विश्वास दाहाल, काँकरभिट्टा, भदौं १६ । स्वतन्त्र विद्यार्थी युनियन काँकरभिट्टा बहुमुखी क्याम्पसको अयोजनामा भइरहेको अन्तर क्याम्पस टि-१० क्रिकेट प्रतियोगिता अन्र्तगतको दोश्रो दिनको पहिलो खेलमा कनकाई बहुमुखी क्याम्पसले त्रिदेव बहुमुखी क्याम्पसलाई १० विकेटले तथा काँकरभिट्टा बहुमुखी क्याम्पस बी ले शनिश्चरे क्याम्पसलाई १७ रनले पराजित गरी क्वाटरफाइनलमा आ-आफनो स्थान पक्का गरेको छ ।
दोश्रो दिनको पहिलो खेल अन्तरगत त्रिदेव क्याम्पसले टस हारेर पहिलो ब्याटिङ्ग गर्दै निर्धारित १० ओभरको खेलमा सबै विकेट गुमाउँदै ३० रनको योगफल तयार पारेका थियो । त्रिदेवका लागि लेखनाथ आचार्यले ११ रन बाहेक अन्य खेलाडीले दोहोरो अंक छुन सकेका थिएनन् । बलिंगतर्फ कनकाईका अंकित दासले ३, रोशन भट्टराईले २, पुजन थापाले २, बिशाल कार्की १, प्रकाश गौतमले १ विकेट लिएका थिए ।
३१ रनको सामान्य लक्ष्य लिई मैदानमा ओर्लेको कनकाई बहुमुखी क्याम्पसले ५ ओभर ३ बलमा बिना विकेटको क्षतिमा लक्ष्य भेट्टाएको थियो । योसँगै, कनकाई बहुमुखी क्याम्पसले त्रिदेव बहुमुखी क्याम्पसमाथि १० विकेटको बिशाल जित हात पारेको थियो ।
खेलको प्लेयर अफ द म्याच कनकाई बहुमुखी क्याम्पसका अंकित दास घोषित भएका थिए ।
शनिबार नै सम्पन्न दोश्रो खेलमा काँकरभिट्टा बहुमुखी क्याम्पस बी ले टस हारेर पहिलो ब्याटिंग गर्दै निर्धारित १० ओभरको खेलमा ९ विकेट गुमाई ७५ रनको योगफल तयार पारेका थियो । काँकरभिट्टा क्याम्पस बी का लागि रोहन बस्नेतले ३३, पवन क्षेत्रीले ९, शैलेश निरौलाले ७ रनको योगदान दिएका थिए । बलिंगतर्फ शनिश्चरे क्याम्पसका सुसन दाहालले ३, चन्द्र अधिकारी र दिपेन नेपालले समान २-२, निखिल लुईटेल १, सुजन पौडेले १ विकेट लिएका थिए ।
७६ रनको लक्ष्य लिई मैदानमा ओर्लेको शनिश्चरे क्याम्पसले १० ओभर ९ बिकेट गुमाई ५८ रन मात्र जोडन सकेका थियो । शनिश्चरेका लागि गगन चापागाई १८ र सञ्जय राजवंशीले १७ रन बाहेक अन्य खेलाडिले दोहोरो अंक छुन सकेका थिएनन् । बलिंगतर्फ शनिश्चरेलाई पराजित गर्न काँकरभिट्टा क्याम्पस बी का राजीव राजवंशीले ३, पवन क्षेत्रीले २, आयुष कार्कीले २, पवन प्रधानले १, दिपक ओलीले १ विकेट लिएका थिए ।
खेलको प्लेयर अफ द म्याच काँकरभिट्टा बहुमुखी क्याम्पस बी का रोहन बस्नेत घोषित भएका थिए ।
प्रतियोगिता अन्तरगत सोमबार पहिलो खेल काँकरभिट्टा बहुमुखी क्याम्पस ए र सितारमेश बहुमुखी क्याम्पस बिच हुने र सोमबार नै दोश्रो खेल गोमेन्द्र क्याम्पस र कोहेड क्याम्पस बिच हुने आयोजकले जानकारी दिएको छ ।
भदौ १५ गतेबाट शुरु भएको प्रतियोगिता भदौ २६ सम्म चल्नेछ । प्रतियोगितामा जिल्लाभरका १६ क्याम्पसको सहभागिता रहेको छ भने प्रथम र दोस्रो पुरस्कार स्वरुप क्रमशः ५० हजार र ३० हजार नगदसँगै ट्रफी, मेडल र प्रमाण पत्रको व्यवस्था रहेको आयोजकले जनाएको छ ।