२०८० आश्विन १५ सोमबार

बालेनकी श्रीमती चढेको गाडी ‘एक मिनेटमात्रै’ रोकिएको थियो…

काठमाडौं । शनिबार बेलुका काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सामाजिक सञ्जालमा एउटा स्टाटस लेखे– आजको लागि केही भएन, भोलिबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने सिंहदरबारमा आगो लगाइदिन्छु । याद राख चोर सरकार ।”

बालेनले राखेको उक्त स्टाटस भाइरल नै भयो । सरकारप्रति आक्रोशित युवा जमातले उनलाई समर्थन गरेको देखिएको छ भने धेरैले बालेनलाई गलत स्टाटस भन्दै चर्को आलोचना पनि गरेका छन् ।

समाचार तयार पार्दासम्म करिब सवा तीन लाखले प्रतिक्रिया जनाएका छन् भने करिब एक लाख जनाले कमेन्ट गरेका छन् । बालेनले उक्त स्टाटस किन राखे भन्ने चौतर्फी चासो भइरहेका बेला शनिबार दिउसोको घटनासँग सम्बन्धित रहेको स्रोतले जानकारी दिएको छ ।

बालेनले उक्त स्टाटस शनिबार बेलुका ९ बजेर २१ मिनेटमा राखेका थिए । बिदाको दिनमा ट्राफिक प्रहरीले सरकारी गाडी सञ्चालनमा कडाइ गरेको छ । तर शनिबार दिउँसो काठमाडौंको कोटेश्वरमा प्रहरीले रोकेको सरकारी गाडीमा बालेनकी श्रीमती रहेको र उक्त गाडी कहाँबाट आएको भनेर सामान्य सोधपुछमात्रै गरेको स्रोत बताउँछ ।

उपत्यका ट्राफिक प्रमुख डीआईजी पोषराज पोखरेलले पनि कोटेश्वरमा काठमाडौं महानगरपालिकाको सरकारी गाडी रोकिएको पुष्टि गर्दै बिदाको दिनमा चलाउन पास चाहिन्छ भनेर चालकलाई भनेको जानकारी दिए ।

चालकले सोधपुछका क्रममा गाडीमा म्याडम हुनुहुन्छ भनेर जानकारी गराएको प्रहरीले जानकारी दिएको छ । त्यसपछि आक्रोशित बालेनले सिंहदरबारमा आगो लगाइदिने धम्की दिएको स्रोत बताउँछ ।

तर बालेनको सचिवालयले भने यस विषयमा कुनै जानकारी नभएको बताएको छ ।

“शनिबारको दिनमा पास लिएकामात्रै सरकारी गाडी चलाउन पाइन्छ,” चेकिङमा खटिएका एक प्रहरीले भने, “सामान्य सोधपुछमात्रै गरेका हौँ । कहाँबाट आउनुभएको हो भनेरमात्रै सोधेका हौँ, चालकले काठमाडौं महानगरपालिकाको गाडी हो म्याडम हुनुहुन्छ भनेपछि छाडिदिएका हौँ । जम्मा एक मिनेटजतिमात्रै रोकेका हौँ ।”

उनका अनुसार सामान्य भनाभनसमेत भएको थिएन । “भएको त्यत्ति हो,” स्रोतले भन्यो, “उहाँले बेलुका किन र के कारणले स्टाटस लेख्नुभयो थाहा भएन ।” बाह्रखरी

२०८० भाद्र १७, आईतवार प्रकाशित 0 Minutes 159 Views

ताजा समाचार