२०८१ माघ ७ सोमबार

झापामा लम्पी स्कीन रोगका कारण ७७५ पशु मरे

सन्तोष शर्मा
झापा, २२ साउन । 
झापामा ‘लम्पी स्कीन’ रोगको संक्रमणका कारण सात सय ७५ पशुको मृत्यु भएको छ ।

जिल्लामा गाई–गोरु ९६ वटा र बाछाबाछी सात सय ९२ वटा गरी सात सय ७५ वटा पशुको मृत्यु भएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र झापाका सूचना अधिकारी गणेश भट्टराईले जानकारी दिए ।

पछिल्लो तथ्यांक अनुसार झापामा गाई–गोरु नौ हजार छ सय ८१ र बाछाबाछी १० हजार सात सय ४६ वटा गरी २० हजार चार सय २७ वटा पशुमा लम्पी स्कीन रोगको संक्रमण देखिएको छ ।

झापाका स्थानीय तहहरुले हालसम्म सात हजार एक ९० वटा गाई–गोरुलाई लम्पी स्कीनविरुद्धको खोप लगाइसकेका छन् भने विभिन्न व्यावसायिक पशुपालक गाई फर्महरुले व्यक्तिगत खर्चमा २३ हजार छ सय ६६ वटा खोप लगाइसकेका केन्द्रका सूचना अधिकारी भट्टराईले जानकारी दिए ।

नयाँ आर्थिक वर्ष शुरु भएसँगै झापाका स्थानीय तहहरुले लम्पी स्कीन रोगविरुद्धको खोप लगाउने अभियान नै शुरु गरेका छन् ।

स्थानीय तहहरुले आफ्नै स्रोत–साधन प्रयोग गरेर लम्पी स्कीन रोगविरुद्धको खोप लगाउन शुरु गरेका हुन् । हाल झापाको बिर्तामोड, गौरादह, अर्जुनधारा र मेचीनगरले धमाधम खोप लगाइरहेको सूचना अधिकारी भट्टराईले जानकारी दिए ।

बिर्तामोड नगरपालिकाले १० वटै वडामा १५ हजार गाई–गोरुलाई खोप लगाउने लक्ष्यका साथ खोप लगाउने अभियान लागेको नगरपालिकाकी पशुपंछी तथा मत्स्य विकास शाखा प्रमुख सावित्रा दाहालले जानकारी दिए ।

बिर्तामोड–१० स्थित सफल गाई फर्मबाट यो रोगविरुद्धको खोप लगाउन शुरु गरिएको उनले बताए । नगरपालिकाले कृषकको घर–घरमा पुगेर खोप लगाउन १० जना पशु प्राविधिक खटाएको छ ।

खोपका लागि कृषकहरुले प्रतिपशु रू एक सय ३० तिर्नुपर्ने छ । १५ हजार पशुमा खोप लगाउन नगरपालिकाको रू १७ लाखभन्दा बढी खर्च प्रमुख दाहालले बताए । बिर्तामोडमा लम्पी स्कीन रोगका कारण दुई हजार ५ सय भन्दा बढी पशु संक्रमित भएका छन् भने छ वटा मरिसकेका छन् ।

२०८० श्रावण २२, सोमबार प्रकाशित 0 Minutes 277 Views

ताजा समाचार