२०८१ कार्तिक २० मंगलवार

मानव बेचबिखन तथा ओसारपसारविरुद्धको दिवसमा ९ क्रियाशिल संस्था सम्मानित

काँकरभिट्टा, २० भदौ । मानव बेचबिखन तथा ओसारपसारविरुद्धको १७ औँ दिवसको अवसरमा गैरसरकारी संस्थाहरुलाई सम्मान गरेर मनाइएको छ ।

काँकरभिट्टा खानेपानी कार्यालयको सभाहलमा बुधबार (आज) जिल्ला प्रशासन कार्यालयले संयोजन गरेको सो दिवसमा मााइती नेपाल, क्यारितास नेपाल, एबीसी नेपाल, शक्ति समूह, आफन्त नेपाल, विश्व सेवा बिस्तार, साहसी महिला नेपाल, साना हात नेपाल र मानवाधिकारका लागि एकल महिला समूहलाई सम्मान गरिएको हो ।

कार्यक्रमको प्रमुख अतिथि कोशी प्रदेश सभा सदस्य सबिना बजगाई, झापाका सहायक प्रमुख जिल्ला अधिकारी रुद्र न्यौपाने, इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रमुख डीएसपी दिपक भारती, माइती नेपालका कोशी संयोजक गोविन्द घिमिरे, युवा नेतृ उमा शिवाकोटी, मेची उद्योग वाणिज्य संघकी उपाध्यक्ष निर्मला भण्डारी, क्यारितास नेपालका कार्यक्रम संयोजक हिमालय अधिकारीलगायतले मन्तब्य राखेका थिए ।

सहायक प्रमुख जिल्ला अधिकारी न्यौपानेको अध्यक्षता र मेची सामुदायिक संस्थाका अध्यक्ष मुक्ति पौडेलको उद्घोषणमा भएको सो कार्यक्रममा झापा जिल्ला प्रशासन कार्यालयको संयोजन र क्यारितास नेपालको आयोजनामा भएको हो ।

कार्यक्रममा कोभिड-१९ पछि आर्थिक मन्दीका कारण रोजगारीको अवसर खोज्दै बैदेशिक रोजगारीका क्रममा ८० प्रतिशत महिला तथा पुरुष बेचबिखनमा परेको सम्बन्धित सरोकारवाला निकायले आफ्नो परिपत्रमा उल्लेख गरेका छन् ।

त्यसैगरी, कार्यक्रममा डीएसपी भारतीले ७७ वटै जिल्लामा २४३ वटा प्रहरी सेवा कार्यालयबाट बेचिएका वा समस्यामा परेका पीडितलाई उद्दार गरेको जानकारी दिए ।

प्रहरीले आव २०७७/७८ आवमा २४४ जना, २०७८/७९ आवमा ४१०, २०७९/८० आवमा ५५१ जना र चालु आर्थिक वर्षको २०८०/८१ मा १३१ जनालाई उद्दार गरेको आफ्नो प्रतिपत्रमा उल्लेख गरेको छ ।

कार्यक्रममा मेचीनगरको परिवर्तन थिएटरले ‘सानुको सपना’ नामक कचहरी नाटक मञ्चन गरेको थियो ।

 

२०८० भाद्र २०, बुधबार प्रकाशित 1 Minute 419 Views