२०८२ बैशाख २६ शुक्रबार

आफ्नै कारणले चौतर्फी घेराबन्दीमा प्रधानमन्त्री ओली, पार्टीभित्रै आलोचना, कार्यकर्तामा तीव्र असन्तोष

न्युज अफ नेपाल

– विश्लेषक भन्छन् ‘संगठित प्रतिरोध’को खतरा
–सुशासन कायम गर्न असफल भन्दै असन्तुष्टि
–आफूखुशी निर्णय
– एमालेलाई थप कमजोर पार्ने खतरा

काठमाडौं ।
नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली चौतर्फी घेराबन्दीमा पर्दै जान थाल्नुभएको छ । प्रमुख सत्तारुढ दलका केही उच्च तहका नेताहरूले समेत ओलीको कार्यशैलीको कडा आलोचना गर्न थालेका छन् भने आफ्नै पार्टीभित्रबाट उठेका असन्तुष्टि र आक्रोशले उहाँ झनै कमजोर बन्न थाल्नुभएको छ ।

स्रोतका अनुसार भर्खरै शिक्षामन्त्री विद्या भट्टराईलाई असहयोग गर्दै राजीनामाका लागि बाध्य बनाइएको विषयलाई धेरै कार्यकर्ताले रुचाएका छैनन् । एक इमान्दार मन्त्रीलाई बहिर्गमन गराउन बाध्य बनाएको भन्दै आम कार्यकर्ता पंक्तिमा ओलीप्रति आक्रोश चुलिन थालेको पाइएको छ । भट्टराईको राजीनामालगत्तै ओलीले हतार हतारमा अर्का नेता रघुजी पन्तलाई शिक्षा मन्त्री बनाउनुभएको छ । पार्टीमा कुनै छलफल नै नगरी एकल निर्णयमा हतारमा मन्त्री नियुक्त गर्नुलाई ओलीको ‘मनपरी शैली’ को प्रमाणको रूपमा हेरिएको छ ।

भट्टराईको राजीनामालगत्तै पन्तको नियुक्तिले पार्टी कार्यकर्ता र नेताहरूमा गम्भीर असन्तोष जन्माएको छ । एक केन्द्रीय कमिटीका नेताका शब्दमा, ‘एमाले अब ओलीको पेवा मात्र बनेको छ । न त हामीसँग राय दिनसक्ने स्वतन्त्रता छ, न त असहमत जनाउने अधिकार ।’ ओलीको एकल निर्णयप्रति आक्रोश चुलिँदै जाँदा पनि कसैले खुलेर बोल्न सकेका छैनन् । पार्टीभित्र ‘विरोध गरे सकाइन्छ’ भन्ने डर व्यापक छ ।

यही कारणले खुलेआम प्रतिवाद नगरे पनि भित्रभित्रै असन्तोषको राप तीव्र रूपमा फैलिरहेको ती केन्द्रीय सदस्यको दाबी छ । ओलीले मंगलवारमात्रै एक कार्यक्रममा आफूले अझै एमालेमा २०–२५ वर्षसम्म एकछत्र राज चलाउने भन्दै पार्टीभित्र विरोध गर्नेहरूलाई साइजमा ल्याउने गरी अभिव्यक्ति दिनुभएको थियो । कार्यकर्ताहरूले वर्तमान सरकार जति दिन लम्बिन्छ त्यति दिन नै पार्टीले धक्का खान सक्ने भन्दै चिन्ता व्यक्त गर्न थालेका छन् । सुशासन कायम गर्ने सवालमा ओली सरकार निकै कमजोर देखिएको र जसका कारण पार्टीप्रति आम जनतामा नकारात्मक भावना फैलन पुगेको भन्दै कार्यकर्ता पंक्तिमा चिन्ता र आक्रोश बढेको हो ।

