२०८३ असार १७ बुधबार

नेपालमा राजतन्त्र फर्किने सम्भावना छैन : सभापति देउवा

ललितपुर । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा राजतन्त्र फर्किने सम्भावना नरहेको बताउनुभएको छ ।

कांग्रेस बागमती प्रदेश समितिको प्रशिक्षण विभागद्वारा आज यहाँ आयोजित कार्यक्रममा केही दिनयता राजावादी पक्षधरहरूको गतिविधिप्रति इङ्गित गर्दै सभापति देउवाले पूर्व राजा ज्ञानेन्द्र शाह संवैधानिक राजा हुन नसक्ने धारणा व्यक्त गर्नुभयो ।

कांग्रेस प्रदेश कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूका लागि आयोजित प्रशिक्षण कार्यक्रमको उद्घाटनका अवसरमा उहाँले भन्नुभयो, “नेपालमा राजतन्त्र फर्किने सम्भावना छैन, ज्ञानेन्द्र संवैधानिक राजा बन्न लायक व्यक्ति पनि होइनन्, बरु राष्ट्रिय प्रजातन्त्र पार्टीले ज्ञानेन्द्रलाई पार्टी सभापति बनाए हुन्छ।”

सभापति देउवाले पूर्व राजा ज्ञानेन्द्रलाई राजनीति नै गर्ने भए पार्टी खोल्न सुझाव दिनुभयो । “राजनीति गर्ने भए पार्टी खोल्दा भइहाल्यो नि ! तर त्यो पार्टीमा जानेहरूले धेरै नै दुःख पाउँछन्”, सभापतिले भन्नुभयो । उहाँले गणतन्त्रका पक्षमा एकजुट भएर लाग्न नेता कार्यकर्तालाई निर्देशन दिनुभयो ।

कांग्रेस बागमती प्रदेश उपसभापति एवं प्रदेश प्रशिक्षण विभाग प्रमुख चन्द्र महर्जनको सभापतित्वमा भएको प्रशिक्षण कार्यक्रममा प्रवक्ता डा प्रकाशशरण महत, प्रदेश सभापति इन्द्रबहादुर बानियाँ, पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका निर्देशक डा कृष्णप्रसाद पौडेल, बागमती प्रदेशका कोषाध्यक्ष डा भद्रा पराजुली भण्डारी, केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण विभागका कार्यकारी निर्देशक डा बुद्धिमान श्रेष्ठ लगायतको उपस्थिति थियो ।रेडियो अनलाइनबाट ।

२०८१ चैत्र १०, आईतवार प्रकाशित 0 Minutes 207 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।