२०८१ आश्विन २८ सोमबार

मुख्यमन्त्री थापाद्वारा दोस्रो पटक मन्त्रिपरिषद् विस्तार, मण्डल राज्यमन्त्री नियुक्त

विराटनगर । कोशीका मुख्यमन्त्री उद्धव थापाले बुधबार दोस्रो पटक मन्त्रिपरिषद् विस्तार गरेका छन् । उनले प्रदेशसभाका ज्येष्ठ सदस्य कांग्रेसका गयानन्द मण्डल गनगाईलाई उद्योग, कृषि तथा सहकारी राज्यमन्त्री नियुक्त गरेका हुन् । मण्डललाई बुधबार पद तथा गोपनीयताको शपथग्रहण गराउने तयारी गरिएको मुख्यमन्त्री थापाको सचिवालयले जनाएको छ ।

सर्वोच्च अदालतको आदेशले साउन १६ गते मुख्यमन्त्री नियुक्त भएपछि थापाले माओवादीका बाबुराम गौतमलाई आर्थिक मामिला तथा योजना, नेकपा (एकीकृत समाजवादी) का कमलप्रसाद जबेगुलाई भौतिक पूर्वाधार विकास र कांग्रेसका प्रदीपकुमार सुनुवारलाई खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री नियुक्त गरेर साउन १७ गते शपथग्रहण गरेका थिए ।

मुख्यमन्त्री थापाले त्यसपछि साउन २६ गते पहिलो पटक मन्त्रिपरिषद् विस्तार गरी जनता समाजवादी पनर्टीकी एक्ली प्रदेश सांसद निर्मला लिम्बूलाई स्वास्थ्यमन्त्री नियुक्त गरेका थिए ।

मुख्यमन्त्री थापाले अझै आन्तरिक मामिला तथा कानुन, पर्यटन, वन तथा वातावरण, सामाजिक विकास र उद्योग, कृषि तथा सहकारी मन्त्रालय आफैंसँग राखेका छन् । उनले विश्वासको मत लिएपछि मन्त्रिपरिषद्लाई पूर्णता दिने बताएका छन् ।

२०८० श्रावण ३१, बुधबार प्रकाशित 0 Minutes 148 Views

ताजा समाचार