पार्टी र संगठनलाई यस्तो बनाउँछु भनेर ।’

९ नं. वडा कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माको गृह वडा पनि हो । उक्त वडाका सभापति बानियाँले ‘उम्मेद्वारसँग संकल्प अभियान’ थालेका हुन् । पार्टीको नेतृत्वमा पुग्ने कुरालाई सामान्य नठान्न पनि यो सूचनाले व्यंग्य गरेको छ ।