पार्टीका पुराना, त्यागी र इमान्दार नेता कार्यकर्ताका अनुसार, ओलीको सरकारमा सुशासन कायम गर्न नसक्ने अवस्था र पार्टीमा नीतिगत मनपरीले पार्टीको भविष्य अन्धकारमय बन्दै गएको छ । २०७४ सालको निर्वाचनमा १२० सिट जितेको एमाले २०७९ मा ७९ सिटमा खुम्चनुमा यो नेतृत्व शैलीले महत्वपूर्ण भूमिका खेलेको एमालेका इमान्दार नेताहरूको ठम्याइ छ । एक विश्लेषकको भनाइ छ, ‘त्यतिबेला एमालेको हार केवल गठबन्धनको प्रभाव वा परिस्थिति मात्रै थिएन, नेतृत्वप्रतिको अविश्वास र असन्तोष पनि कारण थियो ।’ ओलीकै कारण आगामी निर्वाचनमा पार्टीले अझै क्षयीकरण भोग्नुपर्ने अवस्था आउन सक्ने चेतावनी उनीहरूले दिएका छन् ।

पार्टीभित्रै अराजकता, स्वेच्छाचारिता र संवादहीनताले संस्थागत संरचनामा क्षति पु¥याउँदै गएको इमान्दार नेता कार्यकर्ताको बुझाइ छ । ओली नेतृत्वको असहिष्णु व्यवहारका कारण पार्टीभित्र स्वस्थ बहसको वातावरणसमेत संकुचित हुँदै गएको भन्दै पुराना नेताहरूले दुखेसो व्यक्त गर्न थालेका छन् । १० महिनासम्म सरकारमा रहँदा पनि ओली नेतृत्वको सरकारले सुशासन कायम गर्ने सवालमा कुनै उल्लेखनीय काम गर्न नसकेको नेता कार्यकर्ताको टिप्पणी छ ।
‘पार्टीको आन्तरिक असन्तुलनको असर आगामी निर्वाचनमा कति गहिरो पर्दछ भन्नेबारे टिप्पणी गर्न चाँडो हुनसक्छ । तर, अहिलेको संकेतले एमालेलाई थप कमजोर पार्ने खतरा देखिएको छ ।’ एमालेका एक नेताले चिन्ता व्यक्त गर्दै भने । उनले ओली स्वयंका लागिमात्र नभई, पार्टीको भविष्यका लागि पनि गम्भीर सोच र आत्ममूल्यांकन अपरिहार्य देखिएको बताए ।
राजनीतिक विश्लेषकहरूका अनुसार ओलीमाथिको प्रमुख आरोप हो — पार्टीलाई संस्थागतभन्दा व्यक्तिगत ढंगले चलाउनु । सधैंजसो महत्वपूर्ण नियुक्ति, क्याबिनेट पुनर्गठनदेखि संगठनका संवेदनशील निर्णयहरू ओलीको ‘मुड’ मा निर्भर हुने गरेका छन् ।
एमालेका एक प्रदेश नेताका अनुसार, ‘ओलीको वरिपरि चाप्लुसी प्रवृत्ति हावी छ । असहमति जनाउनेहरूलाई पछाडि धकेल्ने, किनारा लगाउने र कहिलेकाहीँ सार्वजनिक रूपमै बेइज्जत पार्ने व्यवहारले पार्टीभित्र डरको वातावरण बनाएको छ ।’
ओलीमाथि केवल पार्टीभित्र मात्र होइन, बाह्य रूपमा पनि दबाब बढ्दो छ । गठबन्धन दलका केही नेताहरूले बारम्बार एमालेभित्र ‘लोकतन्त्रको अभाव’ र ‘ओली एकछत्र’ भएको आरोप लगाउँदै आएका छन् । यस्तो अवस्थामा ओलीले सम्हालिएको देखाउने ठाउँ जति सानो हुँदैछ, उति उहाँविरुद्धको असन्तोषको ज्वाला फैलँदो छ ।

अर्कोतर्फ पार्टी एकताको सवालमा समेत ओली नेतृत्वमा चिसोपन देखिएको छ । ‘सबल संगठन र स्पष्ट दृष्टिकोण’ को अभावमा एमालेभित्र दुई तहमा विभाजन भइरहेको संकेत पार्टीका केही नेताहरूले दिन थालेका छन्- एउटा तह ओली नजिकको ‘क्लोज सर्कल’, अर्को असन्तुष्ट तर मौन नेताहरूको समूह। यदि असन्तोषको राप यही तीव्रतामा बढ्दै गयो भने पार्टीभित्र ‘संगठित प्रतिरोध’को खतरा रहने विश्लेषकहरूले औंल्याएका छन् ।

२०८२ बैशाख ११, बिहीबार प्रकाशित 1 Minute 29 Views

ताजा समाचार