२०८१ बैशाख ११ मंगलवार

सीमास्तम्भको सुरक्षा चुनौती

झापा । पश्चिमको लिपुधुरा भञ्ज्याङमा स्थापित सीमास्तम्भ नम्बर १ देखि पूर्वको टिप्ताला भञ्ज्याङमा रहेको सीमास्तम्भ नम्बर ७९ सम्म नेपालका १५ वटा जिल्लाको सिमाना चीनको स्वशासित क्षेत्र तिब्बतसँग जोडिएको छ ।

जसमध्ये राष्ट्रिय गौरवको आयोजना बेनी-जोमसोम-कोरला सडकको उत्तरी अन्तिम विन्दु २४ नम्बर पिल्लर चीन र नेपालको सयुक्त ट्रान्जिट प्वाइन्ट हो । सीमा क्षेत्रमा बेलाबेला चीनले हस्तक्षेप गर्ने गरेको छ, जसका कारण सीमामा विवाद र समस्याहरु पनि आउने गरेका छन् । केही समय अघि हुम्लामा भएको सीमा विवादका कारण निकै खैलाबैला भएको थियो । अहिले मुस्ताङमा पनि स्तम्भ सारेर सीमा मिचिएको छ ।

मुस्तामा १८ नम्बरदेखि ३३ नं. सीमासम्म जम्मा १६ ओटा सीमास्तम्भ छन् । जसको दुरी १३८ किलोमिटर छ । सीमा स्तम्भमा नेपालतर्फबाट सहज पहुँच छैन । भीरपाखा र अनकन्टार पहाडका कारण हरेक स्तम्भमा पुग्न गाह्रो छ । स्थानीय नागरिक अगुवाहरुका अनुसार अहिले पनि ३३ नम्बर सीमा स्तम्भको पहिचान हुन सकेको छैन । मुस्ताङको सीमामा पर्ने १६ मध्ये ३३ नम्बर सीमास्तम्भको स्थान कहाँ छ र कस्तो अवस्थामा छ भन्ने तथ्य कसैसँग नभएको नाम नबताउने एक स्थानीयले बताए ।

३३ नं. सीमा स्तम्भ रहेको क्षेत्र भौगोलिक रुपमा निकै विकट छ । जुन सीमा स्तम्भ मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकाको पूर्वतर्फ रहेको र त्यहाँ पुग्न हप्तौँ पैदल यात्रा गर्नुपर्ने सुरक्षा स्रोत बताउँछ । यसैको फाइदा उठाएर ३३ नम्बर स्तम्भ चीनियाँ सेनाले वेपत्ता पारिसकेको आरोप स्थानीयको छ । ३३ नं. सीमा स्तम्भमा हालसम्म बीओपी तथा सीमावर्ती बासिन्दा समेत पुग्न नसकेको र यसलाई चीनपक्षको आपसी समन्वयमा खोजी गर्नु पर्ने अवस्था रहेको बताइन्छ ।

यता, चीनले पक्की सडक निर्माण गरेर सीमा क्षेत्र घेरेको छ । स्थानीयको दावी अनुसार यो सडक बनाउँदा ५० देखि ६० मिटरसम्म सीमा मिचिएको छ । चीनले अहिले निर्माण गरेको संरचना पुरानो सीमा रेखामाथि नै रहेको स्थानीयहरु दाबी गर्छन् ।

सीमा मिचिएकै कारण अहिले त्यो क्षेत्रमा नेपालीलाई जान रोक्ने गरिएको छ । सीसी क्यामेराबाट नेपाली भूमितर्फ निगरानी गर्ने र कसैको चहलपहल भए हस्तक्षेप गर्ने गरिएको छ । नेपालबाट सहज पहुँच नहुँदा चीनियाँहरुले फाइदा उठाएको उनीहरु बताउँछन् । बोर्डर सुरक्षाका लागि स्थापना गरिएको नेपालको सुरक्षा दस्ता (विओपी) पनि सीमा क्षेत्रभन्दा १४ किलोमिटर तल छ । तीन/चार दिनसम्म मोटरसाइकल तथा घोडामा हिँडेर मात्र सीमा स्तम्भको निरीक्षण गर्न सकिने जिल्ला प्रशासन कार्यालयका कर्मचारीहरु नै बताउँछन् । त्यसैले नेपालतर्फबाट सीमास्तम्भको सुरक्षा चुनौतीपूणर् छ ।

जनवादी गणतन्त्र चीन सरकार र श्री ५ को सरकार नेपालकाबीच सीमा सम्बन्धी विषयमा भएको मार्च २१, १९६० को सम्झौता अनुसार सीमा रेखाको विभिन्न ७९ स्थानमा ९८ वटा स्थायी सीमा चिह्नहरू स्थापना गरिएका थिए । तीमध्ये सीमारेखामै स्थापना गरिएका सीमा चिह्नहरूको संख्या ५९ थियो भने नदी सिमाना परेको स्थानमा दायाँ-बायाँ १५ स्थानमा गरी ३० वटा सीमा चिह्न स्थापना गरिएका थिए ।
दुई स्थानमा नदीको दोभानमा सीमा रेखा घुमेको थियो । ती स्थानमा ३/३ वटाको दरले ६ वटा सीमा चिह्न स्थापना गरिएका थिए । विकट स्थानका कारण

३३ नम्बर ३७ नम्बर र ३८ नम्बर गरी तीन स्थानमा सीमा स्तम्भ स्थापना हुन सकेका थिएनन् । तर, प्रत्येक दश वर्षमा संयुक्त सीमा निरीक्षणको कार्य गर्ने तय भए अनुसार दोश्रो नेपाल-चीन सीमा संयुक्त निरीक्षण समिति गठन भई सन् १९८९ (२०४५ साल) मा दोश्रो निरीक्षणको कार्य सम्पन्न भएको थियो । यस क्रममा ३३ नम्वर सीमा स्तम्भ निर्माण भएको देखिन्छ ।

उक्त सीमा स्तम्भ विगत ४/५ वर्षदेखि कसैको पनि पहुँचमा नभएको बताइन्छ । सुरक्षा निकायले समेत २/३ वर्ष अघिको फोटो देखाएर स्तम्भ सुरक्षित रहेको दाबी गर्दै आएका छन् । तर, मुस्ताङका सिडिओ अनुप केसी भने १६ वटै सीमास्तम्भमा सुरक्षा निकायको पहुँच रहेको दाबी गर्छन् ।

२०८० भाद्र ७, बिहीबार प्रकाशित 1 Minute 146 Views

ताजा समाचार