स्मृतिमा तेराख अनि ‘मयबाद’

निलमणी न्यौपाने

साहित्यकार तेराख खतिवडा को निधन पश्चात उहाँका बारेमा धेरै कुरा आए । वहाँका कृतिहरूको चर्चा भए, सामाजिक जीवन, शिक्षणपेशा सम्बन्धि सहकर्मीका अनुभव, राजनैतिक यात्रा, साहित्यिक यात्रा………… यस्तै-यस्तै ।

मैले यँहा चर्चा गर्न खोजेको दुई विषय :

१) मयबाद : कहिले काँही कथा लेख्न बस्यो, लेख्दा लेख्दै निबन्ध जस्तो बनिदिन्छ, कविता लेख्न प्रयास गर्यो गीत बनिदिन्छ, निबन्ध लेख्न खोज्दा कथा वा नियात्रा बनिदिन्छ अर्थात् मिश्रित विधामा देखापर्छ अनि विधागत पहिचान पनि के भन्नु के भन्नु जस्तो बनिदिन्छ ।

त्यो पनि साहित्यको एउटा विधा हो र त्यसलाई मय विधा भन्नुपर्छ किन कि गितमय कविता, कथांमय निबन्ध, निबन्धमय कथा हुन् पाउने की नपाउने ? निबन्धलाई कथाजस्तै शृतिप्रिय लेख्न पाइने की नपाइने भन्ने बहस शाहित्य क्षेत्रमा उहाँले उठाउनुभयो, बहसमा ल्याउनुभयो अनि त्यसको पुष्टि गर्दै “मयबादको प्रस्तावना” पुस्तकमार्फत त्यसको पुष्टि गर्ने प्रयास गर्दै बहस हामी बीचमा छाड्नु भएको छ ।

२) भानुभक्त आचार्यले लेख्नु भएको रामायण पाण्डुलिपि मा धेरै वर्षहरू व्यतित भएपछि मोतिराम भट्टको जन्मभयो, मोतिराम मोतिरामको रुपमा जन्मिए पनि मोतिराम, भानुभक्तलाई पुनर्जन्म दिँदै रामायणलाई नेपाली भाषामा प्रकाशन गरी आम पाठकसम्म ल्याउने वाहक भएर आफूमात्र अजम्बरी भएनन् स्वयम् भानुभक्तलाई चम्काउने काममा सफल भए ।

भानुभक्तीय रामायणको भाषागत माध्यमबाट संसारको नेपाली भाषीलाई एकीकरण गर्ने कामको श्रेय भानुभक्तलाई जान्छ तर, त्यसको व्यावहारिक कार्यान्वयन कर्ता मोतिराम हुन भन्ने कुरा हामीले कहिल्यै भुल्दैनौं ।

कोही जन्मन्छ, महान काम गरेर जान्छ तर, समकालीन समाज त्यसलाई बुझ्न हैसियत राख्दैन । त्यसको उठान गर्ने हैसियत राख्ने अर्को महापुरुषको खोजी समयले गरिरहन्छ, जब जन्मिन्छ त्यो महापुरुषको अनि एकैसाथ दुवैजना चमकिन्छन् संसार भरि ।

महानन्द सापकोटाको नेपाली भाषाप्रतिको योगदान मैले यो लेखमा चर्चा गरिरहनु नपर्ला, भाषा शास्त्री को उपमा नै काफी २००७ सालको राजनैतिक परिवर्तन पछिको पूर्वीय स्वायत्त प्रादेशिक जनसरकार का शिक्षा मन्त्री हुँदा उनले राष्ट्र, राष्ट्रियता, जाजी र भाषाको लागि खेलेको भूमिकाले आजसम्म स्वाभिमानी नेपालीहरूको छाती घमण्डले फुल्छ, अनि शिर उच्च भएको महसुस हुन्छ ।

भारतीय राष्ट्रिय गान नेपाली स्कुलमा गाउने प्रचलनको अन्त्य, नेपाली पाठशालामा भारतीय पाठ्यसामग्री विस्थापित गरी नेपाली पाठ्यक्रम विकास गर्नु अनि अन्तर्राष्ट्रिय भेला सभामा नेपाली बाहेक अन्य भासा नबोल्नु उनी कति राष्ट्रबादी थिए भन्ने बुझ्न सकिन्छ । जब तेजराज खतिवडा ‘तेराख’ समेतको पहलमा शान्ति आदर्श माविले ‘आँखा’ पत्रिका प्रकाशन गर्ने मनसायले लेख रचना खोज्दै हिँड्ने क्रममा विराटनगरमा भाषा शास्त्री महानन्द सापकोटा र उहाँको भेटभयो ।

त्यो बेला आँखाको लागि एउटा रचना माग्दा सापकोटाले “यही हो प्यारो देवानछाप मेरो” शीर्षकको कविता दिनुभयो, त्यो बेला खतिवडाले तपाईँले कुन देवनछाप को कुरा गर्नुभयो, म पनि देवानाछापमै जन्मिएको हुँ भन्ने जिज्ञासा राख्नु भएछ ।” देवानछाप थाहा छ, इलाम रे ,सानैमा आसाम गैयो माताजी सङ्ग, थप केही थाहा छैन, यत्ति थाहा छ भूगोल पहाडी इलाका हो ।”

यति सुनेपछि तेजराज सरले मेरो देवनछाप र तपाईंको देवानछाप एउटै हो, म तपाईंलाई तपाईंको जन्मभूमिमा पुर्याउँछु भनेपछि महानन्द सापकोटाको देवान छाप यात्राको तयारी भएको हो । यसर्थ महानन्द सापकोटालाई आफ्नो जन्मभूमिमा जोडेर महानन्दप्रति हाम्रो अग्राधिकारको दाबी गर्ने अवसर दाता आदरणिय तेजराज सर नै हुनुहुन्छ, यसबारे उहाँको कृति ‘देवान छाप’ मा प्रशस्त चर्चा छ ।

जसरी मोतीराम बिनाका भानुभक्त खरानीले छोपेको आगोको कोइला थिए, त्यसरीनै खतिवडा बिनाका महानन्द पनि, जसरी भानुभक्त सामु मोतीराम चम्किए त्यसरीनै महानन्द सँगै तेजराज सर अजम्बरी हुनुहुनेछ, जबजब महानन्द सापकोटाको स्मरण होला तबतब उहाँलाई यस भूगोलसँग जोडेर नेपाली भाषा प्रेमिका सामु हाम्रो भूगोलले शिर ठाडो बनाउन भूमिका खेल्ने तेजराज सर हाम्रा लागि अग्रपुज्य हुनुहुन्छ ।
हार्दिक श्रद्धाञ्जली तेजराज खतिवडा ‘तेराख’ सर

लेखक न्यौपाने गडिगाउँ मावि बुद्धशान्ति ५, शान्तिनगरका विव्यस अध्यक्ष हुन् ।