आदिकवि भानुभक्तलाई अब आलोचना नगरौं

हामी जहिले– कहिले पनि हाम्रा श्रद्धेय आदिकवि भानुभक्तका जन्मतिथि र अन्य कुनै भानु सन्दर्भका चाडपर्वहरु आउँदा उनले लेखे गरेका तीनवटा आलोच्य विषयहरुलाई नै केन्द्रविन्दु बनाएर कविस्वर माथि आक्षेप भनौँ वा आलोचनात्मक अस्त्र जहिले– कहिले पनि प्रयोग भइरहेको पाउँदछौं, अब त हदै भइरहेको छ, ती तीनवटा विषयहरु, जस्तै– तारापतिका घरमा जाँदा उनका परिवार विचमा बाँझोजुझो, अन्य गजाधर सोतीका घरमा बास नपांउँदा, सोतिनीलाई कविताद्धारा छेड हानेको कुरो र अन्य आफ्ना रचनामा महिलाहरुलाई उपदेशमुलक कविताद्वारा शास्रोक्त नियमानुसारका उपदेश दिएको कुरालाई लिएर बराबर आलोचना प्रत्यालोचना गर्दै रहेको पाइरहेका छौं, कुरो र कुलो जता लग्यो त्यतै जान्छ । भानुभक्तका विशेष गरेर मात्रै यी तीनवटा गल्तीहरु, वर्तमान परिवर्तित समयसँग मेलखाँदा शंका उपशंकाका शाखा, प्रशाखा फैलिएर मूल प्रसंगका बाटामा तेर्सिदै जाँदैछन् र हामी कहिल्यै पनि सत्यता र यथार्थतामा पुग्न सकेका छैनौं । हामी नेपाली जातिका सर्वोपरि परम् आदरणीय आदिकवि भानुभक्तलाई साना मसिना उपरोक्त ३ वटा त्रुटिहरु र महिला सम्बन्धि लेखेका तत् सामयिक कविताहरुलाई हरेक वर्षका भानुसम्बन्धी चाडपर्व वा उनी सम्बन्धी विषयलाई दोहोर्याई दोहोर्याई उधिनेर यति ठूला सम्मानित, हामी नेपालीका आदर्शव्यक्तित्व कविवर भानुजीलाई अब उसो हामी कसैले एउटै विषय मात्रैलाई उधिन्दै आलोचना प्रत्यालोचना नगरौं । बरु भानुसम्बन्धी अरु नयाँ नयाँ उन्का बारेमा अन्वेषणात्मक विषयहरु खोजेर लेखौं । भानु हाम्रा अति सम्मानित कविवर, संसार भरिका अधिकतर नेपाली नर–नारीले आदिकवि पदमा स्वीकारेका दिव्यात्मा महापुरुष हुन् ।हालमा पुरानो नियम– नीति मानव जातिको पुरानो गतिविधी बदलिएर उलटपुलट अवस्थामा रहेको छ, समयको बदलिँदो गतिसँगै परिवर्तन अगाडि अगाडि दौड्दै छ, हालमा हामी आफूलाई परिवर्तनको अवस्थामा छौं भन्दै रहेता पनि यो हालको हाम्रो अवस्थामा पनि कालान्तरमा वद्लिएर पुरानु अवस्थाको हाम्रा भावि पिडीले देख्ने छ र यो पनि बुझौं । यहाँसम्म अझै विस्तारसँग भन्नु पर्दा यो अवस्था यो समाज हाम्रो हालको भेषभुषा, साहित्यिक कलाकृति सबै पछि फर्केर हेर्दा पुराना ढंगका हुनेछन्, कतिपय हाम्रा आहार व्यवहारलाई पनि हाम्रा भावि पिडीले आलोचना पनि गर्लान । यस्ता परिवर्तित परिवर्तनिय कुराहरुको पनि हेक्का राखौँ र बोलौँ लेखौँ, अपरिवर्तनिय विषय यस संसारमा केही छैन ।
हाम्रो भाषा, संस्कृति, साहित्यलाई जीवन्त राख्न कवि भानुभक्तले अनमोल साहित्यिक कृतिहरु नेपाली जगतलाई दिई राखेर गएका छन् । हामी उनका कृतिहरु पढ्छौँ र तात्कालिन धार्मिक, सामाजिक स्थितिको अवगत गर्दछौँ ।
