नेपालले आयोजक ताजिकिस्तानसँग खेल्दै

काठमाडौं । नेपाली राष्ट्रिय यू-२३ फुटबल टोलीले एएफसी यू-२३ एसियन कप छनोट अन्तर्गत समूह बीको दोस्रो खेलमा आयोजक ताजिकिस्तानसँग खेल्दैछ । खेल नेपाली समयानुसार साँझ ७:४५ बजे हुनेछ ।

पहिलो खेलमा इरानविरुद्ध ४-० को हार बेहोरेसँगै नेपालको अर्को चरणमा पुग्ने सम्भावना पातलिएको छ । उक्त खेलमा पहिलो हाफ गोलरहित रहेपनि नेपाली डिफेन्स दोस्रो हाफमा सम्हालिन नसक्दा पराजित भएको थियो । ताजिकिस्तानले पहिलो खेलमा लेबनानलाई १-० ले हराएको थियो । टोलीका लागि अन्तिम समयमा भादोत हनोनोभले गोल गरेका थिए ।

नेपालले अन्तिम खेल आइतबार लेबनानविरुद्ध खेल्नेछ । समूहको शीर्ष टोली सिधै अन्तिम चरणमा छनोट हुँदा दोस्रो स्थान हासिल गर्ने उत्कृष्ट चार टोली पनि अघि बढ्नेछन् ।

नेपालले हालसम्म एएफसीको यू–२३ एसियन कप प्रतियोगिताको छनोट चरण पार गर्न सकेको छैन । पछिल्लो दुई संस्करणमा नेपाली टोली जितविहिन हुँदै छनोटबाट घर फर्केको थियो । दुवै संस्करणमा नेपालले गोल गर्न सकेको थिएन ।

प्रतियोगिताको पाँचौ संस्करणमा आइपुग्दा इराक, जापान, उज्बेकिस्तान र दक्षिण कोरियाले १–१ पटक उपाधि जितेका छन् । साविक विजेता दक्षिण कोरिया सन् २०१६ मा उपविजेता समेत रहेको थियो । गत संस्करणमा पराजित साउदी अरेबिया भने २०१३ मा भएको पहिलो संस्करणमा पनि फाइनलमा हारेको थियो । (हाम्रो खेलकुद)