२०८१ असार १ शुक्रबार

मृगौला रोगबाट पीडित प्रदीपलाई बचाइदिन परिवारजनको अपिल

झापा । झापाको अर्जुनधारा नगरपालिका- ५ स्थित बिहीबारे बजारका २५ वर्षीय युवा प्रदीप श्रेष्ठको दुवै मिर्गौला खराब भएपछि आर्थिक अभावका कारण उपचारमा समस्या भएको छ ।

आर्थिक अवस्था एकदमै नाजुक भएका श्रेष्ठको दुवै मिर्गौला फेल भएपछि अहिले उपचारमा सहयोग गरिदिन श्रेष्ठ परिवारले सवैमा अपिल गरेको छ । लगभग गत १७ दिनअघि प्रेसर बढेपछि उनलाई सुनसरीस्थित धरानको बिपी कोइराला प्रतिष्ठान घोपा अस्पतालमा लगिएको थियो । उनको परीक्षणपछि दुवै मिर्गौला फेल भएको श्रेष्ठको उपचारमा संलग्न डाक्टरले बताएको उनका दाजु नारायण श्रेष्ठले बताए । श्रेष्ठको उपचारमा आर्थिक सहयोगका लागि स्थानीयहरूको भेलाले ‘प्रदीप श्रेष्ठ बचाउ’ अभियान अन्तरगत आर्थिक सङ्कलन समिति निर्माण गरेको छ । समितिको संयोजकमा प्रदीपका दाजु नारायण श्रेष्ठ, सचिवमा डम्बर थापा, कोषाध्यक्ष शिवकुमार श्रेष्ठ, सदस्यमा अर्जुन रेग्मी, टेकबहादुर गिरी, गीता श्रेष्ठ र टेकबहादुर बस्नेत रहेका छन् । त्यसैगरी उक्त समितिलाई सल्लाह सुझावका लागि ७ सदस्यीय सल्लाहकार समिति समेत निर्माण गरिएको छ । हाल प्रदीप काठमाडौँको भक्तपुरस्थित शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा उपचाररत रहेका छन् । उनलाई मिर्गौला प्रत्यारोपण गर्न उनकै परिवारभित्रका आफ्नै दाजु विष्णु श्रेष्ठले दिने भएका छन् । तर, आर्थिक अवस्था कमजोर भएका कारण प्रत्यारोपणमा लाग्ने खर्चका लागि उनका बुवा मणिकुमार तथा आमा इन्दिराकुमारी श्रेष्ठले सबैलाई सहयोगको लागि अपिल गरेका छन् । मिर्गौला प्रत्यारोपणका लागि करिब १० देखि १२ लाख रुपैयाँसम्म खर्च लाग्ने उपचारमा संलग्न डाक्टरले बताएको उनका दाजु नारायणले जानकारी दिएका छन् ।

आर्थिक सहयोग जुटाउन निर्माण भएको समितिले शनिवार बिहीबारे बजारमा राखेको भेलामै ३७ हजार ६३० रुपैयाँ सङ्कलन गरेको समितिका सदस्य अर्जुन रेग्मीले जानकारी दिए । त्यस्तै प्रदीपको आर्थिक अवस्था देखेर नेवा: देय् दबु अर्जुन नगर समितिले आयोजना गरेको लाखे जात्राबाट सङ्कलन साथै संस्थाले थप गरेर उनको उपचारमा सहयोग गर्न १० हजार रुपैयाँ प्रदान गरेको समितिका कोषाध्यक्ष शिवकुमार श्रेष्ठले बताए । प्रदीपको उपचारमा सहयोग गर्ने देश तथा विदेशमा रहेका आफन्त, साथीभाइ, विभिन्न सामाजिक सङ्घ/संस्था, स्थानीय सरकार समेतसँग सवैमा उनको परिवारले आर्थिक सहयोगका लागि आग्रह गरेको छ । उनको उपचारमा आर्थिक सहयोग गर्ने इच्छुकले अर्जुनधारा–५ स्थित लक्ष्मीपुर चोकमा रहेको प्राइम कर्मसियल बैङ्कमा उनका दाजु नारायण श्रेष्ठको नाममा रहेको खाता नम्बर १०६००४५६ पिडि(एवम्) मा सहयोग गर्न सकिनेछ भने मोबाइल नम्बर ९८१४९९८९४१ मा सम्पर्क गरेसम्म सहयोग गर्न सकिनेछ ।

२०८० भाद्र १०, आईतवार प्रकाशित 1 Minute 68 Views

ताजा समाचार