भानुभक्तका अनमोल कृतिहरु जस्तै– रामायण, वधूशिक्षा, भक्तमाला, रामगीता हाम्रा धर्म संस्कृतिका आधारमा लेखिएका ग्रन्थहरु हुन् । यी ग्रन्थहरुले हामीलाई आध्यात्मिक ज्ञान र मानव जातिको पारस्परिक कर्तव्य आचार व्यवहार सम्पूर्णको बोध गराउँदछ ।
वधूशिक्षा ! यो पुस्तक तात्कालीन समयसापेक्ष थियो यद्यपि वर्तमान समयको बद्लिदो परिस्थिति अनुकुल भएन भनी हालका महिला जगतबाट केही आलोचना भईरहेको छ तापनि भानुभक्तले मनगढन्ते विचार राखेर महिलाहरुलाई तुच्छ सम्झी होच्याउँन यो पुस्तक लेखेका होइनन् नै भन्न सकिन्छ । कविले सामयिक, सामाजिक, धार्मिक व्यवहार हेरेर नै वधूहरु या नारीहरुप्रति यस्तो शाब्दिक भाव व्यक्त गरेका होलान् । कविले तात्कालिन परिवेश सामाजिक व्यवहार आदि विषयलाई अंगाली त्यस विषय वस्तुमाथि आफ्नु धारणा एवम् वर्णणात्मक भावना प्रकट गर्दछन्, कवि वैज्ञानिक होइनन्, वैज्ञानिकले मात्र भविष्यको कुरा गर्नु पर्दा आफ्नु अन्दाज या लखनाको आधारमा बोल्ने, लेख्ने गर्दछन् । यसरी वैज्ञानिकले अन्दाज गरेको, लेखेको कुरा गलत पनि हुन सक्छ ।
भानुभक्त पौराणिक दार्शनिक, साहित्य आदि धर्मग्रन्थहरु पढेर कवि वा पण्डित भएका हुन्, उन्का मनःमष्तिष्कमा संस्कार जस्तै भै धार्मिक छाप बसेको थियो । भानुभक्त कविमात्र नभएर धार्मिक व्यक्तित्व पनि थिए । अतः उन्ले रचेका, अनुवाद गरेका प्राय सबै ग्रन्थहरु धार्मिक विषयमा नै केन्द्रित छन् ।
भानुभक्त पुराना धार्मिक ग्रन्थ र नीतिशास्त्रहरु पढी पण्डित भएका हुन्, ती पुराना ग्रन्थहरुमा उल्लेखित पुरुषप्रधान ग्रन्थहरु अनुरुप लेखिएको वधूशिक्षा भानुभक्तका जीवन कालसम्म पनि नारी जगत बेग्लै प्रकारको दोस्रो दर्जाका नागरिक थिए, यो सबैले बुझेकै विषय हो । हामीहरुले पनि धर्मशास्त्र हेर्दा त्यस वेला नारीहरु पुरुषका दाँजोमा पिछडीएकै देखिएका थिए, अतः तात्कालीन सामाजिक अवस्था अनुरुप भानुजीलाई जे शिक्षा प्राप्त भएको थियो सोही अनुरुप उन्ले बधूशिक्षा लेखेका हुन्, भानुभक्तका त्यस बेलाको मष्तिष्कले हालका नारी जगतको वर्तमान वदलिएको चालढाल र परिस्थितिको परिकल्पना या अन्दाजनै गर्न सकेन छ, अतर्ः वधूशिक्षा’ पुरानै अवस्थाको भएर जन्मियो, यही बुझ्न सकिन्छ ।
फेरी आर्को दृष्टिकोणबाट नियालौं– एक वर्ष या एकदुई वर्ष अघिको समय र वर्तमान समय परिस्थितिलाई तुलनात्मक ढङ्गले हेर्दा त ठूलो परिवर्तित स्थिति देखा पर्दछ भने भानुभक्तको जन्मकाललाई पछि फर्किएर हेरौं त ? कता हो कता ! फरक पाइन्छ । १८७१ सालमा उनी जन्मिएका हुन् भने हालको शताब्दी २०७८ सँग तुलना गर्दा अहिले २०७ वर्ष बितिसकेको छ, यत्रो समयको अन्तरालमा हाम्रो