२०८० फाल्गुन १६ बुधबार

कुकुरले मात्र होइन, अन्य जनावरले टोक्दा पनि लाग्न सक्छ रेबिज

कुकुरले टोकेपछि रेबिजविरुद्धको खोप लगाउनुपर्छ, खोप लगाइएन भने रेबिजको संक्रमण फैलिन सक्छ र मानिसको ज्यान समेत जान सक्छ । संसारभरि नै कुकुरको टोकाइले हुने रेबिज संक्रमण बढी देखिन्छ । तर कुकुर मात्र होइन, अन्य धेरै जनावर छन् जसको टोकाइले रेबिज संक्रमण हुन सक्छ ।

बिरालो, स्याल, फ्याउरो र अन्य जंगली जनावरको टोकाइले पनि रेबिज भएका उदाहरण छन् । त्यसैले कुकुरले टोक्दा मात्र होइन, यी जनावरले टोक्दा पनि रेबिजविरुद्धको खोप लगाउनुपर्छ ।

नेपालमा दैनिक करिब ९०० जनाले रेबिजविरुद्धको खोप लगाउने गर्छन् । खोप सहज रूपमा उपलब्ध भए पनि रेबिजका कारण मृत्यु हुनेको संख्या घटेको छैन । विगत १४ वर्षको तथ्यांकअनुसार वार्षिक १२ देखि १४ जनाको रेबिजका कारण मृत्यु हुन्थ्यो भने पछिल्लो केही वर्ष यता यस्तो संख्या २२ पुगेको छ ।

मृत्युको संख्या बढ्नुको कारण

सरकारले निःशुल्क रेबिजको खोप उपलब्ध गराइरहँदा पनि रेबिजकै कारण मृत्यु हुनेको संख्या घट्नुको साटो बढिरहेको छ । यसको कारण रेबिजको बारेमा समाजमा धेरै भ्रम व्याप्त हुनु र लापरबाहीले गर्दा हो ।

कुकुरले वा अन्य जनावरले टोकेको दिन नै खोप लगाउने हो, चार-पाँच दिनपछि खोप नलगाए पनि खासै फरक पर्दैन भनेर खोप नलगाउनु, बालबालिकालाई कुकुरले टोकेको छ भने आमाबुवाले गाली गर्छन् भनेर नभन्नु र खोप नलगाउनु, वृद्धवृद्धाहरू यत्रो वर्ष टोक्दा केही भएन अब टोकेर के हुन्छ र भनेर खोप नलगाउनु यसको कारण हो ।

कतिपय व्यक्ति कुकुर सानो थियो सानो कुकुरले टोक्दा रेबिज सर्दैन होला भनेर खोप लगाउँदैनन् । घाउ सानो छ खोप नलगाए पनि हुन्छ वा घाउ निको भयो नलगाए पनि हुन्छ भन्ने सोचेर कतिले खोप नलगाउने लगायत भ्रम र लापरबाहीले गर्दा रेबिजको कारण मृत्यु हुनेको संख्या बढिरहेको छ ।

कस्तो अवस्थामा खोप लगाउने र तत्काल के गर्ने ?

कुनै जनावरले टोकेर घाउ भयो भने तुरुन्त अस्पताल गएर रेबिजविरुद्धको खोप लगाउनुपर्छ । हामीलाई टोक्ने जनावरमा रेबिज छ कि छैन भन्ने कुरा थाहा हुँदैन, त्यसैले सानो घाउ भए पनि खोप लगाउनुपर्छ । रेबिज लागेको कुकुर १० दिनभित्र मर्छ भने त्यसपछि रेबिजको खोप लगाउनैपर्छ ।

कुकुरले तथा अन्य जनावरले टोक्नासाथ सीधै गएर पानीको धारा खोलेर फोर्सले बगिरहेको पानीमा कम्तीमा १५ मिनेट धोयो भने मात्र पनि लगभग ९० प्रतिशत रेबिज भाइरस बगेर जान्छ । यदि सम्भव छ भने साबुनपानीले पखाल्दा झन् प्रभावकारी हुन्छ । त्यसपछि जतिसक्दो चाँडो अस्पताल गएर खोप लगाउनुपर्छ ।

कस्तो अवस्थामा खोप नलगाए पनि हुन्छ ?

कुकुरले टोकेर कुनै घाउ भएको छैन वा जनावरको र्‍याल शरीरमा छैन भने खोप नलगाए पनि हुन्छ । साथै १० दिनसम्म कुकुरको अवस्था हेरेर खोप लगाउँछु भने पनि ठीकै छ । तर खोप लगाएपछि एकदमै सुरक्षित हुने भएकाले खोप लगाउनु नै उपयुक्त हुन्छ ।

कति अवधिमा सुई लगाउनुपर्छ ?

जनावरले टोकेपछि सकेसम्म छिटो भ्याक्सिन लगाउनुपर्छ । तर यदि तत्काल खोप लगाउन सम्भव भएन भने एकदेखि दुई हप्तासम्म पनि खोप लगाउन सकिन्छ । जतिसक्दो छिटो खोप लगाउन सकियो त्यति सुरक्षित भइन्छ ।

सरकारी अस्पतालमा र स्वास्थ्य संस्थामा रेबिजविरुद्धको खोप निःशुल्क पाइन्छ । त्यसैले खोप लगाउन जान हेलचेक्र्याइँ गर्नु हुँदैन । सहरी क्षेत्रमा त रेबिज खोपको बारेमा धेरैलाई ज्ञान छ तर गाउँघरका मान्छेलाई धेरै जानकारी नहुन सक्छ । त्यसैले गाउँघरमा फार्मेसी तथा स्वास्थ्य चौकीमा बस्ने मानिसलाई रेबिजविरुद्धको खोप कस्तो अवस्थामा कति बेला लगाउने भन्ने तालिम दिनुपर्छ । यसो गरियो भने रेबिजको कारण मृत्यु हुनेको संख्या घट्न सक्छ ।अनलाइनखबर

२०८० आश्विन २, मंगलवार प्रकाशित 1 Minute 230 Views

ताजा समाचार