‘जंगली च्याउ खाँदा यति जनाको मृत्यु, यति जना बिरामी ।’ खासगरी वर्षायामको समयमा यस्ता समाचारका हेडलाइनहरु निकै आउने गर्छन् । बर्सेनि ४० देखि ५० जनाले जंगली विषालु च्याउ खाएर अकालमै ज्यान गुमाउँछन् । बाध्यता हो या हेलचेक्र्याइँ बारम्बार छिमेकमा, वल्लो गाउँ पल्लो गाउँ या आफ्नै जिल्ला वा पल्लो जिल्लामा जंगली च्याउ खाएर मान्छे मरेको समाचार सुनिरहँदा पनि च्याउ बटुल्ने र खान छोड्ने क्रम घट्नुभन्दा अरु बढ्दो छ ।
कोही पढेलेखेका मान्छेले नचिनेका च्याउ खान हुँदैन, नखानुहोस् भन्दा ‘तिम्रो किताबी ज्ञान घाममा सुकाइदेऊ, च्याउ खाएरै बुढो भइयो ? भन्ने जवाफ यो पंक्तिकार आफैंले धेरै पटक सुनेको छ । झण्डै दुई महिना हुन लागेछ विषालु च्याउको बारेमा सचेतना जगाउँदै सल्यान-दाङ आसपास घुम्न थालेको । यो बीचमा जंगली च्याउ खानेहरुको दृढता देख्दा निकै अचम्म लागेको छ ।
यतिसम्म कि आज वल्लो घरमा च्याउ खाएर कोही मरेका छन्, भोलिपल्ट बिहानै पल्लो घरका मान्छे च्याउ खोज्न निस्केका छन् । कतिपय ठाउँको बाध्यता पनि होला, खान नपुगेर खान नपाएर मर्नु भन्दा खाएरै मर्नु बेस भन्ने पनि । जे भए पनि यावत् घटना हेर्दा, सुन्दा जीवनलाई हलका रुपमा लिएको देखिन्छ । कहींकतै त १० महिनाका दूधे बालककै आमालाई पनि जंगली विषालु च्याउले ज्यान लगेको देखिन्छ । आफू जाँदा पनि दूधे बालकका लागि अक्षम्य अपराध या पाप गरेर गइएन र ?
हुन त च्याउमा प्रोटिन, भिटामिन र विभिन्न खनिज पदार्थ पाइन्छ र खाँदा स्वादिलो पनि हुन्छ । तर कतिपय च्याउ शत्रु साबित हुन पुग्छन् । नेपालमा हालसम्म पत्ता लागेका झण्डै १३ सय प्रजातिका च्याउमध्ये १०० प्रजाति विषालु छन् । तिनै १०० र अरु १२ सय च्याउ छुट्याउन नसक्दा नै अकाल मृत्युको सिकार बनेका हुन्छन् मानिस ।
कसरी चिन्ने विषालु च्याउ ?
बाहिरी आवरण हेरेर मात्र च्याउ विषालु हो कि होइन भन्ने छुट्याउन सकिंदैन । तैपनि जंगलमा उम्रिएको कुनै च्याउबाट नमिठो गन्ध आएको छ र त्यसमा झुसको मात्रा अत्यधिक छ भने त्यो च्याउ विषालु हुन सक्छ । च्याउबाट तीतो स्वादको गन्ध आएको छ र च्याउ रङ्गीचङ्गी छ भने पनि त्यो विषालु हुन सक्छ ।
त्यस्तै च्याउलाई भाँच्दा त्यसबाट दूध वा चोप निस्कन्छ र हातले छुँदा त्यसको रङ फेरिन्छ (धेरै निलो हुन्छ, स्थानीयका अनुसार) भने पनि त्यस्तो च्याउ विषालु हुन सक्ने मानिन्छ । धेरै विषालु च्याउ झट्ट हेर्दा आकर्षक र सफा देखिन्छन् । सामान्यतया खान योग्य च्याउको आयु छोटो हुने र केही दिनमै ओइलाउँछ । विषालु च्याउ भने धेरै दिनसम्म उस्तै रहिरहन सक्छ ।
कतिपय विषालु च्याउ खाँदा मान्छे तत्कालै मर्न पनि सक्ने हुँदा जथाभावी च्याउ खानु हुँदैन । कतिपय च्याउ खाएको लामो समयपछि मात्र शरीरमा असर देखिन थाल्छ । च्याउले खासगरी कलेजोलाई असर गर्छ र पित्तमा पुगेर त्यसले नयाँ पदार्थ बनाउँछ र त्यसले मिर्गौलाको काम गर्ने क्षमता पनि कमजोर बनाउँछ । जसले गर्दा कलेजो र मिर्गौला फेल भएर मान्छे मर्न सक्छ ।