देश नेपालमा पनि शासकहरु र कति शासकीय प्रणालीका व्यवस्थाहरु यो देशले हेरिसकेको छ, भोगी सकेको छ । हाम्रा श्रद्धेय आदिकवि जन्मंदा–राणाशासन (जंङ्ग बहादुरको शासनकाल) थियो, पछि तलमाथि हुँदै साम्राज्यवादी शासन, त्यस पछी पञ्चायती शासनकाल, यस्तै हुँदै हुँदै वर्तमान प्रजातान्त्रिक शासन काल वा गणतान्त्रिक संघीयता पनि भनिन्छ, लौ ! हेरौं विचारौं त ? शासनकाल र शासकहरु नै नेपालमा कति वद्लिसकेका र बितीसकेका छन् ? समय पनि साथ– साथै कति वितीसकेछ ? यस्तो परिवर्तनै परिवर्तनको अवस्थामा छौं हामी अहिले ! यो परिवर्तन हुँदै आएको २०० वर्ष भन्दा पनि अधिक समय वितिसकेको अवस्थामा भानुभक्तले लेखेको वधूशिक्षामा महिलाहरु (नारी?) लाई उपेक्षा गरेको(होच्याएको) भनी आलोचना गर्नु, भानुजीलाई पुरुषवादी भनी आलोचना गर्नु उन्को कृति माथि टीका– टिप्पणी गर्नुलाई महिला दिदी बहिनीहरुले यत्रो समयको अन्तराल र यस्को परिवर्तित करामतलाई राम्रोसँग हृदयङ्गम् गर्दै विषयवस्तु माथि पुनमूल्याङ्कन गरी भानुभक्तलाई आलोचना पात्र नबनाइदिनु हुन र उनीसँग मन नदुखाउनुहुन प्रार्थना सहित अनुरोध गर्दछु ।
कुरो र कुलो प्रायःजता लग्यो त्यतै जान्छ, जति लम्ब्यायो त्यति नै लम्बिदै जान्छ । मैले भन्न खोज्दै गरेको विषय वस्तु चाँहि के हो भने भानुभक्तलाई पूर्व साहित्यकार समालोचक विद्घानहरुबाट उपरोक्त ३ विषय र उन्का फुट्कर केही कविता कृतिहरुमा हालको बद्लँदो परिस्थिति अनुकुलको आशय लेख र विचार भएन भनी बराबर दोहोर्याउँदै आलोचना प्रत्यालोचना हुँदा यति महान् सर्वोपरि दिव्यात्मा आदिकवि भानुजीको सम्मानमा आँच पनि आउन सक्छ । आलोचना त्यतिबेला कामयावी हुन्छ, त्यो आलोचनाबाट आलोचितले आफ्नु गल्ती सुधार गर्न पाओस्, यस्तो हुनु पनि हालका दिनमा आएर संभावना देखिदैन । भानुभक्तले लेखेका वधूशिक्षा, गजाधर सोतीका घरमा वास नपाएको कुरा, यी जम्मै कुराहरु दुई शताब्दि भन्दा पनि वर्षौ अगाडिका कुराहरु हुन् । उन्ले नेपाली साहित्य संस्कृति, भाषालाई उत्थान गर्न साथै आध्यात्मिकतालाई बढावा दिन लेखेका कृतिहरु मद्धे सर्वप्रथम रामायण हो । यस पछि भक्तमाला, रामगीता, प्रश्नोत्तरी एवम् उक्त चर्चित वधूशिक्षा हो । भानुभक्तको अधिकतर जीवन यिनै लोकोपकारी ग्रन्थहरु लेखेर वितेको बुझिन्छ ।
भानुभक्तले नेपाली भाषालाई जीवन्तता दिन र यस्को उत्थानमा उक्त रामायणादि कृतिहरु लेखेर हामी नेपाली जगतलाई वरदान स्वरुप ठूलो योगदान दिएका छन् । उन्को नेपाली भाषा संस्कृतिलाई विश्वभरि नै फैलाउन महान् योगदान पुगेको विषयमा हाम्रा प्रसिद्ध साहित्यकार मोदनाथ प्रश्रितले पनि यसो भनेका छन्– “भानुले हामी नेपाली जनताको भाषिक, सांस्कृतिक विषयलाई विश्वभरि नै फैलाउन जुन बाटो खोलिदिएका छन् र अहिले विश्वभरि नै छरिएर बसेका हामी नेपालीहरु जुन माध्यमबाट आफुलाई भावनात्मक एकतामा बाँच्न सफल हुँदैछौँ, त्यस्को पहिलो र विशिष्ट श्रेय भानुभक्तलाई नै जान्छ, त्यसैले भानुभक्तको यो महान् योगदानको जति प्रशंसा र सम्मान गरे पनि त्यो थोरै नै हुन्छ ।”
