२०८३ जेष्ठ २१ बिहीबार

दुई महिनामा दुई खर्ब ५९ अर्बको वस्तु आयात हुँदा २६ अर्बको निर्यात

काठमाडौँ । चालु आर्थिक वर्ष २०८०/८१ को सुरुवाती दुई महिनामा मुलुकले रू दुई खर्ब ५९ अर्ब ७४ करोड ९८ लाख बराबरको वस्तु आयात गर्दा निर्यात भने रू २६ अर्ब ४४ करोड ७० लाखमा खुम्चिएको छ । भन्सार विभागले सार्वजनिक गरेको भदौ मसान्तसम्मको तथ्याङ्कअनुसार दुई महिनामा मुलुकले कुल रू दुई खर्ब ८६ अर्ब १९ करोडको वैदेशिक व्यापार गर्दा रू दुई खर्ब ३३ अर्ब ३० करोड बराबर घाटा व्यहोरेको छ ।

विभागको तथ्याङ्कअनुसार गत आर्थिक वर्षको भदौ मसान्तसम्मको तुलनामा चालु आवको सोही अवधिमा वस्तुको आयात पाँच दशमलव ६ प्रतिशत र निर्यात सात दशमलव ७९ प्रतिशतले घटेको छ । यो अवधिमा समग्र वैदेशिक व्यापारमा पाँच दशमलव ३२ प्रतिशतको गिरावट देखिएको हो ।

गत साउन र भदौ महिनामा नेपालले भारतबाट मात्र रू एक खर्ब ६० अर्ब ७५ करोड बराबरको वस्तु आयात हुँदा रू १६ अर्ब ७३ करोड बराबरको निर्यात भएको छ । अर्थात् नेपालले यो अवधिमा भारतसँग मात्र रू एक खर्ब ४४ अर्बको व्यापार घाटा व्यहोरको छ ।

त्यस्तै, चीनबाट रू ४६ अर्ब ५४ करोड ३२ लाख बराबरको वस्तु आयात हुँदा रू ५४ करोड ३३ लाख बराबरको मात्रै निर्यात भएको छ ।  गत दुई महिना अवधिको चीनसँगको व्यापार घाटा करिब रू ४६ अर्ब बराबर हो ।

नेपालले गर्ने वैदेशिक व्यापारमा नाफा भएको मुलुकमा भने संयुक्त राज्य अमेरिका देखिएको छ ।  साउन र भदौमा अमेरिकाबाट रू दुई अर्ब २२ करोड बराबरको वस्तु आयात गर्दा रू तीन अर्ब ३६ करोड बराबरको निर्यात गरेको देखिन्छ । अमेरिकासँगको व्यापार नाफा रू एक अर्ब १४ करोड बराबर हो ।रासस

२०८० आश्विन ७, आईतवार प्रकाशित 0 Minutes 359 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।