२०८१ बैशाख २ आईतवार

झापा कारागार चौकीदार विहीन, कसले चलाउँदैछ कारागारभित्रको आन्तरिक प्रशासन ?

भद्रपुर । झापा जिल्ला कारागार भद्रपुर चौकीदार विहीन भएको छ । भाई चौकीदारको विषयले गत शुक्रवार ठुलै हुलदङ्गा भएपछि चौकीदार लयप्रसाद शिवाकोटीको सरुवा मागेका थिए । उनको झुक्का कारागार सरुवा भएपछि अहिले झापाको कारागार चौकीदार विहीन भएको हो ।

भाई चौकीदार मनोज लावतीलाई झुम्का कारागार सरुवाका लागि बाहिर निकाल्दा जेलभित्र ठुलो हुलदङ्गा भएको थियो । प्रशासन र सुरक्षाकर्मी पछि हटेकै कारण ठुलो दुर्घटनाबाट जोगिएको कारागारमा अहिले अघोषित चौकीदार बनेका छन्, लावती ।

केही समयअघि चौकीदार शिवाकोटी र लावतीबीच भित्र वादविवाद भएको थियो । उनीहरूको द्वन्द्वले शुक्रवारको रूप लिएको अधिकांशको बुझाई छ । आर्थिक वर्ष ०८०/८१ का लागि असार मसान्तमा लावतीलाई चौकीदारका लागि सिफारिस गरिएको थियो । तर, कारागार व्यवस्थापन विभागले नयाँ मापदण्ड अनुसार सिफारिस गर्न साउन १० मा अर्को परिपत्र गरेको थियो । परिपत्रमा त्यसअघिको सिफारिस स्वतः खारेज भएको समेत जनाइएको बुझिएको छ । मापदण्डमा नपर्ने भएपछि लावतीलाई झुम्का पठाएर नयाँ चौकीदार सिफारिस गर्ने तयारी गर्दै गर्दा कारागारमा समस्या उत्पन्न भयो ।

‘अहिले आधिकारिक रुपमा कोही पनि चौकीदार छैनन्,’ जेलर मोहनलाल पनेरुले भने – ‘बुझ्नमा आएसम्म लावतीलाई चौकीदार बनाइएको छ ।’ विभागले नतोकेसम्म आधिकारिक चौकीदार मानिने छैन । तत्काललाई चौकीदारको विषय प्रक्रियामै रोकिएको छ । उत्पन्न विवाद मत्थर नभएसम्म प्रक्रिया अघि नबढ्ने बुझिएको छ । आन्तरिक माहौल सहज भएपछि प्रक्रिया अघि बढाइने जेलर पनेरु बताउँछन् ।

सबैजसो जेलमा चौकीदार बन्न ठुलै रस्साकस्सी हुने गरेको छ । सोही बमोजिम झापामा पनि चौकीदारको लडाई देखियो । विगतमा पनि वरियता क्रममा निकै तल रहेका शिवाकोटीलाई चौकीदार बनाउँदा विरोध भएको थियो । चौकीदार भएपछि भित्रको व्यवहारमा अगुवाइ गर्न पाउने, विभिन्न शीर्षकमा आर्थिक लाभ लिन पाइने र अन्य कैदीको तुलनामा स्वतन्त्रता हुने गरेको बुझिएको छ । कारागार विभागले दिने पैसा र चामल आफै बुझेर चौकीदारले भित्र व्यवस्थापन गर्ने गरेको कारागार प्रशासनले जनाएको छ । चौकीदारले एकमुष्ट पैसा बुझेर भित्र मेस चलाउने गर्छन् । भित्र रहेका पसलहरूबाट महँगोमा सामग्री बिक्री गर्ने, विभिन्न सुविधामा पैसा लिने गरेको बताइन्छ ।

साढे ७ सय क्षमताको झापा कारागारमा अहिले १५ सय भन्दा धेरै कैदीवन्दी रहेका छन् । २०२० सालमा स्थापना भएको झापा कारागार जीर्ण, अव्यवस्थित र दुर्गन्धित बन्दै गइरहेको छ । कारागारका लागि कलवलगुरी क्षेत्रमा १० बिगाहा जमिन पास भइसके पनि निर्माणका लागि कसैले पनि अगुवा गरेका छैनन् ।

२०८० श्रावण २३, मंगलवार प्रकाशित 1 Minute 146 Views

ताजा समाचार