२०८१ जेष्ठ ५ शनिबार

आँखा पाक्ने रोग बढ्दै

संक्रमित व्यक्ति वा घरबाहिर गएर फर्केका स्वस्थ व्यक्तिलाई साबुनपानीले हात धुन चिकित्सकको सुझाव

काठमाडौँ । भारतसँगको सीमावर्ती क्षेत्रमा देखिएको आँखा पाक्ने रोग काठमाडौं उपत्यकामा समेत देखिन थालेको छ । चिकित्सकीय भाषामा आँखाको सेतो भाग सुन्निने र रातो हुने समस्यालाई ‘एडिनो भाइरल कन्जंग्टिवाइटिस’ भनिन्छ ।

यस्तो संक्रमण हुँदा आँखा गुलाफी वा रातो देखिने, चिलाउने, पोल्ने, पानी बग्ने, चिप्रा लाग्ने लगायतका लक्षण देखिन्छ । बिरामीको परेला सुन्निने, आखाँमा केही बिझे जस्तो महसुस हुने, उज्यालो हेर्न गाह्रो हुने, दृष्टि धमिलो हुने लगायतका समस्या पनि देखिन सक्छ ।

पछिल्लो समय कीर्तिपुर आँखा अस्पतालको बहिरंग विभागमा कुल बिरामीमध्ये सरदर २० देखि ३० प्रतिशत आँखाको संक्रमण समस्या लिएर पुग्ने गरेका छन् । ‘पछिल्लो समय भारत र त्यसपछि सीमावर्ती नेपाली क्षेत्रमा

देखिएको आँखाको संक्रमण हाल राजधानीमा समेत देखिएको छ,’ कीर्तिपुर आँखा अस्पतालका नेत्र रोग विशेषज्ञ डा. एरिक वैद्यले भने ।

तिलगंगा आँखा प्रतिष्ठानका वरिष्ठ नेत्र रोग विशेषज्ञ प्रा.डा. रोहित सैंजूले केही समययता दैनिक ६० देखि ७५ जना आँखा पाक्ने रोगका बिरामी आउने गरेको बताए । उनका अनुसार अत्यन्त संक्रामक रहेको यो रोग अन्य बिरामीलाई नसरोस् भनेर छुट्टै ‘रेड आई क्लिनिक’ सञ्चालन गरिएको छ ।

जनकपुरस्थित जानकी आँखा अस्पतालका नेत्र रोग विशेषज्ञ डा. अमित यादव र विराटनगर आँखा अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. रक्षा पन्तका अनुसार सहरी र ग्रामीण क्षेत्रका बालबालिकामा यो संक्रमण बढी देखिएको छ । डा. पन्तका अनुसार संक्रमण सामान्यतः ७ देखि १० दिनसम्म रहन्छ । तर, कसैकसैमा भने जटिल बनेर आँखाको कोर्नियामा समेत असर गर्न सक्छ । त्यसैले संक्रमण देखिनासाथ उपचार प्रक्रियामा जानु आवश्यक रहेको उनले बताइन् ।

यो रोग लाग्दा संक्रमित व्यक्तिको आँखाबाट पानी निस्कने, चिप्रा लाग्ने हुँदा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा हात वा अन्य कुनै माध्यमले स्वस्थ व्यक्तिको आँखामा पुग्दा संक्रमण सर्छ । त्यसैले संक्रमित व्यक्ति वा घरबाहिर गएर फर्केका स्वस्थ व्यक्तिले हात नियमित रूपमा साबुनपानीले धुनुपर्ने चिकित्सकको सुझाव छ । यस्तो संक्रमण भएका बेला तौलिया, रुमाल, लुगाफाटो, मेकअपका सामान अरूलाई प्रयोग गर्न दिनुहुँदैन । इकान्तिपुरबाट

 

२०८० श्रावण १८, बिहीबार प्रकाशित 1 Minute 183 Views

ताजा समाचार