
लापसे गरेर सवारी चलाउने ८ जना पक्राउ
विराटनगर । मादक पदार्थ सेवन (मापसे) छाडेर सवारी चालक तथा सह–चालक लापसे (लागूपदार्थ सेवन) तर्फ लाग्ने गरेको पाइएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङ, इलाका प्रहरी कार्यालय रानी र लागूऔषध ब्युरोको टोलीले मङ्गलबार लापसे चेकजाँचको क्रममा ८ जनालाई नियन्त्रणमा लिएपछि सवारी चालक र सह–चालकहरू मापसे छोडेर लापसेतिर लाग्ने गरेको पाइएको हो ।
लापसे गरेर सिटी, टेम्पो र मोटरसाइकल चलाउने सवारी चालकहरू रहेको मोरङका ट्राफिक प्रमुख ट्राफिक प्रहरी निरीक्षक सुमन न्यौपानेले जानकारी दिए । विराटनगर–१६ रानी क्षेत्रमा सवारी चालकहरूले परीक्षण गर्दा ८ जनाले लापसे गरेको पाइएको उनले बताए ।
सार्वजनिक सवारीसाधनका कर्मचारी (चालक, सह–चालक, परिचालक) लाई लक्षित गरेर मोरङ ट्राफिक प्रहरीले लापसेसम्बन्धी चेकजाँच अभियान तीव्ररूपमा अगाडि बढाएको छ । लागूऔषध ओसार–पसार तथा नियन्त्रणको लागि प्रहरीले चालेको अभियान अन्तर्गत विराटनगर–१६ स्थित दक्षिणगेटमा सवारी साधन चलाउनेहरूलाई चेकजाँच गर्ने क्रममा ८ जनाको लापसे पोजेटिभ देखापरेपछि नियन्त्रणमा लिएको न्यौपानेले बताए । यसरी परीक्षणको क्रममा लापसे गरेर सवारी साधन चलाएको पत्ता लागेपछि कारबाहीको दायरामा ल्याउने उनले बताए । लापसे गरेर सवारी चलाउने ८ जनालाई इलाका प्रहरी कार्यालय रानीमा पठाइएको छ । यसअघि रानी नाकामा मोरङ प्रहरीले लागूपदार्थ सेवन नियन्त्रण अभियान सञ्चालन गर्दै आएको छ ।
ट्राफिक प्रहरीले लामो समयदेखि मापसे (मादक पदार्थ सेवन) चेकजाँचलाई निरन्तरता दिँदै आएको छ । ब्रेथलाइजर मेसिनको प्रयोगबाट गरिने चेकजाँचले सवारी चालकले मापसे गरे÷नगरेको पत्ता लाग्छ ।
ट्राफिक प्रमुख न्यौपानेले मापसे चेकजाँच प्रभावकारी देखिएको र मादक पदार्थ सेवन गर्ने सवारी चालक निरुत्साहित हुँदै गएको बताए । तर, मापसे छाडेर सवारीका चालक तथा सह–चालक लापसेतिर लागेको सूचना आएपछि चेकजाँच अभियान सुरु गरिएको उनको भनाइ छ ।