कोशी प्रदेशसभा सभामुखविहीन छ । उद्धव थापालाई मुख्यमन्त्री बनाउन माओवादी केन्द्रले आफ्नो दलबाट सभामुख निर्वाचित बाबुराम गौतमलाई राजीनामा गराएपछि कार्यवाहक सभामुखको जिम्मेवारी उपसभामुख सिर्जना दनुवारले पाएकी छिन् ।
उनी एमालेबाट निर्वाचित प्रदेशसभा सदस्य हुन् । सभामुख चयन नगरी विश्वासको मत लिए दनुवारले मतदान गर्न पाउँदिनन् । अर्थात् कार्कीको पक्षमा ४५ मत मात्र हुन्छ । उनलाई राजीनामा गराए ज्येष्ठ सदस्यको रूपमा कांग्रेस सांसद गयानन्द मण्डलले प्रदेशसभा बैठकको अध्यक्षता गर्नुपर्ने हुन्छ ।
तर निवर्तमान मुख्यमन्त्री थापाले ४ भदौमा विश्वासको मत लिने बेला उपसभामुख दनुवार उपचारका लागि भन्दै काठमाडौं गएकी थिइन् भने एमाले र राप्रपाले आफ्ना १० जना ज्येष्ठ सदस्यलाई बिदामा बसाएको थियो । मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने बेला आफूहरूले पनि पालोको पैंचो तिर्ने सत्ता गठबन्धनका एक सांसद बताउँछन् ।
अर्थात् अहिलेकै अवस्थामा कार्कीले प्रदेशसभाबाट विश्वासको मत पाउने सम्भावना देखिंदैन । त्यसलाई बुझेका कांग्रेस प्रमुख सचेतक भुपेन्द्र राई कार्की नेतृत्वको नयाँ सरकार ३० दिनका लागि मात्रै भएको टिप्पणी गर्छन् । त्यसपछि आफूहरूको सरकार बनाउने भन्दै उनले भने, ‘अब त्यसकै तयारीमा लाग्छौं ।’
यथास्थितिमा सरकारको आयु ३० दिन मात्र भएको बुझेको एमालेले भने सहमतिको प्रस्ताव अघि सारेको छ ।
एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारी संविधानको धारा १६८ को उपधारा ३ अनुसार गठन भएको कार्की नेतृत्वको सरकारले विश्वासको मत नपाए प्रदेशमा मध्यावधि हुन सक्छ । मध्यावधिको जोखिम टार्न सहमति गरेर अघि बढ्नुपर्ने उनले बताए । ‘यो सरकारले विश्वासको मत पाएन भने संविधानको धारा १६८ (५) मा जान्छ, त्यहाँ तल–माथि भए मध्यावधिमा जान्छ’ उनले भने, ‘त्यसैले दलहरूबीच सहमति गरौं, एमाले पाँचै वर्ष आफूले नेतृत्व गर्न पाउनुपर्छ भन्ने पक्षमा छैन, हिक्मतकुमार कार्कीले पनि भन्नुभएको छैन ।’
माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो भने अहिले एमालेसँग सहकार्यको सम्भावना देख्दैनन् । ‘तत्काल उहाँहरूले सरकार बनाउनुहुन्छ, हामी जाने कुरा हुँदैन’ उनले भने, ‘३० दिनको समय छ, कसरी जाने भन्ने छलफल गर्छाैं ।’ अनलाइन खबरबाट