२०८१ आश्विन २८ सोमबार

भद्रपुरमा झाडीमा फेला परेका शिशुलाई धर्मपुत्र बनाउन दुई दर्जन बढी तयार

भद्रपुर, १६ भदौ । भद्रपुरको झाडीमा भेटिएको नवजात शिशुको अभिभावकत्व लिन दुई दर्जनभन्दा बढी व्यक्तिहरू इच्छुक देखिएका छन् ।

डाक्टर, इन्जिनियर , प्राध्यापक , उद्योगी , व्यवसायीलगायत दुई दर्जनभन्दा बढीले ती शिशुलाई धर्मपुत्रको रुपमा ग्रहण गर्ने इच्छा देखाएको भद्रपुर नगरपालिका नगरप्रमुख गणेश पोखरेलले जानकारी दिनुभयो ।

चन्द्रगढी बजारबाट भद्रपुर–७ स्थित फूलबार टोलतर्फ आवतजावत गर्ने सडक किनारामा गत भदौ १२ गते राति अन्दाजी १२÷१४ दिनको शिशु फेला परेको थियो । हरियो रङ्गको च्यादरमा सुताइएको, सेतो रङ्गको पञ्जा, टोपी, भेष्ट र निधारमा कालो टिका लगाएको अवस्थामा फेला परेको शिशु (छोरा) फेला परेको हो ।

शिशुलाई उद्धार गरी प्रादेशिक अस्पताल भद्रपुरमा उपचारार्थं पठाइएको थियो भने हाल उक्त शिशु मेची प्रादेशिक अस्पतालको पोषण गृहमा रहेको भद्रपुर नगरपालिकाकी उपप्रमुख राधा कार्कीले जानकारी दिनुभयो । भद्रपुर नगरपालिकाले भदौ १५ गते एक सूचना प्रकाशित गरी उक्त नवजात शिशु हकदाबीका लागि आह्वानसमेत गरेको थियो । उक्त आह्वानसँगै धेरैले शिशुलाई धर्मपुत्र बनाउन इच्छा देखाएका हुन् ।

२०८० भाद्र १६, शनिबार प्रकाशित 0 Minutes 434 Views

ताजा समाचार