मेचीनगर । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) काँकरभिट्टा बहुमुखी क्याम्पसको आयोजनामा अन्तर क्याम्पस स्तरीय टि-१० क्रिकेट प्रतियोगिता आजबाट शुरु भएको छ । मेचीनगर ६ स्थित तुर्केनी खेल मैदानमा आज उद्घाटन कार्यक्रमका प्रमुख अतिथी मेचीनगर नगरपालिकाका निवर्तमान नगरप्रमुख विमल आचार्यले उद्घाटन गरेका थिए ।
प्रतियोगिताको उद्घाटन गर्दै उनले विद्यार्थीहरुको नेतृत्वदायी संस्था स्वतन्त्र विद्यार्थी युनियनले खेलकुदलाई प्राथमिकतामा राखेर यस्तो प्रतियोगिता आयोजना गर्नु प्रशंसनिय रहेको बताए । ‘विद्यार्थी भाइबहिनीहरुलाई धेरै धेरै धन्यवादसहित अझ उन्नतीको कामना छ’, कार्यक्रममा बोल्दै उनले भने ।
क्याम्पसमा अध्यनरत गरिब तथा जेहेनदार विद्यार्थीहरुलाई सहयोग गर्न छात्रवृत्ति (स्ववियु) कोष स्थापना गर्ने उद्देश्यका साथ स्ववियु काँकरभिट्टाले प्रतियोगिताको आयोजना गरेको हो । उद्घाटन कार्यक्रममा झापा जिल्ला फुटबल संघका महासचिव शेरबहादुर बस्नेत, प्रादेशिक क्रिकेट संघ कोशी प्रदेश सदस्य सुरेश गुरागाई, झापा जिल्ला क्रिकेट संघका कोषाध्यक्ष चोलानाथ दाहाल, काँक्रभिट्टा बहुमुखी क्याम्पस संचालक समिति सदस्य हरी तिम्सना, भगिरथ भण्डारी, पूर्व राष्ट्रिय खेलाडी सनी पुन, राष्ट्रिय खेलाडी अंकित सुवेदी, क्याम्पसका अन्य प्रतिनिधि, विद्यार्थी संगठनका विभिन्न तह लगायतको उपस्थिती रहेको थियो ।
प्रतियोगिता अन्तर्गत आज दुई खेल सम्पन्न भएका छन् । जसमा मेची क्याम्पस भद्रपुर र दमक बहुमुखी क्याम्पस दमक विजयी भए । मेचीले निधि क्याम्पस विर्तामोडलाई पराजित गर्यो भने दमकले वाल्मिकी लिनकोन विर्तामोडलाई हराएको झापा जिल्ला क्रिकेट संघका सदस्यसमेत रहेका स्ववियु सदस्य योगेन्द्र खड्का (बरदान)ले जानकारी दिए ।
खेल शुरु हुनु अघि तारापुञ्ज स्काउट दलका विद्यार्थीहरुले मैदानमा मार्चपास पनि प्रस्तुत गरेका थिए । आजबाट शुरु भएको प्रतियोगिता भदौ २६ सम्म चल्नेछ । प्रतियोगितामा जिल्लाभरका १६ क्याम्पसको सहभागिता रहेको छ भने प्रथम र दोस्रो पुरस्कार स्वरुप क्रमशः ५० हजार र ३० हजार नगदसँगै ट्रफी, मेडल र प्रमाण पत्रको व्यवस्था रहेको आयोजकले जनाएको छ ।