
६ भदौ, काठमाडौं । कोशी प्रदेशसभाका एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले सभाको अध्यक्षता गर्ने व्यक्ति सभामुखसरह तटस्थ हुनुपर्ने भन्दै उनले व्यक्त गरेको मतको बैधतामाथि प्रश्न उठाएका छन् ।
प्रदेशसभामा कुनै प्रस्तावमाथि बराबर मत व्यक्त भएको अवस्थामा बाहेक सभाको अध्यक्षता गर्ने सभामुख वा अध्यक्षले निर्णायक मत व्यक्त गर्न नसक्ने भन्दै कार्कीले कोशीमा ४ भदौमा मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिँदा सभाध्यक्ष इस्राइल मन्सुरीले मतदान गर्नु संविधानविपरीत भएको बताएका हुन् । उनले मन्सुरीको यो निर्णय सर्वोच्च अदालतले ११ साउनमा दिएको फैसलाको पनि विरुद्ध रहेको उल्लेख गरेका छन् ।

कोशी प्रदेशसभामा एमालेका ४०, कांग्रेसका २९, माओवादी केन्द्रका १३, राप्रपाका ६, एकिकृत समाजवादीका ४ र जनता समाजवादी पार्टीका १ सांसद छन् । अहिलेको राजनीतिक समीकरण अनुसार, सत्तारुढ गठबन्धनको पक्षमा ४७ र विपक्षमा ४६ सांसद छन् । तर सत्तारुढ दलकै सांसदले सभाको अध्यक्षता गर्नुपर्ने परिस्थिति बनेपछि बहुमत पु¥याउन सभाध्यक्ष मन्सुरीले मतदान गरेका थिए ।
मुख्यमन्त्री थापाको विश्वासको मतसम्बन्धी प्रस्तावमा मतदान सकिएपछि र मत सच्याउने समय सकिएपछि मन्सुरीले सभाको अध्यक्षता छाडेर मतदान गरेका थिए ।