प्रसङ्ग कताकता लम्बिएर गईसकेछ । श्रद्धेय आदिकवि भानुभक्तलाई विश्वभरिका नेपालीहरुले यति महान् सम्मानित पदमा राखिसकेका छन् कि अब हाम्रा उनी पक्कापक्की आदिकवि भै सकेका छन् । विश्वभरिका सम्पूर्ण नेपालीहरुका हृदयका धुकधुकी दिव्यात्मा पावन पुरुषलाई झम्टी झम्टी अब उप्रान्त आलोचना प्रत्यालोचना नगरौं, यस्ता आलोचनाले हामी सबै नेपालीहरुलाई शून्य उपलब्धि हुन्छ नै । हुनता धातुहरु मध्येको सर्वोत्तम र मूल्यवान् सुनलाई मानिन्छ । यस्का बारेमा नीति उक्तिमा यस्तो पनि भनेको छ – यो सुनलाई जति पोल्यो, पिट्यो उति चम्किलो झरिलो हुन्छ । “दग्घं दग्घं पुनरपि पुनः काभनं कान्तवर्णनम्” परन्तु सुनलाई पनि सीमित मात्रामा पिट्नु पर्दछ, यस्लाई धैरै पिटियो पोलियो भने निश्चय नै यो कम ओजनको हुन्छ, त्यस्तै दिव्यात्मा , सर्वोच्च पदासीन भानुजीको पनि वारम्बारको आलोचनाले उन्को गरिमामा आँच पुग्दछ, मान मर्यादामा खलल् पुग्दछ ।

यस्तो पनि हालका दिनहरुमा देखिँदैछ कि भानु सम्बन्धी चाड पर्व एवम् साहित्यिक प्रसङ्गमा ठूला वडा साहित्यकार र विश्लेषकहरुले भानुले गजाधर सोतीका घरमा वास नपाएको, तारापतिका घरको छोरी, बुहारीको आपसी झगडामा वधूशिक्षाको लेख लेखेको र फुटकर नारीहरुलाई होच्याई लेखेका कविताहरुलाई मात्र दोहोर्याई दोहोर्याई आलोचना गर्दै रहेको पाँइन्छ, अर्कातिर यिनै आलोचक महानुभावहरुले भानु समारोहमै स्थापित् भानु सालिक, तश्वीर आदिमा पुष्प गुच्छा, माल्र्यापण गरेर श्रद्धाभाव समर्पण गरेको पनि देखिंदैछ, यस्तो विडम्वना र विरोधाभाषपुर्ण कार्यलाई अन्य जातजातिहरुबाट पनि हामी नेपालीहरु कतै आलोचना पात्र पनि बन्न नसकौंला त ?
अतः यी हाम्रा अति सम्मानित आदिकवि भानुभक्त आचार्यलाई आलोचना गर्ने प्रसङ्गै अब उसो छाडी दिऔं । कविवर भानुजीबाट रामायण जस्तो पावन महान् धार्मिक ग्रन्थ, तत् सामयिक वधूशिक्षा, प्रश्नोत्तरी, रामगीता, भक्तमाला आदि अनमोल ग्रन्थहरु हामी नेपालीले पाइसकेका छौँ । यी बहुमूल्य कृतिहरुका लेखा यी साना मसिना पुराना विषयहरु हाल आएर गौण पनि भै सकेको मानिन्छ । साथै हाम्रा आदि पुरुषहरु एवम् नीतिशास्त्रका लेखक अनुभवीहरुले यस्तो पनि भनेका छन् कि – “एको गुणः (निहज्ति) खलुनिहन्ति समस्त दोषान् ।”
(लेखक पशुपति मा.वि. आमडाँगीका पूर्व प्रधानाध्यापक हुनुहुन्छ ।)