२०८० आश्विन १० बुधबार

कविशिरोमणि मावि ‘भद्रगोल’ बनेको भन्दै अभिभावक आन्दोलित

धुलाबारी, १५ भदौ । विद्यालयको शैक्षिक गुणस्तर सुधारको माग राख्दै अभिभावक तथा सरोकारवालाहरुले मेचीनगर-९ स्थित कविशिरोमणि माविमा ज्ञापन पत्र बुझाएका छन् । बुँदागत रुपमा १० वटा माग राख्दै विद्यालय पुगेका अविभावक तथा सरोकारवालाहरुले विगतमा शैक्षिक गुणस्तरकै कारण अब्बल रुपमा स्थापित विद्यालय अहिले आएर राजनीति तथा चरम गुटबन्दीका कारण भद्रगोल बनेको दाबी गर्दै आज (शुक्रबार) ज्ञापन पत्र बुझाएका हुन् ।
‘विगतमा यस विद्यालय जिल्लाकै उत्कृष्ट विद्यालयको रुपमा दर्ज भएको सर्वविदितै छ । तर, केही बर्ष यता विद्यालयको प्रशासनिक कमजोरीका कारण विद्यालय भद्रगोल अवस्थामा पुगेको छ,’ ज्ञापन पत्रमा भनिएको छ । ज्ञापन पत्रमार्फत वर्तमान प्रधानाध्यापकले राजीनामा दिनुपर्ने माग समेत गरिएका छ । विद्यालयको प्रधानाध्यापक कृष्णप्रसाद अधिकारी छन् ।

अविभावकहरुले यदि उक्त मागहरु सुनुवाई नभए आगामी सशक्त कदम चाल्न बाध्य हुने चेतावनी समेत दिएका छन् । विद्यालय परिसर पुगेको अविभावकहरुको टोलीले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष संंगीता थापालाई उक्त ज्ञापन पत्र बुझाएका हुन् ।

ज्ञापन पत्र बुझ्दै विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष थापाले अविभावकहरुले राखेको मागप्रति सकारात्मक रुपमा लिएको बताइन् । साथै, उक्त मागप्रति गम्भीर भएर लाग्ने उनले बताइन् ।

अविभावकहरुले सार्वजनिक गरेको आन्दोलनका कार्यक्रमहरुमा विद्यालयका प्रधानाध्यापकका कारण शैक्षिक वातावराण धुमिल भएकाले राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने, आउँदो शैक्षिक सत्रबाट विद्यालय भर्ना अभियानलाई व्यापक बनाई विद्यार्थीको उत्कृष्ट शैक्षिक थलोको रुपमा विकास गर्नुपर्ने, विद्यालयको नियमित अनुगम गरिनुपर्ने, शिक्षक कर्मचारीबीचमा देखिएको गुटबन्दी अन्त्य गरिनुपर्ने, साप्ताहिक टेष्ट अनिवार्य गरिनुपर्ने लगायत छन् ।

विद्यालय प्रशासनको कमजोरीका कारण शिक्षकहरुबीच गुट उपगुट हुँदा शैक्षिक गुणस्तर कमजोर देखिएकाले सुधारका निम्त्ति सरोकारवलाहरुले प्रयास गरेको सञ्चारकर्मी समेत रहेका पूर्व विद्यार्थी झुलन रेग्मीले बताए । ध्यानाकर्षण पत्र बुझाउन स्थानीय चन्दादाता कपिल चापागाईं, पूर्व विद्यार्थी भूपेन्द्र पाठक, इन्द्र ढकाललगायतको टोली विद्यालय पुगेको हो । अभिभावक अविभावकहरुले ज्ञापन पत्र बुझाएसँगै विद्यालय व्यवस्थापन समितिको वैठक आजै बसिरहेको छ ।

२०८० भाद्र १५, शुक्रबार प्रकाशित 1 Minute 127 Views

ताजा समाचार