प्रहरी दिवसमा सबैलाई ‘केक’

काँकरभिट्टा । ६६ औं प्रहरी दिवस इलाका प्रहरी कार्यालय काँकरभिट्टामा केक काटेर मनाइएको छ ।

दिवसको अवसर पारेर बुधबार इलाका काँकरभिट्टामा केक काटिएको हो ।

रोट्रयाक्ट क्लब काँकरभिट्टा प्रहरी दिवस मनाउने क्रममा केक लिएर इप्रका काँकरभिट्टा पुगेको थियो ।

सो अवसरमा इलाका प्रहरी कार्यालय काँकरभिट्टा अन्तर्गत रहेका सम्पूर्ण सुरक्षाकर्मीलाई क्लबको तर्फबाट खदा पहिराएर सम्मान गरिएको थियो ।

प्रहरी दिवसमा आफुहरुलाई सम्झिएर इलाकामै उत्सव मनाउन आइपुगेका क्लबका पदाधिकारीहरुलाई कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक सुनिल दाहालले हार्दिक धन्यवाद ज्ञापन गरे ।

प्रनाउ दाहाल, क्लबका अध्यक्ष पुस्कर बस्नेतलगायतले शुभकामना मन्तब्य राखेको कार्यक्रमको सञ्चालन क्लबका सचिव सुमन धिमालले गरेका थिए ।

प्रहरी दिवसकै अवसर पारेर बुधबार जिल्ला प्रहरी कार्यालय झापामा समेत विविध कार्यक्रम सम्पन्न भएका छन् ।

वि.सं २०१२ असोज ३० गते ‘प्रहरी ऐन २०१२’ लागु भएको सन्दर्भमा हरेक वर्ष असोज ३० गते प्रहरी दिवस मनाइने गरेको छ । तर, सो दिन सार्वजनिक विदा तथा चाडपर्व पर्न गए सो मिति आसपास अनुकुल पारेर दिवस मनाउने गरिएको छ ।

प्रहरी प्रधान कार्यालय नक्साल काठमाण्डौंले यो वर्ष असोज २० गते दिवस मनाउन परिपत्र गरे अनुरुप देशभरका हरेक इलाका तथा प्रशासन कार्यालयमा विविध कार्यक्रमको आयोजना गरिएको हो ।

इलाका प्रहरी कार्यालय काँकरभिट्टाले समेत दिवसकै सन्दर्भ पारेर यसअघि वृक्षारोपण, सार्वजनिक स्थलमा सरसफाइलगायतका कार्यक्रमको आयोजना गरेको डिएसपी दाहालले बताए ।