२०८१ मंसिर २५ मंगलवार

अन्तर क्याम्पस स्ववियु टि-१० क्रिकेट : गोमेन्द्र र कनकाई क्वाटरफाइनलमा

विश्वास दाहाल, काँकरभिट्टा, भदौं १९ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) काँकरभिट्टा बहुमुखी क्याम्पसको आयोजनामा भइरहेको अन्तर क्याम्पस टि-१० क्रिकेट प्रतियोगिता अन्तरगतको आज (मंगलबार) को पहिलो खेलमा गोमेन्द्र बहुमुखी क्याम्पस बहुमुखीले कोहेड क्याम्पसलाई ६ विकेट तथा कनकाई बिर्तामोड क्याम्पसले हिमालयन बहुमुखी क्याम्पसलाई ७ विकेटले पराजित गरी क्वाटरफाइनलमा आ-आफनो स्थान पक्का गरेको छ ।

मंगलबार पहिलो खेल अन्तरगत कोहेडले टस हारेर पहिलो ब्याटिङ्ग गर्दै निर्धारित १० ओभरको खेलमा सबै विकेट गुमाउँदै ६२ रनको योगफल तयार पारेको थियो । कोहेड क्याम्पसका लागि राजु शाहले १८ रनबाहेक अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् । बलिंगतर्फ गोमेन्द्र क्याम्पसका सौगात बरालले ३, बिकास साम्पाले २, पर्वत बानले २, प्रकार कट्वालले १ विकेट लिएका थिए ।

६३ रनको लक्ष्य लिई मैदानमा ओर्लेको गोमेन्द्र बहुमुखी क्याम्पसले ८ ओभरमा ४ विकेटको क्षतिमा लक्ष्य भेट्याएको थियो । गोमेन्द्रका लागि देवन क्षेत्रीले २४ रनको योगदान दिएका थिए । बलिंगतर्फ कोहेड बहुुमुखी क्याम्पसका लागि सन्दिप कट्वालले १, अभिकेष तामाङ्गले १, सागर शाहले १, कौशल घिमिरेले १ विकेट लिएका थिए ।

खेलको प्लेयर अफ द म्याच गोमेन्द्र बहुमुखी क्याम्पसका बिबस साम्सोहा घोषित भएका थिए ।

मंगलबार नै सम्पन्न दोश्रो खेल अन्तरगत हिमालयनले टस हारेर पहिलो ब्याटिङ्ग गर्दै निर्धारित १० ओभरको खेलमा ९ विकेट गुमाउँदै ४६ रनको योगफल तयार पारेको थियो । हिमालयन क्याम्पसका लागि नारायण घिमिरेले ८, अन्सु लिम्बुले ७, देव थापाले ७ रनको योगदान दिएका थिए । बलिंगतर्फ कनकाई बहुमुखी क्याम्पसका भिम सिटौलाले २, अभि थापाले २, मिलन अधिकारीले २, सन्तोष कार्की १, बिपिन कार्की ले १ विकेट लिएका थिए ।

४७ रनको लक्ष्य लिई मैदानमा ओर्लेको कनकाई बहुमुखी क्याम्पसले ३ ओभर १ बलमा ३ विकेटको क्षतिमा लक्ष्य भेट्याएको थियो ।

कनकाईका लागि प्रज्वल मैनालीले २९ रन, भिम सिटौलाले १६ रनको योगदान दिएका थिए । बलिंगतर्फ हिमालयन बहुुमुखी क्याम्पसका लागि बिराज राजवंशीले २, अभिषेक दाहाल १ वकेट लिएका थिए ।

खेलको प्लेयर अफ द म्याच कनकाई बहुमुखी क्याम्पसका भिम सिटौला घोषित भएका थिए ।

प्रतियोगिता अन्तरगत बिहिबार पहिलो क्वाटरफाइनल खेल मेची बहुमुखी क्याम्पस र कनकाई क्याम्पस सुरुङ्गा बिच हुने र बिहिबार नै दोश्रो क्वाटरफाइनल खेल काँकरभिट्टा बहुमुखी क्याम्पस (बी) र दमक बहुमुखी बिच हुने आयोजकले जानकारी दिएको छ ।

भदौ १५ गतेबाट शुरु भएको प्रतियोगिता भदौ २६ सम्म चल्नेछ । प्रतियोगितामा जिल्लाभरका १६ क्याम्पसको सहभागिता रहेको छ भने प्रथम र दोस्रो पुरस्कार स्वरुप क्रमशः ५० हजार र ३० हजार नगदसँगै ट्रफी, मेडल र प्रमाण पत्रको व्यवस्था रहेको आयोजकले जनाएको छ ।

२०८० भाद्र १९, मंगलवार प्रकाशित 1 Minute 434 Views

ताजा समाचार