
विराटनगर । कोशी प्रदेशमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखले आह्वान गरेको समय आज सकिँदैछ। आज अपरान्ह ५ बजेसम्म लागि दलहरुलाई बहुमतका लागि दाबी गर्न प्रदेश प्रमुख परशुराम खापुङले दिएको समय सकिन लागेको हो ।
संविधानको धारा १६८ (२) अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्रीमा दाबी पेश गर्न भनिएको छ।

सर्वोच्च अदालतले साउन ११ गते मुख्यमन्त्रीमा उद्धव थापाको नियुक्ति बदर गर्दै संविधानको धारा १६८ (२) अनुसार १७ गतेभित्र मुख्यमन्त्री नियुक्त गरिसक्न परमादेश दिएको थियो। तर दलहरुलाई बहुमत पुर्याउनै सकस छ। यहाँ दुवै गठबन्धनसँग ४६ मत मात्रै छ। सत्तारुढ गठबन्धनले सभामुखको राजीनामा गराएर मुख्यमन्त्रीमा दाबी गर्ने तयारी गरेको छ।
‘हामीले दाबी गर्दा सभामुखको राजीनामाको विकल्प देखिएन, कांग्रेस प्रदेशसभा संसदीय दलका नेता उद्धव थापाले भने, त्यसै अनुसार बहुमत पुर्याएर दाबी गर्छाैं।’ मुख्यमन्त्रीमा आफ्नो दाबी रहेको भन्दै उनले त्यसका लागि छलफल भइरहेको बताए।
गत असार २१ गते पनि थापाको नेतृत्वमा सरकार गठन भएको थियो। सभामुखको छुट्टै हस्ताक्षर प्रयोग गरेर सरकारमा दाबी पेस गरेपछि सर्वाेच्च अदालतले मुख्यमन्त्रीको नियुक्तिको बदर गर्दै नयाँ सरकार गठन गर्न परमादेश दिएको थियो।
९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत आवश्यक पर्छ। सत्तारुढ गठबन्धनले कांग्रेसका २९, सभामुखलाई राजीनामा गराएपछि माओवादी केन्द्रका १३, एकीकृत समाजवादीका चार र जसपाका एक गरी ४७ सांसद पुर्याउन लागेको हो। एमालेले भने बहुमत पुग्न नसक्ने भएपछि दाबी नगर्ने भएको छ।
एमालेसँग आफ्नो ४० र राप्रपाको ६ गरी ४६ मत मात्रै छ।
यद्यपि संसदीय दलको नेता हिक्मत कार्की अहिले काठमाडौंमै रहेको र विराटनगर आएपछि थप छलफल गरेर निर्णय गरिने उपनेता राम बहादुर मगरले जानकारी दिए। कोशी प्रदेश विगत एक हप्तादेखि मुख्यमन्त्रीविहीन छ।
सरकार गठनको बारेमा प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार भएको छलफलमा गठबन्धन दलकै नेतृत्वमा सरकार गठन गर्ने विषयमा कुरा भए पनि गठबन्धनले बहुमत सिद्ध गरेर सरकार बनाउने अवस्था सिर्जना भएको छैन।
गठबन्धनले बहुमत नपुर्याए संविधानको धारा १६८ को उपधारा ३ अनुसार ठूलो दलको हैसियतमा एमालेले सरकारको नेतृत्व गर्नेछ। तर, त्यसरी बनेको सरकारले पनि अहिलेको ३० दिन भन्दा बढी सरकार चलाउने अवस्था देखिँदैन। प्रदेश १ मा एमालेका ४० सांसद छन्।