
झापा । नेकपा (एकीकृत समाजवादी)ले असोज १४ गतेदेखि २९ गतेसम्म सञ्चालन गर्ने समाजवादी जागरण यात्राको तयारी र व्यवस्थापन सम्बन्धी झापाको काँकरभिट्टामा बैठक सम्पन्न भएको छ ।
जागरण यात्राको उद्घाटन समारोह स्थल काँकरभिट्टामा वृहत जनसभा, विषयगत अन्तरक्रिया, स्थानीय पार्टी कमिटीबीच छलफल, बैठक र भेटघाटका कार्यक्रम तयारी भएको छ ।

त्यस्तैं, १३ असोजमा जागरण यात्रा सम्बन्धी काँकरभिटामा पत्रकार संम्मेलनसहित सडक नाटक मञ्चन हुने भएको छ ।
एकीकृत समाजवादी जिल्ला कमिटी झापाले काँकरभिट्टास्थित सामुदायिक भवनमा आयोजना गरेको बैठकमा केन्द्रीय सदस्य तथा झापा इन्चार्ज पुष्पराज पोख्रेलको संयोजकत्वमा २५५ सदस्यीय मुल व्यवस्थापन समिति र विभ्रिन्न उप-समितिहरु गठन गरिएको छ ।
यसअघि बिर्तामोडस्थित पार्टी कार्यालयमा केन्द्रीय सदस्य तथा झाप इन्चार्ज पुष्पराज पोख्रेलको संयोजकत्वमा मुल व्यवस्थापन समिति गठन भएको छ । मुल व्यवस्थापन समितिको सचिवमा केन्द्रीय सदस्य निलमणी बराल छन् ।
त्यस्तैं, झापाका केन्द्रीय सदस्यहरु, केन्द्रीय परिषद सदस्यहरु, जिल्ला कमिटीका पदाधिकारीहरु, जिल्ला कमिटीका सदस्यहरु, जनबर्गिय संघसंगठनका पदाधिकारी र सदस्यहरु रहेको २५५ सदस्यीय मुल व्यवस्थापन समिति गठन गरिएको छ ।
बैठकले आर्थिक व्यवस्थापन उपसमिति समेत गठन गरेको छ । सो उपसमितिको संयोजकमा केन्द्रीय परिषद सदस्य तथा समाजवादी खेलकुद महासंघ कोशी प्रदेशका अध्यक्ष शंकर थापालाई जिम्मेवारी दिइएको छ ।
त्यस्तैं, जिल्ला कमिटी झापाका पूर्व सचिव विपी भट्टराईको नेतृत्वमा कार्यक्रम व्यवस्थापन उपसमिति गठन गरिएको छ ।
जागरण यात्राको समुद्घाटन गर्न अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल, महासचिव घनश्याम भुषाल, जागरण यात्राका संयोजक तथा मोर्चा विभाग प्रमुख डाक्टर बिजय पौडेललगायतका दर्जनौ नेताहरु काँकरभिट्टामा आउनुहुने कार्यक्रम तयारी भएको छ ।
सो बैठकमा पार्टीका प्रदेश कमिटी अध्यक्ष बलदेब चौधरी, केन्द्रीय सदस्य तथा जिल्ला कमिटी झापाका इन्चार्ज पुष्पराज पोख्रेल, केन्द्रीय सदस्य निलमणी वराल, केन्द्रीय सदस्य तथा भद्रपुर नगरपालिकाकी पूर्व नगर उपप्रमुख चन्द्रा श्रेष्ठ, केन्द्रीय परिषद सदस्य तथा समाजवादी खेलकुद महासंघ कोशी प्रदेश अध्यक्ष शंकर थापा, जिल्ला कमिटी झापाका अध्यक्ष बेदराज रेग्मी लगायतले असोज १४ देखि २९ गतेसम्म गर्ने समाजवाद जागरण यात्रालाई सफल बनाउन झापाका एकीकृत समाजवादीहरु एकजुट हुनुपर्नेमा जोड दिएका छन् । उनीहरुले झापाको काँकरभिट्टास्थित मेची नदीबाट सुरु हुने जागरण यात्राको उद्घाटन कार्यक्रमलाई वृहत जनसहभागिताको उपस्थितिमा सम्पन्न गर्न प्रचारप्रसारका अभियानलाई शसक्त बनाउने र जिल्लाको १५ वटै पालिका कमिटीलाई सक्रिय बनाइनुपर्नेमा जोड दिएका छन् ।