२०८१ कार्तिक ३० शुक्रबार

कोसी सरकारविरुद्धको रिट ‘हेर्दाहेर्दै’ मा

बिराटनगर । कोसी सरकारविरुद्ध परेको रिट निवेदनमाथिको सुनुवाइ ‘हेर्दाहेर्दै’ मा राखिएको छ। न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार चुडाल र नहकुल सुवेदी सम्मिलित पूर्ण इजलासले रिटमाथि बहस बाँकी रहेकाले ‘हेर्दाहेर्दै’मा राखेको सर्वोच्च प्रशासनले जनाएको छ।

आजदेखि रिट निवेदनमाथि पूर्ण इजलासमा सुनुवाइ सुरू भएको हो।  आइतबार कोसी प्रदेशका मुख्यमन्त्री उद्धव थापाविरुद्ध परेको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश मल्ल र सुष्मालता माथेको संयुक्त इजलासले रिट पूर्ण इजलासमा पठाउने आदेश दिएको थियो। सोही आदेशबमोजिम रिट सुनुवाइका लागि सर्वोच्चले  तीन सदस्यीय पूर्ण इजलास गठन गरेको हो।

कोसीमा मुख्यमन्त्री उद्धव थापाले पाएको विश्वासको मत असंवैधानिक भएको दाबी गर्दै एमाले कोसी प्रदेश संसदीय दलका नेता एवं पूर्वमुख्यन्त्री हिक्मतकुमार कार्कीले रिट दायर गरेका थिए।

थापाले पाएको विश्वासको मत असंवैधानिक भएको दावी गर्दै एमालेका नेता कार्की रिट लिएर सर्वोच्च पुगेका थिए। रिटमा प्रदेश प्रमुख पर्शुराम खापुङ, मुख्यमन्त्री थापा, सभाध्यक्ष भएर सभामुखको भूमिका निर्वाह गरेका अध्यक्ष मण्डलका सदस्य इस्राइल मन्सुरी,अध्यक्ष मण्डलकी सदस्य एवं प्रदेशसभा सदस्य गीता तिमल्सिना र कोसी प्रदेशसभा सचिवालयलाई विपक्षी बनाइएको छ।

प्रदेशसभा बैठक आह्वान गरेर बिरामी परेको भन्दै उपसभामुख सिर्जना दनुवार काठमाडौं लागेपछि मन्सुरीले सभाको अध्यक्षता गरेका थिए। मुख्यमन्त्रीको विश्वासको मतसम्बन्धी प्रस्तावमा मत विभाजनपछि दिएको मत सच्याउने समयमा सभाध्यक्षको आसनमा नेकपा (माओवादी केन्द्र)की प्रदेशसभा सदस्य गीता तिम्सिनालाई बोलाउँदै मन्सुरी मतदान प्रक्रियामा सहभागी भएका हुन्। उनकै मतका आधारमा मुख्यमन्त्री थापाले ४७ मत पाए। विपक्षमा ३० मत परेको थियो।

२०८० भाद्र १८, सोमबार प्रकाशित 1 Minute 145 Views

ताजा समाचार