२०८१ चैत्र २ शनिबार

इलाममा श्रीमतीको हत्या गरी श्रीमान् फरार

इलाम । इलाममा श्रीमतीको हत्या गरी श्रीमान् फरार भएका छन् । सूर्योदय नगरपालिका- २ सयपत्री टोलमा डोमा शेर्पाको घरमा डेरा गरिबस्ने पाँचथरका चेपाङे भनिने पूर्णबहादुर तामाङले आफ्नै कान्त्री श्रीमतीको हत्या गरी फरार भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी तथा डिएसपी प्रकाश जवेगुका अनुसार गए राती करिब ५० वर्षका पूर्णबहादुरले करिब ४५ वर्षकी श्रीमती डम्बरकुमारी तामाङको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । उनका अनुसार घटना अगाडी श्रीमान् श्रीमती बिच सामान्य झगडा भएको थियो । झगडापछि राती पूर्णबहादुरले श्रीमती डम्बरकुमारीको टाउकोको पछाडिपट्टिको भागमा धारिलो हतियार बामफोकको प्रयोग गरी हत्या गरेको बताइएको छ ।

राती करिब ९ बजे सो घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ । पाँचथरको फिदिम नगरपालिका ४ जोरसाल घर भएका पूर्णबहादुर श्रीमती सहित सूर्योदय नगरपालिकामा डेरा गरी बस्दै आएका थिए । घटनापछि श्रीमान् फरार रहेको प्रहरीको भनाई छ । के कसरी घटना भयो भन्ने विषयमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ । हत्या गरिएकी कान्छी श्रीमती भनिए पछि जेठी श्रीमती र अन्य परिवारको बारेमा समेत खोजतलास भइरहेको बताइएको छ । कानुनी प्रक्रिया अनुसार शवको पोस्टमार्टमका लागि प्रक्रिया अगाडी बढाइएको प्रहरीले जनाएको छ ।

२०८० श्रावण २३, मंगलवार प्रकाशित 1 Minute 288 Views

ताजा समाचार