२०८१ फाल्गुन ६ मंगलवार

पूर्वेली लेखक कट्टेलको झापा विद्रोह ‘२०२८’ प्रकाशित

मेचीनगर, २६ साउन । पूर्वेली लेखक निरोज कट्टेलले ‘झापा विद्रोह’को राजनीतिक इतिहासलाई समेटेर पुस्तक प्रकाशित गरेका छन् । उनको पुस्तकको नाम ‘२०२८’ रहेको छ । भदौ २ गते उक्त पुस्तक लोकार्पण हुँदैछ ।

‘यो ऐतिहासिक अनुसन्धानमूलक कृति हो,’ लेखक कट्टेलले भने-‘यसले झापा विद्रोहका पात्रहरुको अप्रकाशित अन्तरकथाहरु उजागर गर्ने प्रयास गरेको छ ।’

वि.सं. २०२८ सालमा झापामा भएको सशस्त्र कम्युनिस्ट विद्रोहलाई तत्कालीन पञ्चायती सरकारले दमन गरेको थियो । विद्रोह क्रममा राज्यपक्ष र विद्रोही पक्षबाट श्रृंखलाबद्ध हत्या र हिंसासमेत भएका थिए ।

नयाँ कृति ‘२०२८’ले दुबै पक्षका घटना, पात्र र प्रवृत्तिहरुको खोज गर्दै पाठकलाई ऐतिहासिक झापा विद्रोहको बारेमा महत्वपूणर् जानकारी दिने विश्वास गरिएको छ ।

कृतिमा कथामार्फत विद्रोहका पात्रहरु पाठकसँग बोल्नेछन् । वि.सं. २०२१ को भूमिसुधारपछिको परिस्थिति, अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको तरंग, जमिन्दार र किसानबीचको द्वन्द्व, नक्सलबादी आन्दोलनको नेपालमा कनेक्सन आदिका बारेमा खोजमूलक विवरण कृतिमा पढ्न पाइने भएको छ ।

कृति ३०४ पृष्ठको रहेको छ । बेला पब्लिकेसनले पुस्तक छापेको छ भने दोबिला बुक्स काठमाडौंले भदौ २ गतेदेखि नै देशभर यसको विक्री वितरणको व्यवस्था मिलाइएको छ । झापाको अंकित, प्रगति, इशा, सम्पूणर् लगायत देशभरका पुस्तक पसलमा भदौ २ गतेबाटै पुस्तक विक्री सुरु हुने दोबिला बुक्सले जनाएको छ ।

‘पुस्तकका लागि खोज गर्न थालेको सात बर्ष नै भइसकेको थियो,’ कृतिकार कट्टेलले भने-‘कोभिडको महामारी नआएको भए पुस्तक अलि अघि नै पाठकका हातमा आउँथ्यो ।’

भदौ २ गते काठमाडौंको मण्डला थिएटरमा प्रसिद्ध राजनीतिज्ञ घनश्याम भुसाल, पत्रकार सुधीर शर्मा र युवा राजनीतिज्ञ मानुषी भट्टराई पुस्तक विमोचन समारोहको वक्ता रहने लेखक कट्टेलले जानकारी दिए ।

२०८० श्रावण २६, शुक्रबार प्रकाशित 1 Minute 624 Views

ताजा समाचार