विषालु च्याउको असर बालबालिका र वृद्धवृद्धामा अधिक हुन्छ । विभिन्न च्याउ एकै ठाउँमा राखेर पकाउनु हुँदैन । र, च्याउ खाएको बेला माछा-मासु पनि नखाएको राम्रो मानिन्छ । अर्को कुरा भण्डारण गर्न जानिएन भने खानयोग्य च्याउ पनि विषाक्त हुन सक्छ । कुनै विषालु च्याउले भने खाएको आठदेखि २४ घण्टामा पनि असर देखाउँछ ।
समाजमा विषालु च्याउ चिन्नेबारे विभिन्न गलत धारणा व्याप्त रहेकाले तिनबाट जोगिनुपर्ने हुन्छ । समाजमा सबैभन्दा प्रचलित भनाइ छ, ‘जंगली च्याउ चिन्न पकाइएको भाँडोमा चाँदी डुबाइ हेर्नु ।’ तर सबै विषालु च्याउले चाँदीलाई कालो नबनाउने हुँदा त्यो विधिलाई भरपर्दो मान्न सकिंदैन । चाँदीले च्याउमा हुने धेरैमध्ये एउटा मात्र विषालु तत्त्वको मात्र जाँच हुन्छ, जबकि च्याउमा अनेकथरी विष पाइन्छ ।
त्यसैगरी खरानी, सिस्नु र टिमुरले विष मार्छ भनेर ती हालेर नडराई च्याउ खानु पनि अर्को मूर्खता हुन सक्छ । त्यस्तै अन्य भ्रमहरुमा विषालु च्याउलाई चामलसँग उमाल्दा रातो हुन्छ, विषालु च्याउ पकाउँदा, अचार बनाउँदा विष हराउँछ, विषालु च्याउका चुच्चा छतरी हुन्छ, खान हुने च्याउका चेप्टा हुन्छन् आदि । कुनै च्याउको विषालु तत्त्व पकाउँदा नष्ट हुन्छ भने कुनैको हुँदैन । सेतो दूध आउने च्याउ प्रायः विषालु हुन्छन् । यस विषयमा च्याउ चिन्ने मान्छेको सल्लाह भने अनुशरण गर्नुपर्छ । आफैं जान्ने सुन्ने बन्नु हुँदैन ।
विषालु च्याउ खाँदा देखिने लक्षण
विषालु च्याउ खाएपछि शरीरमा विभिन्न लक्षण देखिन्छन् । जस्तै, आँखाबाट आँसु आउने, मुखबाट र्याल निस्कने, जीउ बाउँडिने, जिब्रो सुन्निने, बान्ता आउन खोज्ने वा आउने, पखाला चल्ने, घाँटीमा खसखस हुने र सुन्निने, पिसाब थोरै र कालो आउने, बेहोस हुने ।
त्यसैले विषालु च्याउ खाएर समस्या हुनासाथ अस्पताल लैजानुपर्छ । सम्भव भएमा विषालु जंगली च्याउ खाएको थाहा हुनेबित्तिकै बान्ता गराउने र बिरामीलाई जतिसक्दो छिटो स्वास्थ केन्द्र लैजानु नै उत्तम विकल्प हो । त्यो भन्दा राम्रो नचिनेको च्याउ खानै हुँदैन ।
अबको प्रयास
यसका लागि सरकार (वनस्पति विभाग र सम्बन्धित अन्य निकाय)ले यो विषयमा थप अनुसन्धान गर्दै आम सञ्चारका माध्यमबाट नागरिकमा व्यापक सचेतना फैलाउन जरुरी छ । विभिन्न निकायबाट च्याउको व्यावसायिक खेतीका बारेमा दिइने तालिमसँगै च्याउको विषाक्तताको बारेमा पनि बुझाउनु अति आवश्यक छ । यसबारेमा सबैले बेलैमा सोचेर विषालु च्याउ सेवनका कारण हुने मृत्यु र बिरामी दर घटाउनुपर्छ । जाने गए बाँचेका मान्छेलाई पिरलो भने झैं अनाहकमा ज्यान फालेर आफ्नो परिवारको समेत बिचल्ली पर्ने काम कदापि नगरौं । यो सन्देश गाउँगाउँसम्म पुर्याउन धेरै ढिला भइसक्यो ।
(डा. पाठक वनस्पति विभाग अन्तर्गतको वनस्पति अनुसन्धान केन्द्र सल्यानका प्रमुख हुन् ।)