२०८१ बैशाख १४ शुक्रबार

माओवादी प्रदेश १ मा विवाद : ‘प्रचण्डका ज्वाइँ’ले मन्त्री माग्दा योगदान गरेका पन्छाइँदै

विराटनगर । प्रदेश नम्बर १ मा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) सम्मिलित सरकार गठन हुने तयारी हुँदै छ । सत्ता गठबन्धनमा राप्रपा र जसपासमेत मिसिएका छन् । तर, माओवादी केन्द्रभित्र ‘पार्टीमा त्याग गरेका’भन्दा नयाँ आएकाहरुबाट मन्त्री पद दाबी गरिएपछि आन्तरिक विवाद चुलिएको छ ।

मोरङ–६ को प्रदेश निर्वाचन क्षेत्र १ बाट निर्वाचित प्रदेशसभा सदस्य जीवन आचार्यले सरकार गठनको प्रक्रिया सुरु नहुँदै मन्त्री पद दाबी गरेका छन् । यसले पार्टी संगठनमा लामो समयसम्म काम गरेका सांसद गणेश उप्रेती ‘सुशील’ मन्त्रिपरिषद्मै नअटाउने देखिएको माओवादीका एक नेताले बताए ।

आचार्य नातामा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का ज्वाइँ हुन् । सरकारको नेतृत्व गर्ने विषयमा एमाले र माओवादी केन्द्रबीच घनीभूत छलफल भइरहेको छ । १३ मन्त्रालय रहेको प्रदेशमा माओवादीको भागमा चारवटा मन्त्रालय पर्ने सम्भावना छ । तर, मन्त्री बन्न केन्द्रको लबिङ र दबाब भएको छ ।

मोरङको बुढीगंगा निवासी आचार्यले आफूले कुनै पनि हालतमा मन्त्री पद नछाड्ने भन्दै केन्द्रमा लबिङ तीव्र बनाएका छन् । यसबाट प्रदेशस्तरमा माओवादी केन्द्रमा असन्तुष्टि चुलिएको छ । “मन्त्री बन्ने प्रदेशसभा सदस्यहरुको लगभग नाम तय भएको छ । तर, केन्द्रीयस्तरको दबाबका कारण काम गरेकाको भाग खोसिने देखिन्छ,” एक नेताले भने ।

उप्रेती माओवादीको द्वन्द्वकालदेखि नै सक्रिय नेता हुन् । पार्टी आन्दोलनका क्रममा दुई वर्ष जेलसमेत परेका थिए । मोरङ २ प्रदेश निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित भएका सुशील मन्त्रीको दौडमा छन् । तर, आचार्यले दाबी गरेसँगै पार्टीको साविक कोचिला प्रदेशको कोटाबाट उनको नाम नपर्ने देखिएको छ । एकै क्षेत्रबाट मन्त्री बनाउँदा भूगोल नसमेटिने भएपछि आचार्यले दाबी गर्न नहुने मतसमेत पार्टीमा बढेको हो ।

यसअघि, संसदीय दलले आयोजना गरेको छलफल र प्रदेश कमिर्टीको सम्मान कार्याक्रममा समेत सहभागी नभएपछि आचार्यको आलोचना भएको थियो । यसबारे पार्टीभित्रसमेत टिकाटिप्पणी सुरु भएको छ । बाह्रखरीबाट

२०७९ पुष २१, बिहीबार प्रकाशित 0 Minutes 319 Views

ताजा समाचार