२०८० फाल्गुन २१ सोमबार

भ्रष्टचार, अनियमितता, ढिलासुस्ती भएको भन्दै मेचीनगरका क्रियाशिल राजनीतिक दलको आपत्ती

मेचीनगर । मेचीनगर नगरपालिकामा चरम वेथिति मौलाएको भन्दै नगरमा क्रियाशिल ५ राजनीतिक दलले गम्भीर आपत्ती जनाएका छन् ।

शुक्रबार (आज) धुलाबारीमा पत्रकार सम्मेलनको आयोजना गर्दै ५ दलले प्रेस विज्ञप्ती नै सार्वजनिक गरेका छन् । जसमा नगरमा भ्रष्टाचार, अनियमितता, कर्मचारी–कर्मचारीबिच अन्तरविरोध, जनप्रतिनिधि–जनप्रतिनिधिबिच अन्तरविरोध मौलाउदै जाँदा समग्र नगरवासीको शिर निहुरिएको ठहर छ ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकिकृत समाजवादी र राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख तथा प्रतिनिधिको हस्ताक्षरसहित प्रेस विज्ञप्ती सार्वजनिक भएको छ । जसमा लेखिएको छ ‘मेचीनगरमा विगतदेखि नै श्रृंखलावद्ध रुपमा भइरहेका सबै प्रकारका भ्रष्टचार अनियमितता, ढिलासुस्ती तथा जनप्रतिनिधि–जनप्रतिनिधि बिचका अन्तरविरोध, कर्मचारी–कर्मचारी बिचका अन्तरविरोध एवम् जनप्रतिनिधि र कर्मचारीसँगका जनताका अन्तरविरोध समाधानका विषयमा मेचीनगरमा क्रियाशिल राजनैतिक दलहरुको तर्फबाट विगतमा पनि पटक पटक ध्यानाकर्षण गराइएको विषयलाई नगरपालिका नेतृत्वले बेवास्ता गर्दै अगाडी बढेको कुराले हामीलाई अत्यन्तै मर्माहत बनाएको छ । साथै नगरवासीको शिर निहुरिएको छ ।’

विज्ञप्तीमार्फत दलहरुले यी सम्पूर्ण समस्याहरु छिटोभन्दा छिटो समाधान गरी नगरपालिकालाई उत्तराधिकारवाला जनप्रतिनिधिमुलक संस्थाको रुपमा विकास गर्न सचेतसमेत गराएका छन् । अन्यथा जनभावनाको प्रतिनिधित्व गर्दै आवश्यक पहल लिन वाध्य हुने चेतावनी पनि दिएका छन् ।

पछिल्लो समय मेचीनगरमा भएका वेथितिहरु एक पछि अर्को गर्दै सार्वजनिक भइरहेका छन् भने कर्मचारी–कर्मचारीबिचको द्वन्द छताछुल्ल भइसकेको छ । केहिदिन अघि मात्रै मेचीनगर ४, १० र १३ का वडाध्यक्षहरुले नगरको मुल गेटमै पत्रकार सम्मेलन गर्दै केही कर्मचारीका कारण समग्र मेचीनगर नगरपालिका बन्धक बनेको बताएका थिए । यसरी एकपछि अर्को गर्दै नगरपालिकाका वेथिति सार्वजनिक भइरहँदा क्रियाशिल राजनैतिक दलहरुले यथाशिग्र समस्याको समाधान खोज्न नगर नेतृत्वलाई सुझाएका हुन् ।

क्रियाशिल राजनैतिक दलहरुले गरेको पत्रकार सम्मेलनमा नगरको बागडोर सम्हालेको दल नेकपा एमालेको पनि उपस्थिती थियो । एमालेका तर्फबाट क्षेत्रिय अध्यक्ष टिकाराम मगराती उपस्थित थिए । यद्यपी प्रेस विज्ञप्तीमा भने नेकपा एमालेको तर्फबाट हस्ताक्षर छैन ।

२०८० भाद्र २२, शुक्रबार प्रकाशित 0 Minutes 153 Views

ताजा समाचार