प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहितका नेताहरू । तस्बिर : प्रधानमन्त्रीको सचिवालय
काठमाडौँ, चैत ११ गते । प्रमुख तीन दलका शीर्ष नेताबिच सत्य निरुपण तथा मेलमिलाप आयोगको अध्यक्ष तथा सदस्यहरु नियुक्तिका लागि सिफारिस समिति गठन गर्ने विषयमा सहमति भएको छ ।

प्रधानमन्त्रीका विज्ञ सल्लाहकार अग्नि खरेलले बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै प्रधानमन्त्री केपी शर्मा ओलीले आव्हान गर्नुभएबमोजिम सोमबार दिउँसो सिंहदरबारमा शीर्ष नेता र विज्ञबिच बसेको बैठकले सो निर्णय गरेको जानकारी दिनुभयो ।
बैठकमा प्रधानमन्त्री ओलीसहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दलका नेता एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, गृहमन्त्री रमेश लेखक, माओवादी केन्द्रका नेता शक्ति बस्नेतलगायत नेता सहभागी हुनुहुन्थ्यो ।
प्रधानमन्त्रीका विज्ञ सल्लाहकार खरेलले भन्नुभयो, “आज सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले आव्हान गर्नुभए बमोजिम नै दलका शीर्ष नेताहरुको बैठक सम्पन्न भयो । शान्ति प्रक्रियाको बाँकी काम अर्थात् सत्य निरुपण तथा बेपत्तासँग सम्बन्धीत आयोग गठन गर्ने विषयसँग गाँसिएको थियो । केही समय अगाडि दुइटै आयोगहरु गठन गर्नका निम्ति बनेको सर्च कमिटी सिफारिस समितिले एउटा प्रतिवेदन पनि दिएको थियो । त्यो प्रतिवेदन पनि यहाँ राखियो ।”
उहाँले यस सम्बन्धमा दलहरुबिच सहमति निर्माण गरेर अगाडि जाने विगतको परम्परा जस्तै यसपटक पनि तीन दलका शीर्ष नेताबिच छलफल भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “त्यसमा एउटा निश्कर्षमा आज हामी पुगेका छौं । बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन तथा सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन ७१ को दफा ३ को उपदफा ३ बमोजिम दुवै आयोगको अध्यक्ष तथा सदस्यहरुको नियुक्तिको लागि सिफारिस समिति गठन प्रक्रिया अगाडि बढाउन सम्माननीय प्रधानमन्त्रीजीले दुई दलका नेताहरुसँग परामर्श गर्नुभयो ।”गोरखापत्र अनलाइन
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



