२०८१ भाद्र २६ बुधबार

नेपालसँग बिजुली किन्न बंगलादेश सहमत, पहिलो चरणमा ४० मेगावाट लैजाने

झापा । नेपालको बिजुली बंगलादेश निर्यातका लागि आवश्यक बहुपक्षीय सहमति भएको छ । सरकारी अधिकारीका अनुसार नेपालले त्यसलाई प्रारम्भिक सहमति भनेर अर्थ्याएको छ ।

नेपाल, भारत र बंगलादेशबीच बिजुली निर्यातका लागि आवश्यक सहमति भएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जानकारी दिएको छ । प्रारम्भिक चरणमा बंगलादेशले नेपालबाट ४० मेगावाट बराबरको बिजुली लैजाने जनाएको छ ।

हाललाई ४० मेगावाट धेरै नभए पनि नेपालको बिजुली तेस्रो देश निर्यात गर्ने विषय भने महत्त्वपूर्ण रहेको यस क्षेत्रका जानकारहरूको भनाइ छ । नेपाल विद्युत् प्राधिकरणले भारतीय नोडल एजेन्सी एनभीभिएन बंगलादेश निर्यातका लागि सहमति गरिसकेको छ । सोही संस्थामार्फत नेपालको बिजुली बंगलादेश पुग्नेछ । बिजुली निर्यातका लागि आवश्यक सहमति भएको र केही विषय बाँकी रहेपनि त्यसलाई छिट्टै टुंगोमा पुर्‍याइने प्राधिकरणका प्रबल अधिकारीले जानकारी दिए ।

इमेल आदानप्रदान गरेर एकापसमा सहमति जनाइएको र त्यसलाई भौतिक उपस्थितिमा नै दुई देशका अधिकारीले हस्ताक्षर गर्ने सहमति भएको छ । कुन आयोजनाको बिजुली बंगलादेश पठाउने, प्रतियुनिट कति मूल्य लिने र प्रसारण शुल्कबापत भारतीय कम्पनीलाई के कति भुक्तानी गर्ने भन्ने विषयमा सहमति हुन बाँकी छ । यसलाई निष्कर्षमा पुर्‍याउन धेरै समय नलाग्ने यसमा संलग्न पदाधिकारीको भनाइ छ । स्वतन्त्र ऊर्जा उतपादकको संस्था नेपाल (इपान)का अध्यक्ष गणेश कार्कीका अनुसार तत्कालका लागि कति मात्रामा बंगलादेश बिजुली पठाउन लागियो भन्ने भन्दा पनि बाटो खुल्यो भन्ने विषय महत्त्वपूर्ण हो । यसले नेपालको बिजुली तेस्रो देश पनि निर्यात हुन थाल्यो भन्ने सन्देश प्रवाह हुने र लगानी भित्र्याउन सहज हुने उनको भनाइ छ ।

अध्यक्ष कार्कीले निजी क्षेत्रलाई पनि बिजुली निर्यातका लागि अनुमति दिन आग्रह गरे ।  ‘हामीले अनुमति पाएको खण्डमा भारत र बंगलादेशका निजी क्षेत्रसँग छलफल गरेर थप निर्यातका लागि मार्ग प्रशस्त गर्न सक्छौँ’ उनले भने, ‘यसमा सरकार र निजी क्षेत्र दुवैको साझा प्रयास हुनु जरुरी छ । हामी त्यसका लागि तयार छौँ । ‘

सन् २०४० सम्म बंगलादेशले नेपालबाट नौ हजार मेगावाट बिजुली लैजाने आफ्नो रणनीतिक योजनामा समावेश गरेको छ । हाल भारतले बंगलादेशलाई बिजुली निर्यात गरिरहेको छ । स्वच्छ ऊर्जाको खोजीमा रहेको बंगलादेशले नेपालका केही महत्त्वपूर्ण आयोजनामा लगानीका लागि चासोसमेत व्यक्त गरेको छ ।

गत जेठ २ मा बंगलादेशमा सम्पन्न नेपाल बंगलादेश ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको पाँचौँ बैठकले बिजुली निर्यातको निर्णय गरेको थियो । सो बैठकले अन्तरदेशीय प्रसारण लाइनको निर्माण तथा व्यवस्थापन गर्ने, सुनकोशी तेस्रो जलविद्युत् आयोजनाको निर्माण र विकास गर्ने तथा अन्तरदेशीय विद्युत् आयात निर्यात गर्नेलगायतका विषयमा गम्भीर छलफल भएको थियो ।

सोही बैठकले ४० मेगावाट बिजुली निर्यातका लागि नेपाल विद्युत् प्राधिकरण, एनटिपीसी विद्युत् व्यापार निगम, भारत र बंगलादेशबीच पावर डेभलपमेन्ट बोर्डबीच विद्युत् बिक्री सम्झौतामा यथाशीघ्र हस्ताक्षर गर्ने सहमति भएको थियो । सोही सहमतिअनुसार त्रिपक्षीय सम्झौता भएको हो । नेपालबाट खरिद गर्ने बिजुलीको खरिद दरका विषयमा आवश्यक निर्णय गर्न एक समिति आवश्यकपर्ने बंगलादेशको नियम रहेको छ । सो समितिमा रहने सदस्यको नाम समेत प्रस्ताव भइसकेको बंगलादेशले जानकारी गराइसकेको छ । शिलापत्रबाट

२०८० श्रावण ३२, बिहीबार प्रकाशित 1 Minute 142 Views

ताजा समाचार