
विश्व अल्जाइमर्स दिवस आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । हरेक वर्ष सेप्टेम्बर २१ का दिन मनाइँदै आएको अल्जाइमर्स (बिर्सिने रोग) विस्मृति दिवसको यस वर्षको नारा ‘कहिल्यै धेरै चाँडो पनि हुँदैन, कहिल्यै ढिलो पनि हुँदैन’ रहेको छ । रोगको पहिचान समयमै गर्ने र यो रोग हुन बढावा दिने मुख्य कारकतत्वलाई समयमै पहिचान गरेर बिर्सिने रोगबाट बच्नका लागि आह्वान गरिएको छ ।
याे दिवस सन् १९९४ देखि मनाउन थालिएको हो । अल्जाइमर्स जसलाई बिर्सिने रोगका रूपमा बुझ्ने गरिन्छ । नेपालमा हाल बिर्सिने रोगबाट एक लाख ११ हजार व्यक्ति पीडित छन् । नेपाल पक्षघात सङ्घका अध्यक्ष एवं ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालका वरिष्ठ न्यूरोलोजिष्ट डा राजु पौडेल नेपालमा ६५ वर्ष माथि उमेरका ६ दशमलव ५ प्रतिशत व्यक्तिमा बिर्सिने रोग लागेको बताउँछन् ।

‘जति मानिसको उमेर बढ्दै जान्छ, त्यति नै बिर्सिने रोगसमेत बढ्छ’, उनले भने । बिर्सिने रोगीमध्ये ८० प्रतिशतभन्दा बढीमा अल्जाइमर्स हुने उनको भनाइ छ । विश्वमा हरेक वर्ष एक करोड व्यक्तिलाई अल्जाइमर्स हुने गरेको छ । डा पौडेल विश्वभर हाल छ करोडभन्दा बढी व्यक्तिलाई अल्जाइमर्सको समस्या रहेको बताउँछन् ।
विश्वमा हरेक तीन सेकेण्डमा एक व्यक्तिलाई अल्जाइमर्स हुने गरेको छ । विश्वको तथ्याङ्कअनुसार ६५ वर्षदेखि ७५ वर्षसम्मका पाँच प्रतिशत जनसङ्ख्या, ७५ वर्षदेखि ८५ वर्षसम्मका १३ प्रतिशत र ८५ वर्ष पार गरेका एक तिहाइ व्यक्तिमा अल्जाइमर्स हुने गरेको छ । विश्वको तथ्याङ्कलाई हेर्दा विकसित मुलुकभन्दा अल्पविकसित र अविकसित मुलुकमा बढी अल्जाइमर्सका रोगी देखिएको डा पौडेल बताउँछन् ।
बिर्सिने रोगीमध्ये ५८ प्रतिशत पुरुष र ४२ प्रतिशत महिला रहेका छन् । डा पौडेल अल्जाइमर्सका बिरामी वार्षिक नेपालका प्रत्येक अस्पतालमा एक सयभन्दा बढी जाने गरेको बताउँछन् । सम्झना शक्तिमा बिस्तारै ह्रास आउने र सामान हराउने वा बिर्सने, आफू परिचित ठाउँमा पनि हराउने र बाटो बिर्सने/बिराउने, कुनै पनि कामको योजना गर्ने शक्तिमा असक्षमता, पहिले राम्रोसँग गर्नसक्ने कामजस्तै, बोल्ने, लेख्ने, पढ्ने काममा समस्या र व्यक्तित्वमा परिवर्तन विस्मृति अर्थात् बिर्सिने रोगका लक्षण हुन् ।
विश्वभर अल्जाइमर्स रोगको पूर्ण रूपमा उपचार नभए पनि यसबाट आउने सम्बन्धित समस्याजस्तै, बैचैनी, डिप्रेसन, शङ्का गर्ने प्रवृत्तिलाई उपचार गरेर बिरामीको जीवनलाई गुणस्तरीय बनाउन सकिने डा पौडेल बताउँछन् । त्यसैगरी प्रारम्भिक चरणमा यो रोग पहिचान भएमा स्मरणशक्ति सुधार गर्ने, विभिन्न औषधि प्रयोग गरेर बिरामीको स्मरणशक्ति सुधार्न सकिने चिकित्सक बताउँछन् ।
बिरामीको हेरचाह गर्न परिवारको व्यक्तिलाई विभिन्न व्यवहारिक ज्ञान प्रदान गरी सहयोग गर्न सकिन्छ । यो रोगबाट पीडितलाई परिवार, समाज तथा मुलुकले नै चासो दिएर ज्येष्ठ नागरिकलाई सम्मानस्वरूप बाँच्ने अधिकारको प्रत्याभूति गराउन आवश्यक देखिन्छ ।
यी हुन् अल्जाइमर रोगका लक्षणः
१) स्मरण शक्ति गुम्नु
यो अल्जाइमर्स भएका व्यक्तिमा देखिने मुख्य लक्षण हो । बिर्सनु आफैँमा रोग होइन । तर, अल्जाइमर्सका बिरामीले बारम्बार अर्थात भर्खर भनेका कुरा पनि बिर्सन्छन् । बिरामीले आफ्नै घरको बाथरुमदेखि भर्खरै बोलेको मानिस चिन्दैनन् ।
२) मूल्याङ्कन कठिनाइ
सामान्य अन्दाज गर्न समेत नसक्नु अल्जाइमर्स रोगको अर्को लक्षण हो ।
३) डिप्रेस र मन परिवर्तन
कुनै व्यक्तिको मुड परिवर्तन भइरहन्छ र प्रायः निराश देखिन्छ भने उसलाई भित्रभित्रै अल्जाइमर्सले गाँजेको हुनुपर्छ । डिप्रेसन अल्जाइमर्स रोगको पूर्वलक्षण हो ।
४) निर्णय क्षमतामा ह्रास
कसैले निर्णय गर्न सक्दैन वा मनमा दुविधा मात्र राख्छ भने पनि अल्जाइमर्सको लक्षण हो ।
५) ध्यान नहुनु
अल्जाइमर्सका बिरामीमा नियमित काममा कत्ति पनि ध्यान हुँदैन । उसले यसअघि गरेका काम सबै बिर्सन्छ । उसको सबै दिनचर्या नै खलबलिन्छ ।
६) बोल्न कठिनाइ
अल्जाइमर्सका बिरामीले राम्रोसँग बोल्नै सक्दैनन् । तसर्थ, कसैसँग बोल्दा राम्रोसँग बाक्य बनाउन सकिँदैन वा बोल्दा धक लाग्छ भने त्यो पनि अल्जाइमर्सको अर्को लक्षण हो ।
७) मनमा छटपटीः
मन स्थिर नहुनु, छटपटी बढ्नु, एउटै स्थानमा केहीबेर पनि बस्नु नसक्नु अल्जाइमर्सका लक्षण हुन् ।