२०८१ भाद्र २३ आईतवार

मेचीनगरमा तीन खानेपानी आयोजनाबाट ६ हजार घरपरिवार लाभान्वित हुने

मेचीनगर । मेचीनगर नगरपालिका क्षेत्रभित्र बन्दै गरेका तीन खानेपानी आयोजनाबाट ६ हजार घरपरिवार लाभान्वित बन्ने भएका छन्।   मेचीनगर सहलगानी खानेपानी तथा सरसफाइ आयोजना अन्तर्गत चारआली, धुलाबारी र भृकुटीमा निर्माणाधीन आयोजनाबाट करिब छ हजार घरपरिवार लाभान्वित हुने आयोजनाका अध्यक्ष राजकुमार पोखरेलले जानकारी दिए। उनले ती आयोजनाको निर्माण ८५ प्रतिशत सकिएको बताए ।

नेपाल सरकार खानेपानी मन्त्रालयको आर्थिक सहयोगमा निर्माणधीन आयोजनाको कुल लागत १६ करोड ६६ लाख ७३ हजार ८१४ छ। निर्माणको जिम्मा सिएवी, जिआरडी जेभी काठमाडौँले पाएको छ। स्थानीय उपभोक्ताले जनश्रमदानबापतको रकम दुई करोड आठ लाख ३४ हजार दुई सय २६ बेहोर्ने सर्तमा २०७८ असार २९ गते सम्झौता भएको थियो। आयोजनाको २०८० पुस २९ सम्म निर्माण सम्पन्न हुने सम्झौतामा उल्लेख छ।

अध्यक्ष पोखरेलले धुलाबारीमा दुई, भृकुटीमा दुई र चारआलीमा एउटा डिप बोरिङमार्फत पानी निकालेर दुई वटा फिल्टर प्लान्ट हुँदै चार लाख ५० हजार लिटर क्षमताको ओभरहेड ट्यांकीमा जम्मा गरी सप्लाई गरिने बताए।

उनका अनुसार चारआलीमा भने दुई लाख २५ हजार क्षमताको ओभरहेड ट्यांकी छ। जसबाट एक हजार बढी घर परिवार लाभान्वित हुनेछन्। मेचीनगर-२ का बासिन्दा वर्षौदेखि इनार, कलको पानी उपभोग गर्दै आएका थिए।

निर्माण व्यवसायी देवेन्द्रप्रसाद चौगालाईंले करिब ९५ प्रतिशत निर्माण पूरा गरेको दाबी गरे। उनका अनुसार एक सय ५० मिटर गहिराइबाट पानी निकालिएको छ। उनले तोकिएकै समय अगाडि नै आयोजना सम्पन्न गरी हस्तान्तरण गरिने बताए।

उनले हाल ओभरहेड ट्यांकी, डीप बोरिङ लगायतका सबै निर्माण सकिएको र केही स्थानमा पाइप लाइन विस्तार मात्रै बाँकी रहेको बताए। रासस

२०८० भाद्र १०, आईतवार प्रकाशित 1 Minute 187 Views

ताजा समाचार