
इनरुवा । सुनसरी क्षेत्र नं ४(२)का पूर्वप्रदेश सांसद हाजी ताहिर मियाँ अन्सारीको निधन भएको छ । नेपाली कांग्रेसबाट २०७४ सालको निर्वाचनमा सुनसरी क्षेत्र नं ४९२० बाट कोशी प्रदेशसभामा उनी विजयी भएका थिए ।
सुनसरी क्षेत्र नं ५ का पूर्व क्षेत्रीय सभापति र भुटाहा गाविसका अध्यक्षसमेत रहनुेका अन्सारीको आफ्नै निवास हरिनगर गाउँपालिका–२ भुटाहामा ८० वर्षको उमेरमा निधन भएको हो । विगत केही वर्षदेखि मुटुको रोगबाट पीडित उनी नेपाली कांग्रेस सुनसरी दक्षिण क्षेत्र भुटाहाका एक अग्रज नेता तथा पार्टीको अभिभावक थिए ।

विसं २००१ मा जन्मिएका अन्सारी तत्कालीन सुनसरी क्षेत्र नं ५ मा क्षेत्रीय सभापतिसमेत भएका थिए ।
उनी कांग्रेसबाट २०४८ र २०५१ सालको आम निर्वाचनमा तत्कालीन भुटाहा गाविसबाट दुई पटक अध्यक्षमा विजयी हुनाका साथै नेपालको लोकतान्त्रिक आन्दोलन र पार्टी सङ्गठनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको कांग्रेसले जनाएको छ ।
अन्सारीको निधनमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य राजीव कोइराला, जिल्ला सभापति केदार भण्डारी, सुनसरी क्षेत्र नं ४ का सभापति ऐयुव अंसारी, हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अंसारीलगायतले शोक व्यक्त गरेका थिए । उनको निधनमा हरिनगर र भोक्राहा नरसिंह गाउँपालिकाले बिदा दिएको छ । –रासस