२०८१ चैत्र १३ बुधबार

पहिलो दिन शिक्षकको ब्यापक प्रदर्शन : मन्त्रालयसँग हैन सरकारसँग वार्ता

झापा । विद्यालय बन्दको घोषणा गरेर संघीय राजधानी केन्द्रित प्रदर्शनमा उत्रिएका शिक्षक महासंघले पहिलो दिन बुधबार ब्यापक प्रदर्शन गरेका छन् ।

देशभरबाट काठमाण्डौं आएका शिक्षकहरु माइतीघरमा भेला भएर आन्दोलनमा सहभागी भएका हुन् । विगतका सहमतीका बुँदाहरु विधेयकमा नआएकाले आन्दोलन गर्न आँफूहरु बाध्य भएको शिक्षक नेताहरुले बताएका छन् ।

वृहत् प्रदर्शनपछिको कोण सभामा बोल्दै शिक्षक नेताहरुले आफ्नो मन्तब्यमा स्थानीय सरकारका जनप्रतिनिधि लक्षित गर्दै पहिलो दिनको प्रर्दशन सम्पन्न गरेका छन् ।

विधेयक दर्ता हुनु अघि नै आन्दोलनको घोषणा गरेको नेपाल शिक्षक महासंघको व्यानरमा काठमाडौ केन्द्रित प्रर्दशनमा उनीहरुले शिक्षा मन्त्रालयसँग नभई सिधै सरकारसँग वार्ता गर्ने सन्देश दिएका छन् ।

विद्यालय बन्दको घोषणा गरेर संघीय राजधानी केन्द्रित प्रदर्शनमा उत्रिएका शिक्षक नेताहरुले बानेश्वरमा आयोजित सभामा व्यक्त आफ्नो भाषणका क्रममा आफूहरु स्थानीय सरकार मातहत बस्न नसक्ने कुरा दोहोर्याएका छन् । महासंघकी सहअध्यक्ष एवं आन्दोलन परिचालन समितिकी संयोजक नानुमाया पराजुलीले शिक्षा मन्त्रालयसँग विश्वास नभएको बताईन् ।

शिक्षक संघका अध्यक्ष सोमनाथ गिरीले स्थानीय सरकारहरुले कर्के नजर लगाए उठिवास लगाउने धम्कि दिए ।

‘बालेन लगायत स्थानीय सरकारले शिक्षकहरुलाई कर्के नजर लगाए उठिबास लगाउँछौ’ काठमाडौ महानगरपालिकाका मेयर बालेन शाहलाई लक्षित गर्दै उनले अघि भने ’ऐन पुर्नलेखन नभएसम्म आज आँगनमा छौं भोली भित्रै (संसदमा) पसेर हामी नै ऐन लेख्छौं ।’

शिक्षकहरुको आन्दोलन चलिरहँदा काठमाडौ महानगरपालिकाले विद्यालय बन्द गरेर पठनपाठन अवरुद्ध गरेमा कारवाही गर्ने सूचना सार्वजनिक गरेको थियो ।

उक्त सूचनालाई लक्षित गर्दै शिक्षक नेताहरुले स्थानीय सरकार प्रति कटाक्ष गरेका हुन् । कार्यक्रम सञ्चालन गरेका महासंघका महासचिव लक्ष्मीकिशोर सुवेदीले आफूहरु अरिंगाल भएकोले अरिंगालको गोलालाई नजिस्क्याउन सचेत गराए । जिस्काएमा हेलिकप्टर चढेर भाग्नु पर्ने अवस्था आउन सक्ने उनको धम्कि थियो । उनले सांसदहरुलाई चुनाव जित्न आफूहरुले गरेको सहयोग सम्झनसमेत स्मरण गराए ।

एमाले निकट नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष विष्णु प्रसाद भण्डारीले पनि दलका नेताहरुलाई शिक्षकले चुनावका बेला गरेको सहयोग नभुल्न स्मरण गराए ।

’शिक्षककै कारण जनआन्दोलन पुरा भएको हो, जिताउन हामी चाहिने अहिले खोलो तर्यो लौरो विर्सियो गर्न पाईन्छ ?’ प्रश्न गर्दै उनले भने ’खबरदार २०८४ साल मा पनि चुनाव हुन्छ ।’

विधेयक संसदमा दर्ता भईसकेकोले शिक्षा मन्त्रालयसँग भन्दा सभामुख वा दलका सचेतकहरुसँग वार्ता गर्न सकिने उनले बताए ।

सत्ताधारी दल माओवादी केन्द्र निकट एकीकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष शंकर अधिकारीले पालिकामा रहेका कर्मचारीले आफूहरुलाई गर्ने अनुगमन अमान्य रहेको बताउँदै स्थानीय सरकार प्रति कटाक्ष गरे ।

दोश्रो दिनको आन्दोलन पनि यही शैलीमा सञ्चालन हुने भन्दै शिक्षक नेताहरुले पटक पटक भएको सहमती पूणर् रुपमा ऐनमा लिपिवद्ध नभएसम्म आउँदै गरेको दशैं पनि सडकमै मनाउन तयार रहन शिक्षकहरुलाई आह्वान गरेका छन्

२०८० आश्विन ३, बुधबार प्रकाशित 0 Minutes 275 Views

ताजा समाचार