वडा नम्बर ४ मगरडाँडाका सन्तोष अधिकारीले कागती बेचेर बार्षिक २५ लाख रुपैयाँ आम्दानी गरेको बताए । उनले धानखेतीबाट भन्दा कागती खेतीबाट प्रतिविघा पाँच लाख रुपैयाँ भन्दा बढी नाफा भएको बताए । अधिकारीले चार वर्षअघि दुई विघा जमिनमा धानको साटो कागतीखेती सुरु गरेका थिए ।
विरुवा लगाएको तीन वर्षदेखि कागतीले आम्दानी दिन सुरु गरेको थियो । उनले बाह्रै महिना फल्ने सुनकागतीको खेती गरेका छन् । कागती किन्नका लागि विर्तामोड, धुलाबारी, काँकरभिट्टाका व्यापारीहरु घरमै आउने गरेको उनको भनाइ छ । बगानमै प्रतिकेजी ७५ रुपैयाँले कागती बिक्री हुँदै आएको उनले जानकारी दिए ।
‘धान तथा मकै बाली भित्र्याउन हात्तीले दिँदैनथ्यो’, उनले भने, ‘तर कागती खेतीमा भने समस्या छैन ।’राम्रोसँग गोडमेल, समयमै मल, पानी गरेर स्याहार गर्न सके प्रतिबोटमा छ हजार दानासम्म फलाउन सकिने अधिकारीको अनुभव छ । रासस