मेचीनगर, भदौ १५ । आद्य महालक्ष्मी रथयात्रा २०८० शुक्रबार नेपाल आइपुगेको छ । भारतको हरियाणाको अग्रोहा धामबाट केही समयअघि निस्किएको रथयात्रा भारत भुटानका विभिन्न स्थान हुँदै शुक्र बिहान पुर्वीद्वारबाट नेपाल प्रवेश गरेको हो । रथयात्रालाई प्रतिनिधिसभाका उपसभामुख इन्दीरा रानामगरले काँकरभिट्टामा स्वागत गरेको थिइन् ।
अग्रवाल समाज मेचीनगरले आयोजना गरेको रथयात्रालाई स्वागत तथा महाआरती एवम पुजा उदघाटन समारोहलाई सम्बोधन गर्दै उपसभामुख रानामगरले प्रत्येक महिला महालक्ष्मीका स्वरुप भएको बताइन् । ‘हेर्ने दृष्टीकोण सकारात्मक हुनु पर्छ,’ उनले भनिन्, ‘हरेक महिला महालक्ष्मीका रुपमा पुजनिय हुन्छन ।’ ‘मानविय सेवाका लागि पैसा होइन भावना चाहिन्छ,’ उपसभामुखले भने, ‘आफ्नो ज्ञान र विवेकलाई सहि ठाउँमा लगाउन सके कुसैलाई पनि अभाव हुँदैन ।’

कार्यक्रममा प्रदेश सांसद गोपाल तामाङ, संविधान सभा सदस्य रविन कोइराला, मेचीनगर उपप्रमुख मिना उप्रेती, पत्रकार चन्द्र भण्डारी, सुरेशकुमार बंशललगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमका बिच अखिल भारतीय अग्रवाल समाजका बरिष्ठ उपाध्यक्ष सुरेश अग्रवालले उपसभामुखलाई विषेश सम्मान गरेका थिए ।
रथयात्राका मेचीनगर संयोजक विजय डालमियाले सभापतित्व तथा स्वागत मन्तव्य राखेको कार्यक्रममा मारवाडी समुदायले विभिन्न नृत्य प्रस्तुती गरेको थियो ।
पञ्चमुखी हनुमान मन्दीर परिषरमा आयोजित रथयात्रा उदघाटन कार्यक्रम अघि नेपाल भारतको सिमाना नयाँ मेची पुलमा पुगेर नेपाली पक्षले रथयात्रालाई नेपालमा स्वागत गरेको थियो ।
रथयात्रा शुक्रबार बिर्तामोडमा पुगेर रात्री विश्राम गर्ने मेची संयोजक वेदप्रकाश अग्रवालले जानकारी दिए । भोली विर्तामोडबाट विभिन्न स्थानमा पुजा गर्दै धरानमा पुगेर बस्ने र भदौ १७ गते विराटनगर हुँदै १८ गते भारततर्फ लाग्ने अग्रवालले जानकारी दिए ।अग्रवाल समुदायको पितृ भूमि अग्रोहा धामका बारेमा अग्रवाल समुदायबिच जानकारी र जनचेतना जगाउनेसंगै कुलदेवी आद्य महालक्ष्मीको आर्शिवाद लिने उद्देश्यले विभिन्न देशमा रहेका अग्रवाल समुदाय सहित सबै सनातन हिन्दु धर्मावलम्बीहरु बिच रथयात्राको आयोजना गरिएको रथयात्राका नेपाल संयोजक विनोद अग्रवालले बताए ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



