झापाबाट दाबी पेश गर्दै विश्वप्रकाश

बिर्तामोड । विपी जयन्तीको दिन सुन्दरीजल पुगेर पार्टी महामन्त्रीमा उम्मेद्वारी घोषणा गरेका कांग्रेस प्रवक्ता आज झापा आउँदै छन् ।

विपीले आठ वर्ष जेल बसेको ऐतिहासिक स्थल सुन्दरीजलमा रुद्राक्षको बिरुवा रोपेर उम्मेद्वारी घोषणा गरेका शर्माले त्यसको औचित्य प्रस्ट्याउन गृह जिल्लाको बिर्तामोड रोजेका हुन् ।

शर्माले उम्मेद्वारी घोषणाका लागि विपीको जन्मजयन्तीको दिन रोजेका थिए भने औचित्य प्रस्ट्याउन संविधान दिवसको अवसर जुराएका छन् ।

शर्माले झापाका १३१ वटै वडाबाट निर्वाचित क्षेत्रीय प्रतिनिधिका बीचमा आफ्नो अवधारणा सार्वजनिक गर्ने छन् ।

आफू किन महामन्त्रीमा उठेँ र राजनीतिमा कसरी परिवर्तन सम्भव छ भन्ने विषय अवधारणा सभामा प्रमुख हुने जनाइएको छ ।

मेचीनगर घर भएका शर्मा कांग्रेसका प्रभावशाली नेता मानिन्छन् ।

झापाबाट कांग्रेसको केन्द्रीय राजनीति गर्ने नेता भने शर्मा पहिलो होइनन् । अझ कृष्णप्रसाद सिटौला त यसअघि नै कांग्रेसको महामन्त्री भइसकेका छन् । उनी पनि झापाली नै हुन् ।

झापाबाट कांग्रेसको महामन्त्री दाबी गर्ने शर्मा दोस्रो नेता हुन् ।