२०८२ बैशाख २६ शुक्रबार

अपराध गर्ने छुट कसैलाई पनि छैन : गृहमन्त्री श्रेष्ठ

पोखरा । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले अपराध गर्ने छुट कसैलाई पनि नभएको बताएका छन् ।

कर्मचारी होस् वा उद्योगी व्यवसायीले अपराध गर्दा कारबाही थाल्यो भने वक्तव्यबाजी र दबाव सुरु हुने उनले बताए । बाँसबारी छालाजुत्ता उद्योगको सरकारी जग्गा हिनामिना गरेको आरोपमा व्यवसायी अरुण चौधरीलगायत पक्राउ परेपछि नेपाल उद्योग परिसंघले विरोध गरेको छ ।

त्यसको भोलिपल्ट गृहमन्त्री श्रेष्ठले जालसाजी गरेर ठग्ने छुट कसैलाई दिन नसकिने बताएका हुन् । पोखरामा शुक्रवारबाट सुरु भएको प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै उपप्रधान तथा गृहमन्त्री श्रेष्ठले कर्मचारी र सबै सुरक्षा निकायलाई कुनै पनि दबाव र भयरहित भएर दृढतापूवर्क उभिन निर्देशन दिए ।

‘उच्च पदस्थ कर्मचारीले आवाज निकाल्न थाल्छ, कर्मचारीलाई त यसो गर्न भएन नि भनेर’ गृहमन्त्री श्रेष्ठले भने, ‘उद्योग व्यवसायीहरु पनि गल्ती अपराध गर्छन् र कारबाही गर्न थाल्यो भने वक्तव्यबाजी सुरु हुन्छ, दबाव सुरु हुन्छ । हामीले कर तिर्याछौं, उद्योगी व्यवसायीलाई त गर्न भएन नि भन्छन् ।’

निजी क्षेत्रको सहयोग विना देशको अर्थतन्त्र सकारात्मक दिशामा जान नसक्ने आफूहरुले बुझेको बताए । तर, कर तिरेको छु भनेर कसैलाई पनि अपराध गर्ने छुट नभएको श्रेष्ठको भनाइ थियो । उनले भने, ‘कसैलाई पनि राज्यलाई लुट्ने छुट दिन सकिन्नँ । कसैलाई पनि अपराध गर्ने छुट दिन सकिन्नँ ।

श्रेष्ठले अघि भने, ‘यसप्रकारको दबाव र हस्तक्षेप भइरहने हो भने हामीले हाम्रो देशलाई फेर्न पनि सकिन्नँ । त्यसैकारण म राष्ट्रसेवक कर्मचारी र सुरक्षा निकायका सबै साथीहरुलाई भन्न चाहन्छु, तपाईंहरु दृढतापूवर्कक उभिनुस् ।’ उनले अवान्छित हस्तक्षेपबाट भयभीत नहुन आग्रह गरे ।

सम्पन्नशाली, पहुँचवाला, सत्ताको भागीदार वा सत्तासँग पहुँच भएका राजनीतिक नेताहरु र कर्मचारीहरुको संलग्नता वा उनीहरुलाई प्रयोग गरेर हुने जालसाजी, किर्ते, ठगी र राज्यको लुटलाई कुनै पनि हालतमा छुट नदिइने श्रेष्ठले दाबी गरे ।

सुशासन समृद्धिको अभियानका निम्ति पूर्व शर्त भएको भन्दै उपप्रधानमन्त्री तथा गृहमन्त्री श्रेष्ठले भने, ‘हामी नै ठूलाबडा पहुँच भएका, पैसा भएकाहरुकै वरिपरि हुन्छौं भने हामीले यो लोकतन्त्रबाट जनताले अपेक्षा गरेको कर्तव्य पूरा नगरेको ठहरिन्छ ।’ अनलाइन खबर

२०८० माघ १९, शुक्रबार प्रकाशित 0 Minutes 136 Views

ताजा समाचार