झापा । गत साउन १९ गते अशान्त बनेको झापाको जिल्ला कारागारमा आम कैदीबन्दीहरूले लिखित माफी मागेका छन् । उनीहरूले कारागार विभाग र प्रमुख जिल्ला अधिकारीलाई सम्बोधन गर्दै लिखित माफी मागेका हुन् । उक्त घटनाको कसुर सजाय बारे झस्किएका कैदीवन्दीले माफी पाउनुपर्ने अडान राखेका छन् ।
कारागार व्यवस्था ऐन २०७९ को दफा ४९ ले कारागारभित्र हुलदङ्गा गर्दा सजायमा १० वर्ष थप गर्न सक्ने व्यवस्था उल्लेख छ । कारागार विभागले उक्त घटनामा संलग्नहरूलाई कारबाही गर्ने भनेपछि उनीहरूले लिखित माफी माग्दै त्यस प्रकारको घटना नदोहोर्याउने प्रतिबद्धता समेत व्यक्त गरेका छन् । माफी माग्दै उनीहरूले उक्त घटना कुनै नियोजित नभई आक्रोश मात्र भएको बताएका छन् । कारागार विभागले ऐन बमोजिम कारबाही गर्ने र घटनामा संलग्नहरूलाई कैद मिनाहा सुविधाको सिफारिस नगर्न जिल्ला कारागारलाई पत्राचार नै गरिसकेको छ ।
साउन १९ को घटनापछि सङ्खुवासभा र भक्तपुरको घटनालाई मध्यनजर गर्दै जिल्ला कारागारले दुवै पक्षलाई बचाउने गरी भूमिका निर्वाह गरिरहेको छ । झापा कारागारका जेलर मोहनलाल पनेरुले विभागको पत्रलाई ख्याल गर्दै कार्यान्वयनमा जानुपर्ने बताएका छन् । उनले सकेसम्म दुवै पक्षको हित हुने गरी आगामी निर्णय गरिने बताए । जेलर पनेरुले भने – अहिले कैदीबन्दीको पत्र र विभागको पत्र दुवैको अध्ययन गरिरहेका छौँ । सोच विचार गरेर नै निर्णय लिन्छौँ । अहिलेको प्रगति भनेको विचाराधीन नै हो ।
जेलर पनेरुले सरुवा भएका कैदीबन्दीहरुलाई सरुवा भएको ठाउँ जान सहजीकरण समेत गरिरहेको जानकारी दिए । झापामै बस्दा मिनाहाको लागि सिफारिस हुँदैन, अन्यत्र गएमा सिफारिसका लागि मापदण्ड पुगेकाहरूको सिफारिस हुन्छ, उनले भने – कैदीबन्दीहरुले विभागको निर्णयलाई अस्वीकार गरे त्यसले उनीहरूलाई नै क्षति हुने बताए । कारागार प्रशासनले उनीहरूलाई स्वेच्छाले सरुवा गइदिन आग्रह समेत गर्दै आएको छ । कारागार पक्ष र कैदी बन्दीबिच थप तनाव नहुने गरी निर्णय लिने प्रशासनको योजना छ ।
कारागारमा भाइ नाइके मनोज लावतीको सरुवा गर्ने क्रममा विवाद हुँदा कारागारमा हुलदङ्गा भएको थियो । हुलदङ्गा नियन्त्रणका लागि कारागार प्रशासनले लावतीलाई भित्र पठाएपछि मात्रै स्थिति शान्त भएको थियो । उक्त घटनापछि नाइके लय सिवाकोटीसहित केही कैदीबन्दीहरूको तत्कालै सरुवा गरिएको थियो । सिवाकोटीको सरुवापछि कैदीबन्दीहरूले लावतीलाई यो आर्थिक वर्षको नाइके स्वीकार गर्ने भन्दै पत्र पठाएका थिए । तर, सरुवा भइसकेको, सरुवाका लागि तयारी गर्दा विवाद गर्नेलाई विभागले नाइके नस्विकार्ने स्पष्ट छ ।