मापसे गरेका चालकले बस चलाउँदा भएको दुर्घटनामा ५ जना घाइते

झापा । झापामा मादक पदार्थ सेवन गरेका चालकले बस चलाउँदा भएको दुर्घटनामा ५ सवारी साधनमा क्षति पुगेको छ भने ५ जना घाइते भएका छन् ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत झापा बिर्तामोड-चारआली सडकखण्डमा बुधबार यात्रुबहाक बसले सडकमा गुडिरहेका अन्य ५ वटा सवारी साधनलाई ठक्कर दिँदा ५ जना घाइते छन् ।

ठक्कर दिएको यात्रुबाहक बसका चालकले मापसे गरेको पाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । मापसे गरेर सवारी चलाउँदा दुर्घटना भएको प्रहरी नायब उपरीक्षक राकेश थापाले बताए ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत चारआली जंगलमा फरकफरक स्थानमा पश्चिमबाट पूर्व आइरहेको मे १ ख २५७१ नम्बरको सगरमाथा यातायातको बसले विपरीत दिशाबाट आइरहेका सवारी साधनहरूलाई ठक्कर दिएको थियो ।

बसको ठक्करबाट मे ५ प ९००२ र मे ९ प ७०९२ नम्बरको मोटरसाइकलमा सवार चुलाचुली १ का ३५ वर्षीय बिजय बिक र उनकी श्रीमती २७ वर्षीय प्रमिला बिक घाइते छन् । उनीहरू दुबै जनाको खुट्टा भाचिएको छ ।

त्यसैगरी मे १ ज ८७४ नम्बरको भ्यानलाई ठक्कर दिँदा त्यसमा सवार बिर्तामोड ५ की बिमला भट्टराई, अर्जुनधारा ६ की कल्पना अधिकारी र बिर्तामोड ११ का देबराज राई घाइते छन् । उनीहरूको टाउकोमा चोट लागेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

घाइतेहरूको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचार भइरहेको छ । बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।